समाज

हेलम्बुका गुम्बा तथा मन्दिरका पुजारीलाई मासिक भत्ता

इकागज |
असार १८, २०७९ शनिबार १६:२७ बजे

सिन्धुपाल्चोक– गुम्बै गुम्बाको सहर भनेर चिनिइने सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गाउँ हेलम्बुमा रहेका गुम्बा, मठमन्दिरमा पूजा गर्ने पुजारीलाई मासिक भत्ता दिइने भएको छ । धार्मिकस्थलहरुको संरक्षण तथा पूजामा खट्ने पुजारीहलाई प्रोत्साहनस्वरुप गाउँपालिकाले मासिक एक हजार रुपैयाँ भत्ता दिने भएको हो ।

आर्थिक वर्ष २०७८-७९ मा गाउँपालिकाद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा यसका लागि बजेट छुट्याइएको छ । ‘पुजारीका लागि पूजापाठ गर्न समस्या देखिएकाले धार्मिकस्थलको संरक्षणका लागि भत्ताको व्यवस्था गरिएको हो,' हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने, ‘धार्मिकस्थलमा पूजा गर्ने मुख्य पुजारीको अभाव हुन थालेपछि नियमित पूजापाठका लागि यस्तो व्यवस्था गरिएको हो ।’ यसका लागि गाउँपालिकाले छुट्टै कार्यविधि बनाएर कार्यान्वयन गरिने उनले बताए ।


हेलम्बु गाउँपालिकाभर रहेका गुम्बा, मठमन्दिर हेर्नका लागि टाढा टाढाबाट पर्यटकहरु आउने गरेका छन् । यहाँ चिरीगुम्बा, शेर्माथाङलगायतका चर्चित गुम्बाहरु छन्। ‘गुम्बा तथा मठमन्दिरको संरक्षण पनि हुने र नियमित पूजा हुँदा पर्यटकहरुको आगमन पनि भइरहन्छ,’ अध्यक्ष शेर्पा भन्छन्, ‘गुम्बाको सहर भनेर चिनिइने हेलम्बुको पहिचान घट्दो क्रममा भएकाले यसलाई जागृत गराउन गस्तो नीति ल्याइएको हो ।’

साथै यो वर्षबाट प्रत्येक गसम्बा तथा मन्दिरहरुमा वार्षिक रुपमा पूजा आराधनाका लागि २५ हजार रुपैयाँ एकमुष्ठ उपलब्ध गराउनेसमेत व्यवस्था मिलाइएको छ ।
 


Author

थप समाचार
x