समाज

'बलात्कार पीडितहरुको मनोविज्ञान उस्तै हुँदैन, सबैकाे पीडा बुझ्नुपर्छ'

इकागज |
असार २१, २०७९ मगलवार १७:३१ बजे

काठमाडौँ- चिकित्सक करुणा कुँवरले सबै बलात्कार पीडितहरुको मनोविज्ञान एकै किसिमको नहुने भन्दै उनीहरुको पीडालाई सोही अनुरुप बुझ्नुपर्ने बताएकी छन्।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै चिकित्सक कुँवरले बलात्कार पीडितहरुको मनोविज्ञान फरक-फरक खालको हुने भएकाले उनीहरुको पीडालाई सोही अनुरूप बुझ्नुपर्ने बताएकी हुन् । उनले घटना भएको समयमा जस्तो लक्षणहरु देखापर्छ बिसौँ वर्ष पछिसम्म पनि त्यस्तै खालको लक्षणहरु देखा परिरहने सम्भावना रहने दाबी गरे ।


कुँवरले हिंसामा परेकाहरुलाई शारीरिक र मानसिक दुवै रूपमा लक्षणहरु देखापर्ने जिकिर गरिन् । उनले पीडितमा सामान्यतया डरलाग्दो सपनाहरु देख्‍ने, आत्तिने, डराउने, कुनै ठाउँमा जानुपर्दा साथी चाहिने र घरभित्रै घटना भएको हो भने घरभित्र बस्‍न पनि डराउने लगायतका लक्षणहरु देखापर्ने बताइन् ।

बैठकमा बोल्दै डा. सरोज ओझाले विद्यालयदेखि नै बलात्कारको सम्बन्धमा शिक्षा दिनुपर्ने उल्लेख गरिन् । उनले १८ वर्षभन्दा मुनि बलात्कार तथा यौनजन्य हिंसा सम्बन्धी शिक्षा दिएमा यस्तो घटनाहरुको न्यूनीकरण हुने बताइन् । उनले यस विषयलाई पाठ्यक्रममा नै समावेश गर्नुपर्ने जिकिर गरिन् ।

चिकित्सक सिर्जना कुँवरले यौन हिंसाका घटना परिवार तथा आफन्तहरु भित्रैबाट बढी हुने गरेको बताइन्। उनले आफूहरुले हेरेको केसहरु मध्ये एक प्रतिशत घटना मात्र अपरिचित मान्छेले गरेको पाइएको सुनाइन् ।

कुँवरले आफूहरुले गरेको अध्ययन अनुसार पीडकले आफू पावरमा आउनका लागि केही नराम्रो गर्नैपर्ने रहेछ भन्‍ने धारणा बनाएका कारण घटना घटाउने गरेको देखिएको जानकारी गराइन् । उनले बलात्कारको घटनामा हदम्याद राख्नु नहुने बताइन् । 

चिकित्सक विपिन थापाले कुनै पनि शिक्षाले बलात्कारको विषयमा नबुझाएको गुनासो गरे । उनले बलात्कार तथा यौनजन्य घटनाहरुमा महिलाहरुलाई नै दोषी देखाइने गरिएको भन्दै मानिसहरुको दृष्टिकोणमा परिवर्तन आउनुपर्ने धारणा राखे ।

समितिले यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि छलफल गरिरहेको छ । सोही सम्बन्धमा मंगलबारको बैठकमा मनोसामाजिक विज्ञ तथा चिकित्सकहरुसँग छलफल गरिएको हो ।


Author

थप समाचार
x