समाज

सिंहदरबारले कहिले सुन्ला मिटर ब्याजीबाट भूमिहीन बनाइएकाहरूको चित्कार ?

कमल विष्ट |
असार १०, २०७९ १८:१६ बजे

असार महिनामा किसानहरू कहाँ हुन्छन् ?

यसको उत्तर जो कोहीले पनि सहजै भन्न सक्छ– खेतमा ।


हो, असार महिनामा किसानहरूलाई बाली लगाउने चटारोले छपक्कै छोपेको हुन्छ । उनीहरू वर्षभरी खाने बाली लगाउने काममा दिनरात नभनी खेतमा अहोरात्र खटिन्छन् । 

तर, नवलपरासीका ४५ जना किसानहरू भने यतिबेला देशको संघीय राजधानी काठमाडौंको माइतीघर मण्डलामा विगत १२ दिनदेखि सडक आन्दोलनमा छन् ।जिल्लाका चार मिटर ब्याजी ‘बानियाँ दाजुभाइ’ को चंगुलमा परेर आफ्नो खेतखलिहान गुमाएका उनीहरू सरकारबाट न्याय पाउने आशमा संगठित भएर धर्नामा छन् । निरक्षरताको फाइदा उठाएर आफ्नो उठीबास गराउने साहुविरुद्ध उनीहरू खुला आकाशलाई छानो र भुइँलाई ओछ्याउन बनाएर केही सय मिटर मात्र पर रहेको सिंहदरबारसँग न्यायको याचना गरिरहेका छन् । 

मुलुक संघीयतामा गइसकेपछि गाउँको ‘सिंहदरबार’, प्रहरी प्रशासन र मिडियाले पटकपटकको आफ्नो बिलौना नसुनेपछि उनीहरू व्यथा सुनाउन काठमाडौं आइपुगेका हुन् ।  

उनीहरूको आशा छ– काठमाडौंमा सयौँ मिडिया छन्, हाम्रो कुरा कम्तीमा उनीहरूले त सुनिदेलान् ?

बाँकी रहेको यही एउटा आशालाई जीवित राखेर किसानहरू असारे झरीमा न्यायको याचना गर्दै चिसो सडकमा दिन व्यतित गरिरहेछन् ।
 ०००    

नवलपरासी प्रतापपुर गाउँपालिका ९ की ४३ वर्षीया आश्मा खातुनले सात वर्षअघि त्यही गाउँका सुरेश बानियाँबाट आठ लाख रुपैयाँ ऋण काढिन् । उनले प्रति महिना सयकडा दुई प्रतिशत मिटर ब्याज तिर्ने सर्तमा घर बनाउनका लागि सो ऋण लिएकी थिइन् । सुरेशले खातुनको श्रीमानको नाममा रहेको १४ कठ्ठा जमिन धितोस्वरुप जिल्ला मालपोत कार्यालयमा राख्न लगाए ।

आठ लाख र आफूसँग भएको अलिकति पैसा जोडजाम गरेर घर त बन्यो । तर, उनका श्रीमान नयाँ घरमै एक महिना पनि बस्न पाएनन् । प्रति महिना दुई प्रतिशत मिटर ब्याज तिर्ने गरी सम्झौता भए पनि साहु सुरेशले १० प्रतिशत तिर्नुपर्छ भनेर दुःख दिन थाले । दिनदिनै ब्याज तिर्नु भन्दै साहुले ताकेता गर्न थालेपछि उनका श्रीमान विदेशिए । 

विदेशबाट उनका श्रीमानले ब्याज तिर्न पैसा पठाइरहे । खातुनका ससुराले सुरेशलाई ब्याज पनि तिरिरहे । तर, मिटर व्याजी सुरेशले उनको परिवारलाई चैनले बस्न दिएनन् । केही महिनापछि नै ८ लाखको ऋणलाई १६ लाख दाबी गर्दै ब्याजका लागि धम्क्याउन थाले । 

‘आठ लाखको प्रति महिना सयकडा दुई प्रतिशत ब्याज त जसोतसो तिर्न सक्छौँ भन्ने सोचेर हामीले ऋण काढेका थियौँ,’ गुहार माग्दै काठमाडौं आएकी खातुनले सुनाइन्, ‘तर, बानियाँले त तमसुक नै १६ लाखको बनाएका रहेछन् । ब्याज पनि दुईबाट बढाएर १० प्रतिशत तिर्न लगाए ।’

घर बनाउँदा लिएका ऋणको ब्याज विस्तारै चुक्ता गर्छु भन्ने सोच बोकेर खाडी भासिएका उनका श्रीमानले ६ वर्षमा जसोतसो १० लाख कमाएर नेपाल पठाए । तर, उनले कमाएको पैसा सावाँ घटाउन त धेरै परको कुरा ब्याज तिर्न पनि पर्याप्त भएन ।

