समाज

बर्सनि जोगिनै मुस्किल

चट्याङको जोखिममा नेपाल : नौ वर्षमा नौ सय बढीको मृत्यु

रमेश लम्साल |
असार १९, २०७९ ६:३३ बजे

काठमाडौँ - जुम्लाको पातारासी गाउँपालिका–४ लुमको बागजले पाटनस्थित चार परिवारको भेडागोठमा चट्याङ पर्दा ८० वटा भेडा मारिए । ३०० भेडा हराइरहेका छन् ।

बाराको कलैया उपमहानगरपालिका–१३ छोटकी फूलबरिया बस्ने २८ वर्षीय एक महिला घरको बरण्डामा बसिरहेको बेला अचानक चट्याङ लागेर घाइते भइन् । बैतडीको दोगडाकेदार गाउँपालिका–३ जडियाखानको एक गोठमा चट्याङ पर्दा एक भैँसीको मृत्यु भयो । यो पछिल्लो २४ घण्टाको विवरण हो ।


गत वैशाख १ गतेदेखि असार १७ गतेसम्म देशभर ९८ वटा चट्याङका घटनामा परी ३८ जनाको ज्यान गयो भने ६१ जना घाइते भएका छन् । त्यसबाट १२५ परिवार प्रभावित भएका छन् भने १६ लाख ९८ हजार बराबरको अनुमानित क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणमा छ । 

गत वैशाख १ गतेदेखि शुक्रबारसम्मको विवरणानुसार विपद्का घटनामात्रै ९३७ वटा भएका छन्  । त्यसबाट कूल ९८ जनाको ज्यान गएको छ भने २१३ जना घाइते भएका छन् । ती घटनाबाट कूल ६५ करोड १४ लाख ९८ हजार ५६० बराबरको अनुमानित क्षति भएको छ । 

प्राधिकरणका अनुसार असार १५ गते मात्रै गुल्मी, बागलुङ, बर्दिया, दार्चुला, कञ्चनपुरमा चट्याङ पर्‍यो । बर्दियामा गेरुवामा दुई भैँसी मर्दा किसानको दुई लाख ४० हजार बराबरको क्षति भयो । सोही दिन कञ्चनपुरमा चट्याङकै कारण एक बालिकाको ज्यान गयो । 

असार १३ गते पाँच जिल्लामा चट्याङ परेको प्राधिकरणको विवरणमा उल्लेख छ । असार १३ गते एक, १२ गते तीन, असार १० गते एकवटा चट्याङका घटना भएका छन् । यी पछिल्ला दिनका केही प्रतिनिधि घटना हुन् । बर्सेनि चट्याङ पर्ने मात्रामा वृद्धि भएको छ । अन्य विपद्का घटनाबाट ज्यान जानेभन्दा चट्याङबाट मृत्यु हुनेको सङ्ख्यामा बढोत्तरी भएको छ । 

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीका अनुसार विसं २०६९ देखि २०७८ सम्म चट्याङबाट ९५२ जनाको ज्यान गएको थियो । यस वर्षमात्रै ३८ जनाको ज्यान गएको छ । त्यो विवरणसमेत जोड्दा ९९० हुन जान्छ ।  
 
विसं २०६९ मा १९६ वटा घटना भएको थियो र ज्यान जानेको सङ्ख्या १३१ थिए । विसं २०७८ मा २०३ वटा घटना भए र ५६ जनाको ज्यान गयो । महानिर्देशक जोशीका अनुसार चट्याङबाट हुने मानवीय क्षति पहिरोबाट भन्दा पनि बढी छ । पछिल्लो १० वर्षको विवरण हेर्ने हो भने दुई हजार २३९ वटा चट्याङका घटना भए । त्यसबाट सबैभन्दा बढी प्रभावित हुने जिल्लामा मकवानपुर शीर्षस्थानमा छ ।
 
विशेषगरी मनसुन र प्रि–मनसुनको समयमा बढी मात्रामा चट्याङ पर्छ । के सहर, के बजार, के गाउँ, के तराई सबैतिर चट्याङ पर्ने गरेको छ । विशेषगरी आकाशमा कालो बादल मडारिन थालेपछि चट्याङ पर्ने सम्भावना बढी हुन्छ । यतिबेला नेपालमा मनसुन सक्रिय छ । यस्तो बेला चट्याङ पर्ने सम्भावना अझै बढी छ ।

विज्ञान र प्रविधिको अधिकतम् प्रयोग गरेर कुन स्थानमा चट्याङ पर्छ  भन्नेबारेमा पत्ता लगाउन विभागले प्रयास गरे पनि त्यसमा हालसम्म कुनै सफलता हासिल हुनसकेको छैन । विपरीत स्थानबाट आएका बादल एकापसमा घर्षण हुँदा त्यसबाट विद्युतीय शक्ति पैदा हुन्छ । त्यसबाट प्रकाश र आवाज दुवै उत्पन्न हुन जान्छ । त्यसलाई बुझिने भाषामा चट्याङ भनिन्छ । 

भुटानलाई चट्याङको देश नै भनेर चिनिन्छ । विश्वका विभिन्न देशहरूको सूचीमा चट्याङबाट जोखिममा रहेको देशमा नेपाल पनि एक हो । दक्षिण अमेरिकाको भेनेजुयला, इण्डोनेशिया, मलेसिया पनि उत्तिकै जोखिममा छ । अफ्रिकी देश मालवी पनि उत्तिकै चट्याङबाट प्रभावित हुने गरेको छ । 

