समाज

बिजुक्छेको शवयात्रामा हजारौँको भीड, सिंगो भक्तपुर शोकमा

इकागज |
असार १०, २०७९ शुक्रबार २०:२१ बजे

फाइल फोटो

भक्तपुर - मुसुक्क हाँसो, उज्यालो अनि हँसिलो मुहार देखिएको शोभा प्रधान बिजुक्छेको सुन्दर तस्वीर अंकित प्लेकार्ड हातमा बोकेर अन्तिम बिदाइमा आएका भक्तपुरवासीको आँखा दिनभर रसाइरह्यो । भक्तपुर नगरपालिका–१ दूधपाटी पिपलबोटको आँडमा आज दिउँसो १ बजे अगाडि नै हजारौँ भक्तपुरवासीको भीडमा अधिकांशको आँखा रसाएका थिए ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको जीवनसङ्गिनी, नेपाल क्रान्तिकारी महिला संघका केन्द्रीय कोषाध्यक्ष एवं नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय सदस्य शोभा प्रधानको शवयात्रा आज दिउँसो १ बजे हुने भएपछि शवयात्रामा सहभागी हुन हजारौँ महिला–पुरुषको उपस्थिति थियो ।


क्यान्सर रोगसँग परास्त भएपछि यही असार ८ गते नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा निधन भएकी शोभा पार्टी अध्यक्षको पत्नी भएर मात्रै नभई एक कुशल शिक्षिका र महिला आन्दोलनकी नेत्री भएर पनि त्यहाँ हजारौँ भक्तपुरवासी अन्तिम बिदाइ गर्न भेला भएका थिए । त्यो भीडमा कयौँ पार्टी कार्यकर्ता, विद्यार्थी र शिक्षकहरूको आँखामा आँसु टिल्पिलाएको देख्दा लाग्थ्यो, आजको यो प्रहरमा सिङ्गो भक्तपुर रोइरहेको छ, सिङ्गो भक्तपुर शोकमा डुबेको छ ।

पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले फूलमालाले अन्तिम श्रद्धाञ्जलि अर्पण गर्दा शोभा प्रधानलाई धेरै नजिकबाट बुझ्नेहरु मात्र होइन, उनलाई चिन्नेहरु, उनले शिक्षा दिएका विद्यार्थी, उनले महिला अधिकारका सवालमा दिएका सयौँ प्रशिक्षणमा सहभागी महिला शवयात्रामा सहभागी हजारौँको आँखा रसाएका थिए, भावविह्वल भएका थिए । पार्टीको तर्फबाट सचिव प्रेम सुवालले प्रधानको मृत शरीरमा पार्टीको झण्डा ओढाएका थिए ।  

अन्तिम बिदाइ यात्रामा उनीप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्दै उपस्थित पार्टीका नेताहरूले उनको सम्मानमा शिर झुकाउँदा, पुष्पगुच्छा अर्पण गर्दा सहभागीहरू निकै भावुक बनेका थिए । अन्तिम बिदाइमा आएकाहरु स्तब्ध थिए । कयौँको मुखबाट वाक्य फुटेको थिएन, आँखाबाट आँसु रोकिएको थिएन । कयौँ महिलाले पछ्यौराले आँसु पुछिरहे, कतिले आँसु लुकाउन खोजे तर सकेनन् ।

भावविह्वल वातावरणमा भएको श्रद्धाञ्जलिसभापछि सुरु भएको शवयात्रा दूधपाटीबाट भार्वाचो, नासमना, टौमढी, सुकुलढोका, तचपाल, च्याह्मासिंह हुँदै हनुमानघाटसम्म पुग्दा त्यो भीड बढ्दो थियो । लाग्थ्यो उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्न, उनको अन्तिम बिदाइ गर्न सिङ्गो भक्तपुर उल्टिएको थियो । हनुमानघाट र त्यहाँ आसपासका क्षेत्र मानिसको भीडले खचाखच भरिएको थियो ।

हनुमानघाटमा प्रधानको अन्तिम बिदाइ गर्दाको क्षणमा मानवीय आँखामात्रै होइन, प्रकृति नै रोएको थियो । त्यही बेलामा परेको पानीमा रुझ्दै हजारौँ सहभागीहरू नडगमगाई पानीमा भिज्दै बसिरहेका थिए । बिजुक्छेका दुई छोरा सुवेग र सुवान बिजुक्छेले दागबत्ती दिएर अन्तिम बिदाइ गर्दा सहभागीहरूको रुवाइ देख्ने जो–कोहीको आँखा रसाएका थिए । नेपाल मजदुर किसान पार्टी, नेपाल क्रान्तिकारी महिला संघ र नेपाल क्रान्तिकारी शिक्षक संघले उनीप्रति सम्मान, स्मरण र श्रद्धाञ्जलि अर्पण गर्दै शवयात्रामा संघको झण्डा आधा झुकाएका थिए ।

तेइस    वर्षअघि स्तन क्यान्सर भई पूर्णरूपमा निको भएकी शोभा प्रधान पुनः विसं २०७४ देखि पाठेघर क्यान्सरबाट पीडित थिइन् । नेपाल क्यान्सर अस्पतालमा नियमितरूपमा उपचाररत उनको असार ८ गते निधन भएको थियो ।
रासस


Author

थप समाचार
x