समाज

पत्रकार महासंघमा अध्यक्षका तीन उम्मेद्‌वार : कस्तो छ पत्रकारिता पृष्ठभूमि ?

विष्णु विश्‍वकर्मा |
चैत २३, २०७७ सोमबार १३:२३ बजे

काठमाडौँ : नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि तीन जना पत्रकार चुनावी मैदानमा छन्, पत्रकार विपुल पोखरेल, निर्मला शर्मा र गजेन्द्र बुढाथोकी । दुई जना प्यानल बनाएर अध्यक्षमा जिताउन भोट मागिरहेका छन् भने एक जना स्वतन्त्र रुपमा महासंघ हाँक्ने साहसका साथ मैदानमा छन् ।

स्वतन्त्र रुपमा पत्रकारहरुको छाता संस्था महासंघलाई पत्रकारकै रुपमा नेतृत्व दिलाउन गजेन्द्र बुढाथोकी अध्यक्षको उम्मेद्‌वार बनेका छन् । यस्तै निर्मला शर्मा प्रगतिशील-समावेशी प्यानलबाट अध्यक्षको उम्मेद्‌वार बनेकी छन् । प्रेस चौतारीले उनलाई पहिलोपटक महासंघको अध्यक्षमा उम्मेद्‌वार बनाएको हो ।


लोकतान्त्रिक-प्रगतिशील-समावेशी प्यानलबाट विपुल पोखरेल अध्यक्षको उम्मेद्‌वार छन् । लोकतान्त्रिक भनिएको यो प्यानलमा प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (खनाल-नेपाल) समूहको गठबन्धन छ । बुधबार हुने महासंघको चुनावमा यी तीन जना उम्मेद्‌वार भोट माग्‍न व्यस्त छन् । पत्रकार महासंघ दलीय संगठनका पत्रकारको कब्जामा रहेको आरोप लागिरहेका बेला यी तीनै जना उम्मेद्‍वारको पत्रकारिता पृष्ठभूमि कस्तो छ ? हेरौँ :

विपुल पोखरेल
द्वन्द्वकालमा दाङबाटै पत्रकारिता सुरु गरेका विपुल पोखरेल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष हुन् । उपाध्यक्षबाटै महासंघको अध्यक्ष बन्‍ने लाइनमा रहेका पोखरेल मोफसलमा बसेर पत्रकारिता गर्ने, पत्रकारलाई हौसला दिने, तालिम दिने, सञ्चार संस्था खोल्ने र पत्रकारिताको दायरा फराकिलो बनाउने व्यक्ति हुन् ।

दाङबाट प्रकाशित हुने ‘दृष्टिकोण’ साप्ताहिकबाट पत्रकारिता सुरु गरेका पोखरेलले राप्ती उपत्यकालाई आफ्नो पत्रकारिताको ‘कोर एरिया’ बनाए । दाङपछि काठमाडौँ आएर उनले घटना र विचार, जनमञ्च, हिमालय टाइम्स, नागरिक दैनिकलगायतका पत्रिकामा पनि काम गरे । तर उनले अधिकांश समय दाङमै बिताए । दाङमा राप्ती सन्देश, रेडियो स्वर्गद्वारी र गोरखक्ष पत्रिकामा उनले आफ्नो अमूल्य समय दिए । दाङ काठमाडौँ गरिरहने उनको सदस्यता पनि दाङबाटै छ ।

नेपाल प्रेस काउन्सिलमा एकपटक पदाधिकारी सदस्यसमेत रहेका उनी पत्रकारिता विषयका अध्यापक पनि हुन् । महासंघमा आफ्नो जितका लागि सबैभन्दा ठूलो गठबन्धन खडा गरेका पोखरेल चुनाव जितेपछि पत्रकार हकहितका लागि अभियान चलाउने, संघीयतानुसार पत्रकारको क्षमता विकास गर्ने उनका चुनावी एजेन्डा छन् ।

उनका एजेन्डाकै कुरा सुन्‍ने हो भने त पत्रकारहरुका लागि अस्पतालसमेत बनाउने योजना रहेको सुनाउँछन् । ‘पत्रकार महासंघलाई थप व्यवस्थित, प्रभावकारी, पत्रकारको संस्था र स्वतन्त्र बनाउन हामी अभियान नै चलाउँछौँ’ पोखरेल भन्छन्, ‘त्यतिमात्र होइन, पत्रकारका लागि अस्पताल बनाउने र व्यवसायिक पत्रकारलाई हरसम्भव सक्षम बनाउन सबै प्रयासहरु गर्छौँ ।’

निर्मला शर्मा
नेपाल पत्रकार महासंघमा अध्यक्षमा उम्मेद्‌वारी दिने निर्मला शर्मा  सञ्चारिका समूहकी पूर्व अध्यक्ष हुन् । उनको  इतिहास यति मात्रै होइन्, नेपाली पत्रकारितामा संसदीय, राजनीतिक रिर्पोटिङ गर्ने महिला पत्रकारमा पनि उनी अग्रणाी हुन्  ।

जसरी नेपाली पत्रकारितामा महिलाको उपस्थिति र सहभागिता उल्लेख्य छ, त्यसका लागि बीउ रोप्‍ने र मैदान बनाउने काम उनैले गरेकी हुन् । सञ्चारिका समूहकी पूर्व अध्यक्षसमेत रहेकी शर्मासँग पत्रिका, रेडियो, टेलिभिजनमा काम गरेको अनुभव छ । पोखराबाट पत्रकारिताकै लागि काठमाडौँ आएकी शर्माले सुरुमा श्री सगरमाथा दैनिकबाट पत्रकारिता सुरु गरेकी हुन् ।

