समाज

बलात्कार साबित भयो भने बलात्कारीको लिंग छेदन गरिनु पर्छ : रावल

इकागज |
असार ८, २०७९ बुधवार १५:६ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका सांसद झपट रावलले बलात्कारको विषयलाई वर्गीकरण गरेर हेर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद रावलले विभिन्‍न उमेर समूह र प्रकृति अनुसार बलात्कारको घटनालाई वर्गीकरण गर्दै सोही अनुरुपको कानुनी व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

उनले भने, 'बलात्कार साबित भयो भने बलात्कारीको लिंग​ छेदन गर्दा पनि हुन्छ । कतिपय के छ भन्दा तीन/चार वर्ष सँगै बसेका छन्, कुरा नमिल्दा बलात्कार मुद्दा लगाएका छन् । यसलाई पनि हामीले वर्गीकरण गर्नुपर्छ ।'


सांसद रावलले अगाडि भने, 'नाबालकको हकमा हुने बलात्कारको सम्बन्धमा एउटा गर्नुपर्छ । नाबालक भित्र पनि समान उमेरका सम्बन्धमा एउटा गर्नुपर्छ । र उमेर पुगेकाहरूका हकमा, जेष्ठ नागरिकको हकमा एउटा गर्नुपर्छ । यसलाई समग्र यौनसँग जोडिएका, यौनबाट प्रताडित भएका जो उमेर समूहहरू छ यसका समग्र पक्षलाई समेट्नेगरी कानुन बनाउनुपर्छ ।'

उनले यौन हिंसाको शिकार बालिकाहरू मात्र नभएर बालक पनि हुने भएकाले यस विषयमा छलफल हुनु पर्ने माग गरेका छन् । 'नेपालमा लिंग भनेको महिला र पुरुष मात्रै हो ? यसले जम्मा महिलाभन्दा बाहेक केही भन्दैन यो परिच्छेदले । के नेपालमा महिला मात्रै बलात्कृत भएका छन् ? यसले करणी सम्बन्धि कसुर परिच्छेद १८ को सम्पूर्ण । महिलाको सट्टा व्यक्ति, बालिकाको ठाउँमा बालबालिकाहरू राख्नुपर्‍यो । अहिले थुप्रै नाबालकहरू यौन हिंसामा परेका छन् । यौन हिंसाको शिकार बालक हुन्छन् कि हुँदैनन् ? बालिका मात्रै हुन्छन् ? त्यसैले यसले छलफलको माग गर्‍यो ।'

रावलले यौन हिंसाको घटनामा बालिकाहरू मात्रै नभइ बालकहरू पनि पीडित हुने भन्दै पीडित बालकहरूलाई समेत सम्बोधन हुनेगरी कानुन बन्‍नुपर्ने बताए । 


Author

थप समाचार
x