समाज

पत्रकारमाथि कुटपिट गर्नेलाई कारवाही गर्न महासंघको माग

इकागज |
असार २०, २०७९ सोमबार १४:२३ बजे

काठमाडौं– पत्रकार तथा सञ्चारमाध्यमका कर्मचारीमाथि भएको कुटपिटको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । ललितपुरको कुपण्डोलस्थित आर्थिक दैनिकको कार्यालयमा भएको पत्रकार तथा कर्मचारीमाथि भएको कुटपिटको घटनाप्रति महासंघले एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गरेको हो। 
महासंघले सो घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन मागसमेत गरेको छ ।

आर्थिक दैनिककाअनुसार आइतबार राति मादक पदार्थ सेवन गरेका एक व्यक्ति कार्यालयमा छिरेका थिए । आफूलाई नेपाल प्रहरीका डीएसपी रतन खड्काको दाइ बताउने महेश खड्का भन्ने व्यक्ति एक्कासी कार्यालयमा प्रवेश गरी बिनाकारण त्यहाँ कार्यरत पत्रकार तथा कर्मचारीमाथि कुटपिट गर्नुका साथै तोडफोडको प्रयाससमेत गरेका थिए ।


सो घटनालगत्तै प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले खड्कालाई पक्राउ गरेपनि  सडकमा पु¥याएर तुरुन्तै छाडेको थियो । ‘यसरी तुरुन्तै छाडिनु दुःखद् विषय हो । महासंघ प्रहरीको यस्तो गैरजिम्मेवार कार्यको विरोध गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

कुनै पनि बहानामा यस किसिमले कुटपिट हुनु र कार्यालय तोडफोडको प्रयास हुनु निन्दनीय हुनुका साथै प्रेसविरोधी काम रहेको महासंघको ठहर छ । ‘महासंघ प्रेसविरोधी यस्ता कार्यमा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याउन र पत्रकार तथा सञ्चार माध्यमलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित पक्षसँग माग गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।


Author

थप समाचार
x