समाज

अन्जु आमा : जो सालनालसहितका अरुका बच्चा पनि हुर्काउँछिन्

लक्ष्मी भण्डारी |
असार १२, २०७९ आइतवार १६:४६ बजे

सुर्खेत । तीन महिनाअघि वीरेन्द्रनगर—१२ की अन्जु गुरुङ बिहान चाढे चार बजे गाई दुहुन भनेर उठिन् । गाई दुहेर चुलोमा दूध बसालिन् र मोबाइल हेर्न लागिन् ।

टिकटकमा एउटा भिडियो हेर्न पुगिन् जसमा कुमारी आमाको बच्चा जन्मिएको र बच्चालाई लैजाने कोही नभेटिएको कुराकानी थियो । ‘छोरा भए पाल्न लैजाने नत्र नलैजाने’ भनिरहेको पनि अन्जुले सुनिन् । यही सुनेपछि उनले बच्चालाई अरुले नलगे आफैँ ल्याउने मनमनै निर्णय गरिन् । ‘मेरो पढाइ नभएकाले भदैनीलाई म्यासेज गर्न लगाएँ’ उनले त्यो दिनको सम्झना गर्दै भनिन्, ‘घरको सरसफाई सकेर खाना बनाएँ र उक्त बच्चा भएको ठाउँमा पुगे ।’


अन्जु त्यहाँ पुग्दा एक १७ वर्षीय ‘कुमारी आमा’ले बच्चा जन्माएको दुई दिन भएको थियो । ती कुमारी आमाको अवस्था नाजुक थियो । घरपरिवारलाई थाहै थिएन । कालिकोट घर भएकी ती १७ वर्षीय किशोरी वीरेन्द्रनगरमा कोठा भाडामा बसेर पढ्दै आएकी रहिछन् । एक जना युवकसँग माया पिरती बसेको रहेछ । विवाह गर्छु भनेर सम्बन्ध राखेको र गर्भवती भएको थाहा पाएपछि ती युवक फरार भएछन् । सुरुवातमा गर्भवती भएको थाहा नपाएकी ती किशोरीले पछि थाहा पाउँदासम्म गर्भपतन गर्न नमिल्ने भइसकेको थियो । यो अवस्थामा उनी परीक्षाको निहुँ गरेर घरमा पनि गइनन् ।

किशोरीका साथीहरूले बच्चा जन्माउनसम्म सहयोग गरे । तर बच्चा हुर्काउने जिम्मेवारी उनीहरूले पनि लिन सक्ने अवस्था थिएन । उनीहरू बच्चा कसैले लगेर पालिदिए हुन्थ्यो भन्ने सोचमा थिए । ‘त्यहाँ पुग्दा ती बहिनीको टिठ लाग्यो अनि बच्चा मैले हेरिदिन्छु, बहिनी आफ्नो भविष्य बनाउनुहोस्, भनेर बच्चा लिएर आएँ’अन्जुले भनिन् । आफ्नो कुराले ती किशोरी खुसी भएको र उल्टै किशोरीलाई तीन हजार रुपियाँ दिएको पनि अन्जुले बताइन् । अहिले अन्जुले ल्याएको नवजात शिशु तीन महिनाकी भएकी छन् र बट्टाको दूध खाए पनि हृष्टपुष्ट छिन् । 

सुर्खेतको तरंगास्थित भेरी नदीको किनारमा बेवारिसे हिडेका थिए, पाँच वर्षे बालक । गाउँलेहरू खाना दिएको बेलामा खान्थे नत्र भने भोकभोकै पनि हिँड्थे उनी । बुबा कमाउन भनेर इण्डिया गएका थिए । तर, उतै अर्की श्रीमती कमाएपछि गाउँ फर्केनन् । उतै विवाह गरेर बसे । आमाले पनि अन्तै विवाह गरेर गएपछि उनी घरमा एक्लो भए । यो बच्चाको कथा पनि कसैले अन्जुको कानमा पुर्यायो । अन्जु विलम्ब नगरी बच्चा भएकै ठाउँ पुगिन् र बच्चालाई आफूसँग जाने प्रस्ताव राखिन् ।

‘स्याउ र सुन्तला लगेर भेट्न गएँ । उसलाई त आफ्नो आमाको न्यास्रो रैछ । झम्टिएर रोयो । त्यो देखेर म पनि रोएँ’ अन्जुले सम्झना गरिन्, ‘त्यो बच्चाले पनि तपाईँसँग जान्छु भन्यो र सँगै लिएर आएँ ।’ त्यो बालक अन्जुसँगै बस्न थाल्यो । अन्जुले स्कुल पनि भर्ना गरिदिएकी थिइन् । तर एक वर्षपछि छोरा खोज्दै बालकको बुवा घर आइपुगे र छोरा लिएर जाने अनुमति मागे । अन्जुले बाबुले नै लाने भनेपछि नाइँनास्ती गर्ने कुरै थिएन । तर त्यो बालक अन्जुसँग यति रत्तिसकेको थियो कि बुबासँग पनि जान मानेन । ‘बच्चाले रोएर बुवासँग जान्न यहीँ बस्छु भन्यो’ आँखाभरी आँशु बनाउँदै उनले भनिन्, ‘उसलाई पठाएर फर्किँदा म पनि रुँदै फर्किएँ ।’ सुरुमा त  बच्चाले फेरि दुःख पाउने होकी भनेर दिन मानेकी थिइन् । तर आफ्नै बाबु हो नराम्रो त के गर्ला र भन्ने सोचेर बच्चा बाबुको जिम्मा लगाएँ । ‘भोलि तलमाथि केही होला कि भनेर कागज चैँ गराएकी थिएँ,’ अन्जुले भनिन् ।  

