समाज

जनशक्ति अभावले सेवाप्रवाहमा समस्या

इकागज |
असार ९, २०७९ बिहीबार १२:६ बजे

वीरगञ्ज - मधेश प्रदेश र बागमती प्रदेशका १० जिल्ला कार्यक्षेत्र रहेको वीरगञ्जस्थित वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालयमा जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा कठिनाइ हुँदै आएको छ  । कार्यालयमा हाल ११ जना कर्मचारी हुँदा सेवा प्रवाहमा कठिनाइ हुँदै आएको  कार्यालयका निमित्त कार्यालय प्रमुख नोमनाथप्रसाद यादवले जानकारी दिए ।

 उक्त कार्यालयको कार्य क्षेत्र बागमती प्रदेश अन्तर्गत चितवन तथा  मकवानपुर र मधेश प्रदेश अन्तर्गत पर्सा, बारा, रौटहट, महोत्तरी, सिराहा, सप्तरी, धनुषा, सर्लाही पर्दछ । उक्त कार्यालयको काम  आयात निर्यातका लागि अनुमति प्रदान, व्यावसायिक प्रयोजनका  फर्म दर्ता, नवीकरण,  बजार अनुगमन, उपभोक्ता शिक्षा, उपभोक्ता जागरणलगायतका छन् । यद्यपि कार्य क्षेत्र ठूलो छ कर्मचारी निकै कम हुँदा सबै जिल्लामा पुगेर काम गर्न कठिन भएको कार्यालयका सूचना अधिकारी दिलीप खड्काले जानकारी दिए ।  


कर्मचारीको अभावमा सबै जिल्लामा पुगेर अनुगमन गर्न सकिएको छैन । थोरै जनशक्ति छ काम धेरै छन् ।  निमित्त कार्यालय प्रमुख यादवले भने, 'कार्यालयमा सेवाग्राहीको चाप छ । अनि कुन समयमा पुगेर १० जिल्लामा अनुगमन गर्न सकिन्छ,जनशक्ति अभावमा काम गर्न  कठिनाइ छ ।' 

हाल कार्यालयमा  शाखा अधिकृत एक, नायब सुब्बा दुई , खरिदार एक , कम्प्युटर अपरेटर एक, हलुका सवारी चालक एक, कार्यालय सहयोगी दुई र एक सरसफाइकर्मी छन् । सो कार्यालयमा एक उपसचिवको दरबन्दी भए पनि वर्षौदेखि उपसचिव बस्ने गरेका छैनन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग अन्तर्गत काठमाडौँ बाहिर विराटनगर, वीरगञ्ज, नेपालगन्ज,  धनगढी,  र भैरहवामा  मातहतका कार्यालय रहेका छन् । 

 सेवाग्राहीको कामलाई पर्सा प्रशासनद्वारा समय थप

सेवाग्राहीको चापलाई मध्यननजर गदै जिल्ला प्रशासन कार्यालय पर्साले कार्यालय समय थप गरेको जनाएको छ । पासपोर्ट (राहदानी) र राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेकाले ती दुवै सेवाका लागि जिल्ला प्रशासन कार्यालय पर्साले समय थप गरेको हो । ती दुवै सेवाका लागि सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन बिहान ९ बजे देखि साँझ ५.३० बजेसम्म कार्यालय सञ्चालन रहने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । रासस
 


Author

थप समाचार
x