समाज

काठमाडौँका सडकमा बसेर मागेमा तीन महिनासम्म कैद

तीन वर्षमै १६८४ को उद्धार, ११८ ले ज्यान गुमाए

अतिन आचार्य |
असार १७, २०७९ शुक्रबार १५:४ बजे

काठमाडौँ– गीत गाएर वा नाँच्दै सडकमा बसेर पैसा माग्‍न नपाइने चेतावनीसहित काठमाडौँ महानगरपालिकाले शुक्रबारको राष्ट्रिय दैनिक पत्रिका गोरखापत्रमा सूचना प्रकाशन गर्‍यो । ‘दश दिनभित्रमा सार्वजनिक स्थानमा भिक्षा माग्‍ने वा माग्‍न लगाउने कार्य नगर्नु वा तथा नगराउनु हुन यो सूचना सूचित गरिन्छ,’ चेतावनीसहित सूचनामा लेखिएको छ, ‘यस कार्यमा सहयोग गर्न आममानिस र महानगरबासीमा अनुरोध गरिन्छ । सूचना उल्लंघन गरेमा २०७४ को दफा १२६, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित कानून बमोजिम कारबाही हुन्छ ।’

मुलुकी अपराध संहिता, २०७४ को दफा १२६ अनुसार, कसैलाई चन्दा, सुविधा, सहयोग, अनुदानको नाममा कुनै किसिमको नगद वा जिन्सी माग्नु, लिनु वा प्राप्त गर्नु हुँदैन । यदि यो दफा उल्लंघन गरेको खण्डमा तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ र त्यसरी प्राप्त गरेको नगदी वा जिन्सी जफत हुनेछ ।


महानगरपालिकाले यसअघि पनि सहयोगापेक्षी मुक्त सडक घोषणा गरेको थियो । मानव सेवा आश्रम समिति, नेपाल प्रहरीको संयुक्त सहकार्यमा महानगरले सडकमा रहेका मानवको उद्धार गरेको थियो । त्यसबखत महागरपालिकाको सबै ठाउँबाट उद्धार भएको थियो ।

उद्धार भएसँगै महानगरको सडक र मन्दिर वरपर सहयोगापेक्षीको संख्या घटेको थियो । केही मानव आश्रममा शरण लिन पुगे, कतिपय परिवारको सम्पर्कमा र केही पुनः सडकमा माग्न आएका थिए । मानव सेवा आश्रम समितिले बंगलादेश र भारतमा लगेर परिवारको जिम्मासमेत लगाएको थियो ।

संघीय राजधानी अवस्थित महानगरभित्रका सडक, सरकारी कार्यलय तथा सार्वजनिक स्थानमा पैसा मागिरहेका मानिसलाई पनि देख्‍न सकिन्छ । सडकमा पैसा माग्नेहरूमा युवा, युवती, बालबालिका, महिला र वृद्धहरू हुने गरेका छन् । 

केही समय यता महानगरका चोक–चोकमा पैसा माग्‍नेहरू देखिन थालेका छन् । भद्रकाली, सुन्‍धारा, बसन्तपुर, महाँकाल, कोटेश्वर, तीनकुने, गौशाला र पशुपति मन्दिर वरपर बाक्लै रुपमा उपस्थित बढेको पाइएको छ । सडकमा बालबालिकादेखि शारीरिक रुपमा मजबुत युवाहरू नै पैसा मागिरहेका हुन्छन् ।

उपत्यकामै बसोबास गरिरहेका नेपाली र भारतबाट आएका मानिसहरू सडकमा पैसा माग्ने रहेको पाइएको छ । नेपाली युवाहरू  परिवारमा घर झगडा गरी र लागू पदार्थको कुलतमा फसेकाहरू माग्‍न पुगेका छन् । 

महानगरभित्रको सडकबाट दैनिक ५ देखि ७ जना माग्ने मानिसहरूको उद्धार गरिरहेको मानव सेवा आश्रम समितिका अभियन्ता मनोज घिमिरेले जानकारी दिए । सडकबाट उद्धार गरिएकाहरू भारतीय र नेपाली युवायुवती हुने गरेको उनले बताए ।

महानगर सहयोगापेक्षी मुक्त घोषणा २०७६ मङ्सिर २९ गरिएको थियो । आश्रमले विभिन्न सरकारी निकायको सहकार्यमा झण्डै तीन वर्षमा हालसम्म १ हजार ६८४ सय जनाको उद्धार गरेको छ ।

‘पशुपति मन्दिर परिसरमा भारतबाट गाडीमा ल्याएर छोडिएका माग्‍नेहरू रहेको पाइएको छ,’ उनले भने, ‘आश्रमममा आएका कतिपयले भाषा बुझ्दैनन् ।’ आश्रममा उद्धार गरेर राखेर राखिएकाहरू रात्रीकालीन समयमा र दिउँसो उद्धार गरिएका नेपालीहरूमा परिवार भएकाहरू छन् । घरमा झगडा गरेर, कुलतमा फसेका र मानसिक सन्तुलन गुमाएकाहरू छन् ।

‘कुलतमा फसेकाहरूलाई उद्धार गरेर लगिएकाहरूबाट आश्रमको वातावरण बिग्रने गरेको छ,’  उनले थपे, ‘मानसिक सन्तुलन गुमाएका मानिसहरू बढी छन् । सहयोगको आवश्यक परेका मानिसहरू बढी छन् ।’

उनका अनुसार, आश्रममा वृद्धहरू ५३ र १४७ जना अन्य उमेर समूहका मानिसहरू छन् । कुल दुई सय जना छन् । देशभरका विभिन्न आश्रममा कुल ७ हजार मानिसले शरण लिएका छन् । काठमाडौँ उपत्यकामा मात्र ३ हजार छन् ।

परिवारका सदस्यकासँग पुर्नमिलन गराए पनि सडकमा माग्न आइहाल्ने घिमिरेले बताए । आश्रममा ल्याएपछि उनीहरूले मागेर गुजारा चलाउनेले गुनासो गर्ने गरेको उनले जानकारी दिए ।

‘आश्रमबाट दैनिक ५ देखि ७ जनालाई पुर्नमिलन काम भइरहेको छ,’ उनले सुनाए, ‘बंगलादेशमा ५ र भारतका करिब ३ सय जनालाई पुर्नमिलन गराउने काम भइसकेको छ ।’ आश्रमले हालसम्म ४२९ जनालाई परिवारसँग पुर्नमिलन गराइसकेको छ ।

महानगर भित्रबाट हालसम्म १ हजार ६८४ जनाको उद्धार भएको छ । आश्रममा पुगेर हालसम्म ११८ जनाले ज्यान गुमाइसकेका छन् । सामुदायिक पुनस्थापनमा २८२ र विभिन्न रोग लागि उपचार भएर विदा भएकाहरू २८० जना छन् । 

महानगरले मानव आश्रमका लागि आर्थिक वर्ष २०७८/०७९ मा ४० लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए । नागार्जुन नगरपालिकाले मावन सेवा आश्रमको भवन बनाउन जग्गा उपलब्ध गराउने भएको छ । महानगरपालिकाले उक्त ठाउँमा जग्गा बनाइदिने भएको हो ।
 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x