समाज

ठेकीको दही डेरीमा, प्लास्टिकको ड्यु घर–घरमा

‘दूध–दही बेचेर ड्यु किन्छन्, जुन घरमा जाँदा पनि ड्युले स्वागत गर्छन्’

सृजना खड्का |
असार ८, २०७९ बुधवार १७:५ बजे

काठमाडाैँ- ‘डरको अगाडि जित छ’ माउन्टेन ड्युको यो स्लोगन अहिले पनि धेरैको मुखमा झुण्डिन्छ । स्लोगन मात्रै नभएर यसको स्वादसमेत हाम्रो जिब्रोमा नराम्रोसँग गडिसकेको छ । ड्युको विज्ञापन हेर्दा लाग्छ– ड्यु खाएपछि बुर्ज खलिफाबाट हामफाल्नेदेखि हिमपहिरोसँग पौंठेजोरीसम्मको हिम्मत आउँछ । तर, के यो वास्तविकता हो त ? 
रामेछाप, गोकुलगंगा गाउँपालिका–५ की रोमिया खड्का आजभोलि जसको घरमा जाँदा पनि ड्युले स्वागत गरेको पाउँछिन् । ‘पहिला–पहिला गाउँ जाँदा आफन्तहरूले दही÷मोही खुवाएर स्वागत गर्थे,’ उनले सुनाइन्, ‘अहिले जसको घरमा जाँदा पनि पानीभन्दा पहिला ड्यु ल्याएर तेर्स्याउँछन् । घरको दूध, दही, मोही डेरीमा लगेर बेचेर ड्यु किनेर ल्याउँछन् ।’

रोमियाका अनुसार मानिसहरू पहिले धारो वा पँधेरोबाट गाग्रोमा पानी बोकेर ल्याउँथे । अहिले पानी बोक्ने डोकोमा गाग्री होइन,ड्युका बोतल हुन्छन् । ‘उहिले तामाको गाग्री बोक्थे, सिलाबरको गाग्री आएपछि तामाको गाग्री लोप भयो,’ उनले भनिन्, ‘अहिले त्यसलाई ड्युको बोतलले विस्थापित गर्‍यो । सिलाभरको भाँडा त हाम्रो स्वास्थ्यका लागि राम्रो होइन भन्छन् । एकपटक मात्रै प्रयोग गरेर फ्याँक्न बनाइएको बोतलले झन् कति असर गर्ला ? म त मान्छेहरूलाई सम्झाउँदा–सम्झाउँदा थाकिसकेँ ।’ 


केही दिनअघि रोमियाको खेतमा रोपाइँ थियो । परिवारसँग सल्लाह गरेर यसपटक ड्युको सट्टा दही लैजाने निर्णय उनीहरूले गरे । ‘खेतालाहरूको स्वास्थ्यको ख्याल राख्दै ड्युको साटो दही लिएर गयौँ,’ उनले भनिन्, ‘यत्रो रोपाइँमा एउटा ड्यु पनि खुवाउन नसकेको भन्दै उनीहरू आफैँले मगाएर खाए । अहिले त खेतमा गएका मान्छेलाई ड्यु ख्वाएन भने कुरा काटेर बसिसाध्य हुँदैन ।’

तस्बिरः राजु स्याङ्तान

डाइटिसियन अनुश्री आचार्य आजभोलि प्याकेटका खानेकुरा र कोल्ड ड्रिंक्सलाई मानिसहरूले प्रतिष्ठासँग जोड्ने गरेको बताउँछिन् । ‘गाउँघरमा बरु भनेको बेलामा दाल, चामल, दूध, दही किन्न नपाइन सक्छ तर, प्याकेटका खानेकुरा र कोल्ड ड्रिंक्स जताततै पाइन्छ,’ उनी भन्छिन् ।

त्यस्तै, ड्युलाई दही मोहीसँग तुलना नै गर्न नमिल्ने उनी बताउँछिन् । ‘कोल्ड ड्रिंक्समा अत्यधिक रिफाइन्ड सुगर हालेको हुन्छ,’ उनी भन्छिन्, ‘दूध दहीमा हुने न्युट्रिसान भ्यालू सुगरी डिं«कमा पाइँदै पाइँदैन । यो कुरा हामीले मानिसहरूलाई बुझाउन सकिरहेका छैनौँ ।’ 

गाउँघरमा गर्मी मौसममा दही÷मोही नहुनेले सर्बत बनाएर दिने चलन भएको बताउँदै उनी भन्छिन्, ‘पहिला कागती पानीको सर्बत, लस्सी बनाएर दिने चलन थियो । ‘अहिले हरेकको घरमा ड्यु हुन्छ । सबैले ड्युको चलन झिकेपछि अरुले पनि त्यसलाई फलो गर्दै गएको देखिन्छ ।’