सुरेशले उनीहरूलाई दुःख र धम्की दिन छाडेनन् । केही सीप नलागेपछि खातुनको परिवारले गत चैतमा सासुको नाममा रहेको १४ कट्टा बेचेर ऋण तिर्ने निधो गर्यो । प्रति कठ्ठा दुई लाखको दरले बेचेर आएको २८ लाख परिवारले किशोरको हातमा थमायो । ऋण तिरेपछि उनको परिवारलाई लागेको थियो– अब त चैनको सास फेर्न सकिन्छ । 

तर, त्यस्तो भएन । किशोरले फेरि पनि धम्क्याउन छाडेनन् । ३८ लाख पैसा तिरिसक्दा पनि परिवारले उनीबाट छुटकारा पाएन । ऋण तिर्नकै लागि आफूसँग भएको जायजेथा पनि बेचिसके । परिवारलाई साहुले न तमसुक गरेको कागज दिएको छ न बन्धकी राखेको लालपुर्जा फिर्ता । 

सुरेशले अझै १५ लाख तिर्न बाँकी रहेको भन्दै तिर्न ताकेता गरिरहेका छन् । यही पिरले गम्भीर रोगसँग जुधिरहेकी खातुनकी सासुको केही महिनाअगाडि मृत्यु भयो । आमाको निधन भएपछि खाडीबाट देश फर्किएका उनका श्रीमान फेरि विदेशिने तयारीमा छन्, ब्याज तिर्न । 

खातुनको परिवारले आफूमाथि भएको अन्याय सुनाउन तीन वर्षयता गाउँपालिकादेखि मानवअधिकार आयोगसम्म धायो तर कतै सुनुवाई भएन । सबैले उनको समस्या आफ्नो क्षेत्रभित्र नपर्ने भन्दै उल्टो निराश बनाएर पठाइदिए । 

‘सुरेशले सबैलाई पैसा खुवाएर आफ्नो मुठ्ठीमा राखेको छ । ऊ पावरवाला मान्छे हो,’ खातुनले लाचार हुँदै भनिन् । 

केही सीप नलागेपछि उनीहरू काठमाडौं आए । यहाँ पनि उनीहरूका कुरा सुन्न कसैले तत्परता देखाएको छैन । उनले गाउँबाट काठमाडौं आउँदा बाटो र खाना खर्चका लागि ल्याएको पाँच हजार पनि सक्किइसक्यो । अहिले उनीहरू पशुपति गौशालामा शरण लिइरहेका छन् । 

अब भोलिदेखि के खाने र घर कसरी जाने भन्ने चिन्ताले उनलाई गाँज्न थालेको छ । तर, सरकारले आफ्नो कुरा झट्टै सुनेर न्याय दिने आश त्योभन्दा ठूलो छ ।

नवलपरासी सुस्ता गाउँपालिका ५ का ६३ वर्षीय राम मुसहरको पीडा पनि खातुनको भन्दा फरक छैन । उनले ९ वर्षअगाडि जगदीश बानियाँसँग छोरालाई विदेश पठाउन १ लाख ५० हजार रुपैयाँ ऋण काढे, प्रतिमहिना दुई प्रतिशत ब्याज तिर्ने सर्तमा । जगदीशले उनको साढे तीन कट्टा जग्गाको लालपुर्जा मालपोतमा धितो राख्न लगाए । 

उनलाई पनि मिटर ब्याजी जगदिश प्रतिमहिना सयकडा १० को दरले ब्याज तिर्न लगाउन थाले । डेढ लाख लिएको ऋणलाई ३ लाख बनाइ त्यसको ब्याज मागेको  मुसहर बताउँछन् ।

मुसहर एकै पटक दोहोरो मारमा परे । एकातिर साहुको रातोदिनको किचकिचको तनाव अर्कातिर मलेसियामा छोराको बिचल्लीको तनाव । अति नै गाह्रो भएपछि उनका छोरा स्वदेश फर्किए । 

छोराको कमाइले थोरै भए पनि जगदिशको ब्याज तिर्न पुगिरहेको थियो । तर, छोरा नेपाल गएकै वर्ष स्वदेश फिर्ता भएपछि उनलाई ब्याजै तिर्न पनि धौधौ पर्न थाल्यो । 

मुसहरले आफूसँग भएको २५ कठ्ठाबाट पाँच कट्टा बेचेर नौ लाख तिरे । तर, त्यतिले नपुग्ने भन्दै जगदीशले फेरि तनाव दिन थाले । ‘जगदीशले मेरो पैसा तिर नत्र जग्गा लिलाम गरेर बेचिदिन्छु भनेर धम्क्याउन थाले,’ मुसहरले सुनाए । 