त्यसपछि उनले रेडियो नेपाल, नेपाल समाचारपत्र दैनिक, सगरमाथा रेडियो, उज्यालो रेडियो नेटवर्क र कान्तिपुर टेलिभिजनमा काम गरिन् । समकोण टेलिभिजन कार्यक्रम सगरमाथा टेलिभिजनबाट प्रसारण हुन्छ । सञ्चारिका समूहबाट पत्रकार महिलाको उत्पादन, क्षमता अभिवृद्धि र राष्ट्रिय मिडियामा टिकेर काम गर्ने वातावरण बनाउन लामो समय शर्माले वकालतको काम गरिन् ।

देशभर पत्रकार महिला र महिलाका विषयको खोज रिर्पोटिङका लागि उनले थुप्रै तालिमहरु सञ्चालन गरेकी छिन् । पत्रकार महासंघको अध्यक्षमा उम्मेद्‌वारी दर्ता गराएसँगै उनी चुनाव जितेर इतिहास रच्‍ने दाउमा छिन् । ‘चुनौतीपूर्ण समयमा पत्रकारिता सुरु गरेर अहिले पनि पत्रकारितामै सक्रिय छु’ निर्मला भन्छिन्, ‘पत्रकारको व्यवसायिक हक, हित र क्षमता अभिवृद्धि अनि नयाँ मिडियालाई अगाडि बढाउने विषयमा पनि गम्भीर रुपमा योजना बनाएर काम गर्छु ।’

गजेन्द्र बुढाथोकी 
नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनमा सबैभन्दा बलियो पत्रकारिता पृष्ठभूमि भएका अध्यक्षका उम्मेद्‌वार हुन्, गजेन्द्र बुढाथोकी । उदयपुरबाट पत्रकारिता सुरु गरेका बुढाथोकी अहिले पनि दैनिक समाचार लेख्छन् । टक्सार मिडिया नेटवर्कले सञ्चालन गरेको लुम्बिनी सञ्चार डटकम र टक्सार म्यागजिनका उनी ग्रुप सम्पादक हुन् । २५ वर्षअघि उदयपुरको त्रियुगा अर्धसाप्ताहिकबाट उनले पत्रकारिता सुरु गरेका थिए । 

उदयपुरपछि उनी विराटनगरमा २०५२ सालमा लोकपत्र दैनिकमा काम गरे । त्यसपछि उनले देउराली पत्रिकामा केही समय काम गरे । त्यसपछि उनको पत्रकारिता यात्रा काठमाडौँतर्फ मोडियो । जसको सुरुवात उनले नेपाल समाचारपत्रबाट गरे । २०५४ सालमा बुढाथोकी काठमाडौँ आएका थिए ।

विराटनगरमा संवाददाताका रुपमा र काठमाडौँ आएपछि उनले झण्डै १० वर्ष नेपाल समाचारपत्रमा बिताए । त्यसपछि उनी राजधानी दैनिकमा कार्यकारी सम्पादकका रुपमा झण्डै एक वर्ष काम गरे । राजधानीपछि उनले केही समय अनलाईन मिडियामा पनि काम गरे ।

२०६५ सालमा दैनिकी अनलाइन मिडियामा उनले पत्रकारिता गरे । जतिबेला नेपालमा अनलाइन मिडिया भर्खर सुरुवात भएका थिए । त्यसपछि उनी फेरि प्रिन्टमै फर्किए । कारोबार दैनिकमा झण्डै १० वर्ष उनले सम्पादकका रुपमा काम गरे । नेपाली आर्थिक पत्रकारितामा आफूलाई स्थापित गरेका बुढाथोकीले कारोबारबाटै आफ्नो पृष्ठभूमि झन बलियो बनाएका थिए ।

त्यसपछि उनी न्युजकारोबार अनलाइनमा सम्पादकका रुपमा काम गरे । पछिल्लो केही समययता उनी लूम्बिनी सञ्चार अनलाइन र टक्सार म्यागजिनमा सम्पादकका रुपमा कार्यरत छन् । आफूलाई ‘भुईमान्छे’ भन्‍न रुचाउने बुढाथोकी अपांगता भएका व्यक्तिसमेत हुन् । सम्भवतः ह्वीलचियर चढेर सम्पादक पदमा काम गर्ने बुढाथोकी पहिलो पत्रकार हुन सक्छन् । उनी पत्रकार महासंघमा अपांगता क्षेत्रबाट अध्यक्षमा उम्मेद्‌वारी दिने पनि पहिलो व्यक्ति हुन् ।

पत्रकार महासंघलाई पत्रकारहरुको संस्था बनाउने र दलीय सिण्डिकेट अन्त्य गर्ने उनको मूल मुद्दा हो । भन्छन्, ‘पत्रकार महासंघलाई स्वतन्त्र, निष्पक्ष, पत्रकारको हक हित र व्यावसायिक पत्रकारितालाई प्रवर्द्धन गर्न अध्यक्षमा उम्मेद्‌वारी दिएको हुँ । पत्रकारिताको मर्म बुझ्‍ने सबै पत्रकारको साथ, सहयोग र भोट पाउँछु भन्‍ने आशा छ ।’

र, यो पनि
- पत्रकार महासंघको चुनावमय बन्यो सामाजिक सञ्‍जाल


Author

थप समाचार
x