जलवायु परिवर्तनका कारण पनि पृथ्वीको तापक्रममा क्रमशः वृद्धि भइरहेको छ । त्यसबाट झनै चट्याङको जोखिम बढाइदिएको छ । महानिर्देशक जोशीका अनुसार चट्याङ वायुमण्डलमा देखापर्ने एक प्रकारको बिजुलीको धार हो । यो आकाशबाट पृथ्वीको सतहतर्फ प्रवाहित हुन्छ । वायुमण्डल अस्थिर बन्दा वा आकाशमा कालो बाक्लो कुमुलोनिम्बस बादल बन्न थाल्छ ।

त्यस्तो बेला जमिनको सतहबाट गएको तातो हावा र माथि रहेको चिसो हावा एकापसमा ठोकिन्छ र त्यसबाट बिजुली चम्कन्छ । चट्याङ पर्दा ठूलो मात्रामा विद्युतीय शक्ति पैदा हुन्छ । त्यो शक्ति पृथ्वीतर्फ प्रवाह हुँदा त्यो मानिस वा जनावरलाई लाग्यो भने मृत्यु हुनसक्छ । 

जानकारहरूका अनुसार एकपटक चट्याङ पर्दा २० देखि ३० हजार एम्पियर इलेक्ट्रिकल करेन्ट उत्पन्न हुन्छ । यो वासिङ मेसिनमा प्रयोग हुने बिजुलीभन्दा दुई हजार ३०० गुणा बढी हो । 

महानिर्देशक जोशी चट्याङबाट जोगिन घरभित्रै बस्न सुझाव दिन्छन् । खुला स्थान वा ठूला रुख वा संरचनाको मुनि सकेसम्म नबस्न एवं घरभित्रै भए विद्युतीय उपकरण बन्द गर्नसमेत उनले आग्रह गरे। 

खुला स्थान वा अग्ला डाँडामा चट्याङको जोखिम बढी हुने भएकाले त्यस्ता स्थानमा सकेसम्म जानु हुँदैन । बादलमा जम्मा भएको विद्युतीय शक्ति आकाशबाट पृथ्वीतिर आउनेक्रममा जुन वस्तु नजिक पर्छ, त्यही वस्तुमा चट्याङले हान्ने हुँदा टावर, अग्ला रुख, अग्ला संरचनामा चट्याङ पर्ने सम्भावना बढी हुने भएकाले त्यस्ता स्थानमा बढी जोखिम हुन्छ ।
 
चट्याङबाट बच्न सबैभन्दा राम्रो उपाय घरभित्र बस्नु नै हो । घरभित्र बस्दा पनि टेलिभिजन, टेलिफोन आदि विद्युतीय उपकरण बन्द गर्ने, पानीका धारा बन्द गर्ने, झ्यालको छेउ, भित्तामा अडेस लागेर नबस्नेजस्ता सावधानी अपनाउनुपर्ने महानिर्देशक जोशीको सुझाव छ । त्यस्तै फलामे डन्डी प्रयोग गरेर बनाइएको पक्की घरको छानामा ‘लाइटनिङ एरेस्टर’ जडान गर्ने वा राम्रोसँग अर्थिङ गरेर पनि चट्याङबाट बच्न सकिन्छ । 

चट्याङबाट जोगिन नेपालमा हालसम्म अन्य स्पष्ट मापदण्ड र कार्यक्रम भने बनेको छैन । महानिर्देशक जोशी विपद् प्राधिकरणसँग मिलेर केही काम गर्ने योजनाका साथ आफूहरू लागिपरेको बताउँछन् । चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि मापदण्ड तयार पार्ने ध्येयका साथ सन् १९०६ मा नै एक अन्तर्राष्ट्रिय आयोग स्थापना भएको थियो । सो आयोगअन्तर्गत विभिन्न प्राविधिक समिति र उपसमितिमा हाल ११ हजार बढी स्वयंसेवी कार्यरत छन् । 

चट्याङमा परेर मर्ने मात्र होइन घाइतेको अवस्था पनि अत्यन्त पीडादायी हुने गरेको छ । जानकारहरूका अनुसार चट्याङबाट घाइते हुने धेरैमा विभिन्न मानसिक र शारीरिक दीर्घरोग देखापर्छ । कसैको बोली, कान र आँखा बन्द हुने, स्मरणशक्तिमा ह्रास आउने, शरीर लाटो हुने, रिँगटा लाग्ने, जोर्नी कडा हुने, मांसपेसी बाउँडिने, डिप्रेसनसमेत हुन जान्छ । नेपालमा भने चट्याङका घाइतेलाई सामान्य उपचार गरेर छाडिने हुनाले दीर्घकालीन असरको बारेमा खोजपड्ताल भएको छैन ।

पछिल्ला केही वर्षको विवरण हेर्दा इलाम, सङ्खुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, मोरङ, सुनसरी, सप्तरी, बारा, पर्सा, दोलखा, लमजुङ, कास्की, बागलुङ, गुल्मी, रोल्पा, प्युठान, दाङ, पश्चिम रुकुम, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुरमा धेरै चट्याङ पर्ने गरेको छ । 

चट्याङबाट जोगिन पूर्वतयारी नै आवश्यक भएकाले पानी पर्ने समयमा अझ भनौँ, बिजुली चम्केको समयमा खुला स्थानमा सकेसम्म नबस्नु नै सबैभन्दा उत्तम समाधानको उपाय हो । मौसम पूर्वानुमान महाशाखाले हरेक दिन मेघगर्जनसहित वर्षा हुने र चट्याङ पर्ने सम्भावना रहेको भन्ने सूचना दिने भएकाले त्यसलाई ध्यान दिँदामात्रै पनि जोगिन सकिने महानिर्देशक जोशीको भनाइ छ । रासस
 


Author

थप समाचार
ad
x