त्यसैगरि दैलेखका एक दम्पती आफ्नो काखको बच्चालाई हुर्काउन नसक्ने अवस्थामा थिए । बच्चा खानेकुराको अभावमा ख्याउटे हुँदै गएको थियो । आर्थिक अवस्था निकै दयनीय रहेको ती दम्पती रोगले ग्रस्त भएका रहेछन् । बच्चाको अवस्थाबारे अन्जुले आफन्तबाट बुझ्ने मौका पाइन् । गाउँलेहरू उक्त बच्चालाई बाँच्न गाह्रो छ भनिरहेका थिए । तर, अन्जुले जसरी पनि उक्त बच्चालाई बचाउँछु भनेर लिन गइन् । अभिभावकले आफ्नो बच्चा अन्जुलाई सुम्पिए । उनले औषधि गर्नको लागि बच्चालाई काठमाडौसम्म लगिन्। अन्जुको माया र सहरको औषधिले सप्रिएकी दुई महिनाकी ती बच्चा अहिले शिशु कक्षामा पढ्न जाने भइसकेकी छन् । 

यी त उदाहरणमात्र हुन् । अन्जु विगत पाँच वर्षयता बेवारिसे अवस्थाका सात जना बालवालिकाकी सहारा बनेकी छन् । उनका आफ्ना तीन वटा छोराछोरी छन् । तर उनले बाँकीलाई पनि आफ्नै सन्तानसरह पालेकी छिन् । ‘म अहिलेसम्म १२ जना छोराछोरीको आमा भइसकेँ’ उनी भन्छिन्, ‘मलाई सबैभन्दा प्यारो शब्द नै आमा भनेको लाग्छ ।’

अधिकांशले आफ्नै बच्चा हुर्काउन पनि झिँजो मान्ने गर्छन् । कतिपयले एउटै बच्चा हुर्काउन पनि हम्मे हम्मे परेको बताउँछन् । कतिले त बच्चाहरूलाई हेरचाह केन्द्रमा पठाउने गर्दछन् । 

तर, बेवारिसे अवस्थामा रहेका दर्जन बढी बालवालिकालाई  खोजेरै हुर्काउँदै आएकी छन्, अन्जुले । सडकमा रहेका बेवारिसे बालबालिका हुन् या कोही सालनालसँगै भेटिएका बच्चा हुन्, कत्ति पनि अप्ठेरो नमानी घरमा ल्याएर पालनपोषण गर्दै आएकी छन्, अन्जुले । 

कमलो स्वाभावकी अन्जु जो सुकै बच्चालाई पनि दुःख पाएको देख्न सक्दिनन् । थाहा पाउने बित्तिकै उद्धार गर्न जान्छिन् । ‘मेरो सानैबाट बच्चाहरूलाई दुःख पाएको देख्न नसक्ने बानी छ । बाटामा बच्चाहरू देखे पनि माया लागेर आउँछ’ उनी भन्छिन्, ‘बच्चा कतै समस्यामा परेको देख्ने बित्तिकै रुन मन लाग्छ ।’ 

सेवा नै धर्म भएकाले बालवालिकाको उद्धारको काममा लाग्छु भनेरै यो काममा लागेको उनी बताउँछिन् । उनको यो पुण्य काममा श्रीमान र छोराछोरीले पनि साथ दिएका छन् । ‘सुरुवातमा यस्तो झन्झट काममा नलाग भन्नुहुन्थ्यो पछि उहाँलाई नै ती बच्चाको माया लाग्न थालेछ’ अन्जु भन्छिन्, ‘अहिले त केही भन्नुभएको छैन । श्रीमानले पनि काममा सहयोग गर्दै आउनुभएको छ ।’

सामान्य परिवारमा जन्मिएकी उनी सानैबाट संघर्ष गर्दै आइन् । अहिले उनी घरमा गाई फर्म सञ्चालन गरेकी छन् । उनको आम्दानीको श्रोत भनेकै दूध बिक्री गर्नु हो । त्यही दुध खुवाएर आफूले ल्याएका बच्चाहरू हुर्काउँदै आएकी छन् । फर्ममा अहिले सात वटा गाई रहेका छन् । गाई फर्म सञ्चालन गरेकी अन्जुले कहिँबाट पनि आर्थिक सहयोग पाएकी छैनन् । ‘कसरी ल्याउँछन्, कहाँबाट ल्याउनुपर्छ केही थाहा छैन’ उनी भन्छिन्, ‘अहिलेसम्म कहीँबाट पनि सहयोग प्राप्त गरेको छैन । सुकन्जेल गर्ने त हो नी ।’ 

तर बदलिँदो जमानामा अन्जुलाई उनीहरूलाई प्रतिस्पर्धी शिक्षा दिन नसकुँलाकी भन्ने पिर छ ।  ‘मैले सकेको त गरेकै छु । उनीहरूले राम्रो शिक्षादिक्षा पाए झन् राम्रो गर्थे कि भन्ने लाग्छ । यसका लागि चाहिँ कसैले पहल गरिदिए हुन्थ्यो,’ उनको अपेक्षा छ ।


 


Author

थप समाचार
x