समाज

आँप बाँड्ने विषयलाई लिएर ढल्केबरमा कर्मचारीबीच मुक्का हानाहान

सुपरभाइजर यादवले गरे कर्मचारीकी पत्नीलाई अपशब्द र दुर्व्यवहार

इकागज |
असार २०, २०७९ सोमवार १९:५३ बजे

कार्यालय समयमा कार्यकक्षमै रक्सी, मासु खाइरहेका बेला मुक्का हानाहान भएपछि

काठमाडौँ- विद्युत् प्राधिकरणको ढल्केबर ग्रीड शाखाका सुपरभाइजर अनिलकुमार यादवले सोही कार्यालयको सवारी चालक समीर मगरको श्रीमतीलाई आँप बाँड्ने विषयमा विवाद हुँदा हातपात र अपशब्द प्रयोग गरी गालीगलौज गरेपछि प्राधिकरणले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

ग्रीड सञ्चालन विभागका सहायक प्रबन्धक अनन्त उप्रेतिको संयोजकत्वमा गठित छानबिन समितिमा विभागकै इन्जिनियर लक्ष्मणप्रसाद रेग्मी र काठमाडौं ग्रीड महाशाखाका प्रशासकीय अधिकत हरिकृष्ण पाण्डेय छन् । समितिले घटनास्थल पुगी दुईदेखि छानबिन गरिरहेको ढल्केबर ग्रीडका प्रमुख राजीवकुमार शर्माले इकागजलाई बताए । 


घटना यस्तो थियो

गत असार १५ गते ढल्केबर ग्रीड कार्यालयको कोलोनीमा कर्मचारीका परिवारहरुले बगैंचाको आँप टिपेर भाग लगाए । कार्यालय प्रमुख शर्माका अनुसार कर्मचारीका परिवारले आँप बाँड्ने क्रममा सुपरभाइजर यादव आफ्नो कोठामा थिएनन् । यादवको कोठामा उनको भागमा परेको आँप राखे । 

भोलिपल्ट कर्मचारीको परिवारले टिप्न नसकेका टुप्पो टुप्पोका आँप यादवहरुले टिपे । त्यो आँप उनीहरु आफैले राखे, अरुलाई बाँडेनन् । अघिल्लो दिन भागबण्डा लगाएको आँपलाई यादवले लात्ताले हानेर मिल्काइदिए ।

सवारी चालक मगरकी श्रीमतीले ‘दाई यो आँप यसरी किन फालिदिनुभयो ? कसैलाई दिनुभएको भए हुन्थ्यो नि’ भनिन् । मगरकी श्रीमतीले यति भन्दा यादवले ‘तँ ड्राइभरकी बुढी........... ड्राइभरको बूढीले मसँग कुरा गर्न कसरी आँट आयो ?’ भन्दै अपशब्द प्रयोग गरी गाली गलौज गरे । 

शर्माका अनुसार यो दृश्य कोलोनीका अरु कर्मचारीका श्रीमतीहरुले पनि देखिरहेका थिए ।

सवारी चालक मगरलाई उनको श्रीमतीले घटनाका सबै वृत्तान्त सुनाइन् । ‘मलाई श्रीमतीले रुँदै फोन गरिन्, भर्खरै सुत्केरी भएकी श्रीमतीमाथि हातपात हुँदा र अपशब्द प्रयोग गरेपछि मैले किन यस्तो गर्नुभएको भनेर सोध्न गएँ,’ मगरले इकागजसँग भने, ‘तर यादव भागे, हाजिर गरेर कोठामा गएको रहेछ ।’

मगरका अनुसार कोठामा बोलाउन जाँदा अरु चारजनालाई लिएर रक्सी, मासु खान लागेका थिए । ‘मैले तानेर बाहिर ल्याएपछि एक, दुई मुक्का हानाहान भयो,’ मगरले भने, ‘त्यसपछि घाइते भएको बहाना बनाई जनकपुर अस्पतालमा बसेका छन् ।’

मगरले प्रहरी केस गर्ने, महिला आयोगमा उजूरी हाल्ने बताएपछि यादव भागेको उनको भनाइ छ । कार्यालय प्रमुस शर्माले सुरुमा निजी अस्पतालमा भर्ना भएका यादवलाई प्रहरीलाई जाहेरी हाल्ने खालको रिपोर्ट बनाइदिन आग्रह गरेका थिए । निजी अस्पतालले मानेन । अस्पतालले तपाईंलाई केही भएको छैन, भोलि बिहानै डिस्चार्ज हुन्छ भनेपछि यादव घर जान मानेनन् । ‘त्यसपछि जनकपुर प्रादेशिक अस्पताल रिफर गरिदिन भने । बिरामीको आग्रहमा अस्पताललाई रिफर गरिदियो,’ शर्माले भने ।

ढल्केबर आइपुगेको छानबिन समितिले यादवलाई फोन गरी कार्यालयमा आउन आग्रह ग¥यो । ‘यादवले टोलिफोनमा आफू आउन नसक्ने बताएपछि छानबिन समिति अस्पताल पुग्यो । तर यादव बोल्न नसक्ने संकेत गर्दै बोलेनन् । पछि यादवले छानबिन समितिलाई बोलाए र साँझपख कुराकानी गरे,’ शर्माले भने । 

शर्माका अनुसार प्रहरी केस हुने र महिलालाई हातपात र अपशब्द प्रयोग गरी गालीगलौज गरेकाले आफूलाई कानुनी कारबाही हुने डरले यादवले कार्यालय प्रमुख र इन्जिनियर मिलेर आफूलाई कुटाएको आरोप लगाउने गरेका छन् । ‘घटनाको छानबिन भइरहेको छ, चित्त नबुझे अर्काे समिति पनि बन्छ, यो प्रकरण अब कानुनी कारबाहीतर्फ जान्छ’ शर्माले भने, ‘जो दोषी भेटिन्छ उसमाथि कारबाही हुन्छ ।’

आरोपी कर्मचारीको पक्षमा प्राधिकरण युनियन

यता आफ्नै कर्मचारीलाई कर्मचारीले नै कुटपिट गर्दा कार्यालय प्रमुख मूकदर्शक बनेको घटनाको नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनले आरोप लगाएको छ ।
युनियनका प्रदेश समिति सदस्य सुपरभाइजर अनिलकुमार यादवमाथि सांघातिक हमला भएको युनियनले आरोप लगाएको छ ।

उक्त घटनाको घोर निन्दा गर्दै युनियनले आज विज्ञप्ति निकाली भत्र्सना पनि गरेको छ । ‘कार्यालयको प्रांगणमा कर्मचारीहरुबीच विवाद हुँदा समन्वय गरेर विवाद समाधानतर्फ अग्रसर रहनुपर्ने कार्यालय प्रमुख स्वयं मूक दर्शक हुनुले विभिन्न शंका र उपशंका सिर्जना गरेको छ,’ युनियनका संयोजक रामेश्वरप्रसाद पौडेलेद्वारा हस्ताक्षरित विज्ञप्तिमा छ ।

घटनामा घाइते भएका यादवको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै युनियनले उक्त घटनाको निष्पक्ष छानबिनका लागि समिति गठन गर्न र दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ । ‘अन्यथा युनियन आन्दोलित हुन बाध्य व्यहोरा जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा छ । 
 


Author

थप समाचार
x