दही-मोहीका फाइदा, ड्युका बेफाइदा  

दूधबाट दही बन्दा विशेष प्रकारको कीटाणु पैदा हुन्छ । पोषणविद्हरूका अनुसार यसले हाम्रो स्वास्थ्यमा सकारात्मक काम गर्छ । बालबालिका, गर्भवती महिला र वृद्धवृद्धाको हाडका लागि नभइ नहुने क्याल्सियम दहीमा पाइन्छ । दही पखाला रोक्नका साथै कब्जियत खुलाउन पनि उपयोगी हुन्छ । दही मथेर बनाइएको मोही पिएमा शरीर निरोगी र तन्दुरुस्त हुने पोषणविद्हरू बताउँछन् । उनीहरूको अनुसार मोहीको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ । यसमा पोटासियम, क्याल्सियम, प्रोटिन जस्ता तत्व पनि समावेश हुन्छ । मोहीले खासगरी पाचन यन्त्रलाई राम्रो बनाउँछ । खानेकुरा पचाउनमा यसले सहयोग गर्छ । मोहीले शरीरलाई शीतलता प्रदान गर्छ र शरीरमा पानीको अभाव हुन दिँदैन । 

‘यत्रो रोपाइँमा एउटा ड्यु पनि खुवाउन नसकेको भन्दै उनीहरूले आफैँले मगाएर खाए । अहिले त खेतमा गएका मान्छेलाई ड्यु ख्वाएन भनेर कुरा काटेर बसिसाध्य हुँदैन ।

तर, ड्यु जस्तो सुगरी ड्रिंक्सले तौल बढाउँछ । दाँतमा समस्या देखिन्छ । नियमित रुपमा ड्यु पिउनाले मधुमेहको जोखिम उच्च हुन्छ । यसमा बढी मात्रामा चिनीको प्रयोग हुने भएकाले स्वास्थ्यमा एकदमै नराम्रो असर पुर्‍याउने पोषणविद्हरूको भनाइ छ । यस्ता ड्रिंक्समा चिनी बढी हुन्छ । धेरै प्रयोग गर्नेको स्वास्थ्यमा असर गर्छ । यस्ता ड्रिंक्समा ‘ब्रोमिनेटेड भेजिटेबल ओयल’ हुन्छ जसले स्वास्थ्यलाई राम्रो गर्दैन। त्यस्तै, यस्ता चिनीयुक्त पेयपदार्थमा हुने हानिकारक केमिकलले स्मरण शक्तिमा ह्रास ल्याउनेदेखि प्रजनन क्षमतामा समेत असर गर्ने उनीहरू बताउँछन् । 

जनस्वास्थ्य विशेषज्ञ डा. अरुणा उप्रेती नेपालमा पछिल्लो समय चिनीरोग बढ्नुको प्रमुख कारण यस्तै चिनीयुक्त पेय पदार्थलाई मान्छिन् । ‘कतिपय प्रयोगकर्ताहरूलाई यसले शरीरलाई असर गर्छ भन्ने नै थाहा छैन,’ उनी भन्छिन्, ‘अहिले धेरैमा कलेजोको समस्या देखिएको छ । प्राय कलेजोको समस्या रक्सी खानेहरूलाई देखिन्छ । तर, अहिले धेरै बालबालिकाको कलेजोमा बोसो जमेको देखिन्छ । यो सबैको कारण यस्तै चिनीयुक्त ड्रिंक्स नै हो ।’

सरकारले दीर्घरोगीहरूलाई उपचारका लागि खर्च गर्नुभन्दा रोग लाग्नै नदिनतर्फ ध्यान दिनुपर्ने उनी बताउँछिन् । ‘ड्युमा पैसा हाल्नु भनेको आफ्नो स्वास्थ्यलाई बिगारेर उपचारको लागि थप पैसा खर्च गर्न तम्तयार पार्नु हो,’ उनी भन्छिन् । 

डाइटिसियान आचार्य स्थानीय सरकारले यस्तो विषयमा जनचेतना फैलाउनुपर्ने बताउँछिन् । ‘वडाले नै स्थानीय स्तरमै पाइने दूध, दही, मोहीलाई प्राथमिकतामा राख्ने कार्यक्रम ल्याउनुपर्छ,’ उनी भन्छिन्, ‘ड्यु-कोक जस्ता पेय पदार्थले स्वास्थ्यमा कस्तो असर गर्छ भन्ने जानकारी दिनुपर्छ । तर, हाम्रोमा किराना पसलमा त्यस्ता ड्रिंक्स जताततै पाइन्छन् । दूध÷दही खोज्दै हिँड्नुपर्ने अवस्था छ ।’

दैनिक यस्ता प्रकारका पेय पदार्थ पिउँदा ५ देखि १० वर्षभित्र मधुमेह देखिने खतरा बढी हुने उनी बताउँछिन् । ‘बालबालिकालाई त झन् यस्ता पेय पदार्थले झनै धेरै असर गर्छ उनी भन्छिन्, ‘हेर्दा समान्य लागे यो विषयमा बेलैमा ध्यान पुर्‍याइएन भने भोलिको दिनमा हामीले ठूलै मूल्य चुकाउनुपर्ने हुन्छ ।’


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x