जगदीशको धम्कीको अगाडि उनको केही लागेन । उनले बाँकी २० कट्टा जग्गा पनि बेचिदिए र ऋण तिरे । खातुन जस्तो उनलाई पनि लागेको थियो– ऋणबाट मुक्त भइयो, अब चैनको सास फेर्न पाइन्छ । तर, जगदीशको ताकेता बन्द भएन ।  

‘मेरो २५ पच्चिस कठ्ठाको मोलभाउ मलाई नै थाहा नदिएरै उसले बेच्यो । ऊ आफैँले मान्छे ल्याउँथ्यो र बेच्थ्यो,’ उनले सुनाए, ‘आफूसँग भएको सबै बेच्दा पनि मैले सुख पाइनँ ।,’

उनी पनि न्यायको याचना गर्दै गाउँपालिकादेखि जिल्ला प्रशासन कार्यालयको ढोका ढक्ढक्याउन पुगे । उनलाई सबैले आफ्नो क्षेत्रभित्र नपर्ने भन्दै फिर्ता पठाइदिए ।

उनलाई जगदीशले फेरि ८ लाख नतिर्दासम्म तमसुक र धितो राखिएको जग्गा नफर्काउने बताइरहेका छन् । ८ लाख यही महिना नतिरे जग्गा लिलाम गरेर बेचिदिने धम्की दिएको राम बताउँछन् ।  

‘डेढ लाखको ब्याज तिर्दातिर्दा म भूमिहीन भएँ,’ उनले सुनाए । 

आफूले जीवनै खर्च गरेर जोडेको जग्गा पनि नभएपछि उनको परिवार अब घरबारविहीन भएको छ । आफूसँग केही बाँकी नरहेपछि उनी यतिबेला काठमाडौंले न्याय देला भन्ने आशामा छन् ।

६२ वर्षीय राम सुरत गुप्ता पनि मिटर ब्याजी पीडितमध्येका एक हुन् । गुप्ता ‘मिटर ब्याजले पीडित संघर्ष समिति’का अध्यक्ष हुन् । ४५ जना किसानहरूको यो धर्ना उनकै अगुवाईमा भइरहेको छ ।  

उनले नै सम्पूर्ण पीडितहरुलाई संगठित गराएर धर्ना दिन काठमाडौं ल्याएका हुन् । उनका अनुसार नवलपरासीका प्रतापपुर र सुस्ता गाउँपालिकामा मात्रै ५०० बढी किसान मिटर ब्याजले पीडित छन् । ती सबै किसानहरू बानियाँ परिवारका ४ जना दाजुभाइबाट ठगिएको बताउँछन् । 

‘उनीहरू जगदीश बानियाँ, सुनिल बानियाँ, सुरेश बानियाँ र सुजित बानियाँ हुन् । यिनीहरूले सबैलाई पैसा खुवाएर आफ्नो पक्षमा पारेका छन्,’ गुप्ता भन्छन्, ‘हामीले स्थानीयदेखि जिल्ला प्रशासनलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि उनीहरूको ध्यान गएन ।’

उनी अगाडि भन्छन्, ‘हरेक किसानको कथा एउटै छ । जति ऋण दिएको हो, ठीक त्यसको दोब्बरको पैसा उठाउने । सुरुमा सयकडा दुई प्रतिशत ब्याज भन्ने अनि १० प्रतिशतसम्म तिराउने ।’

उनले चार दाजुभाइ भूमाफिया भएको आरोप लगाए । बानियाँ दाइभाइहरू निरक्षर र सोझासाझा किसानलाई मिटर ब्याजमा पैसा दिने र पछि उनीहरूको जग्गा हडपेर त्यसलाई बेच्ने काममा लामो समयदेखि सक्रिय रहेको उनको भनाइ छ । 

‘किसानलाई जग्गा बेचेर आफ्नो ऋण तथा ब्याज तिर्न उनीहरू बाध्य बनाउँछन् । किसानलाई सस्तोमा बेच्न लगाउँछन् । किनबेच पनि आफ्नै मान्छेहरूले गर्छन्,’ उनले भने, ‘किसानहरू एकदमै मारमा छन् ।’

समस्या सुन्न अहिलेसम्म कोही नआए पनि केन्द्र सरकारले आफूहरूको समस्या छिट्टै सुनेर समाधान गर्नेमा उनी ढुक्क छन् । 

‘प्रधानमन्त्री शेरबहादुर देउवाले गत २७ गते सप्तरीका मिटर ब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गर्न आदेश दिएका थिए । उहाँले बानियाँ दाजुभाइलाई पनि छिट्टै पक्राउ गर्ने आदेश दिनुहुनेछ,’ उनले भने, ‘हामी ढुक्क छौँ ।’


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
ad
x