समाज

झापामा बाढीः दुई सीमास्तम्भ डुबायो, २७७ घरपरिवार प्रभावित, १० लाखको कुखुरा मर्‍यो

इकागज |
असार १४, २०७९ मगलवार २१:५२ बजे

झापा - झापामा सोमबार रातिदेखि आएको अविरल वर्षाका कारण २७७ घरपरिवार प्रभावित भएका छन् । वर्षाले जिल्लाका विभिन्न स्थानमा भएको डुबान तथा नदी–खोलामा आएको बाढी गाउँबस्ती पस्दा उनीहरु प्रभावित भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

गौरीगञ्ज, शिवसताक्षी, गौरादह, बाह्रदशी, बिर्तामोड, झापा, कचनकवल, भद्रपुर, कमल, दमकलगायतका स्थानमा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले आज सार्वजनिक गरेको क्षति विवरणमा उल्लेख छ ।


कचनकवल गाउँपालिका–१ स्थित पिण्डलबारीमा बिरिङ खोलामा आएको बाढीले सो स्थानमा रहेको नेपाल–भारत सीमास्तम्भ (पिलर नं २८, २९) डुबान भई नदेखिने भएको कार्यालयले जनाएको छ ।

त्यस्तै शिवसताक्षी नगरपालिका–१ स्थित हरिदेव ताजपुरियाको कुखुरा फाराममा पानी पस्दा १० लाख ४० हजार बराबरको एक हजार दुई कुखुरा मरेको कार्यालयले जनाएको छ । जिल्लामा मानवीय क्षति भने भएको छैन ।

शिवशताक्षी–११ इलाका प्रहरी कार्यालय झिलझिलेको कार्यालमा पानी पस्दा दुई वटा कम्प्युटरमा क्षति पुगेको छ । यस्तै झापा गाउँपालिका–६ बालुबथानमा तिरिङखोलाको बाँध फुटेकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा बाँध बाँध्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानमा घर तथा पसलहरूमा पानी पसेको छ । जसका कारण चामल, दाललगायतका खाद्य सामग्री नष्ट भएको कार्यालयले जनाएको छ । रासस


Author

थप समाचार
x