समाज

गायिका दिलमाया मृत्यु प्रकरण : बुबाद्वारा किटानी जाहेरी

इकागज |
असार १३, २०७९ सोमबार १५:५७ बजे

काठमाडौँ । काठमाडाैँकाे नेपालटारस्थित आफ्नै कोठामा मृत भेटिएकी गायिका दिलमाया सुनारको हत्या भएको आरोप लगाउँदै बुबा केसर विकले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।    
    
घटनालगत्तै पक्राउ परेका काभ्रेपलाञ्चोकका सूर्य भन्ने खिलबहादुर श्रेष्ठविरुद्ध विकले बालाजु प्रहरीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । किटानी जाहेरीसँगै ज्यानसम्बन्धी कसूरमा श्रेष्ठमाथि अनुसन्धान भइरहेको र आजै म्याद थपको तयारी रहेको जनाइएको छ । श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो ।    
    
गायिका सुनार शनिबार आफ्नै कोठामा मृत भेटिएकी थिइन् । घटनास्थलमा मोबाइल फेला नपरेको र उनको सलसमेत समेत घटनास्थलभन्दा बाहिर फेला परेकाले कर्तव्य गरी मरिएको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।    
    
पक्राउ परेका श्रेष्ठ उनका प्रेमी रहेको बुझिएको छ । शव परीक्षण प्रतिवेदन आएपछि घटनाको वास्तविक कारण खुल्ने भन्दै प्रहरीले अहिलेसम्म केही भन्न नसकिने जनाएको छ । घटना हुनु अघिल्लो दिन गायिका सुनारको फेसबुक स्टेटस सार्वजनिक भएको थियो ।    
    
त्यसमा उनले कुनै पनि बेला जे पनि हुनसक्ने र घटनामा कसैलाई दोष नदिन अनुरोध गरिएको थियो । उक्त स्टेटस दबाबमा लेखिएको आशङ्का गरिएको छ । प्रहरी स्रोतका अनुसार श्रेष्ठले त्यसदिन उनको कोठामा गएको स्वीकारे पनि हत्या आरोप अस्वीकार गरेका छन् ।  



Author

थप समाचार
x