समाज

प्रकृतिमाथि आक्रमण

डाँडै खायो पहिरोले... (तस्बिरहरू)

इकागज |
असार २५, २०७९ शनिबार १३:५१ बजे

प्रकृतिमाथि जति आक्रमण गर्‍यो त्यति नै आक्रमण हामीलाई प्रकृतिले गर्छ । हामी जति प्रकृतिको दोहन गर्छौं, सजायस्वरुप प्राकृतिक विपद्का घटनाहरू बढ्दै जान्छन् । अर्थात् जब मानवता हराउँछ, तब प्रकृतिको स्वरुप पनि बदलिन्छ ।


प्राकृतिक स्रोतमाथिका दोहनले प्रकृति त कुरुप बन्छ नै साथमा हाम्रो समाज र समाजमा रहेका प्राणीहरूको पनि अस्तित्व सकिन्छ । किनभने प्रकृति नै नरहे मानिस र मानवताको अर्थ रहँदैन । मानिसले आफ्नो शारीरिक लाज छोप्न कपडा त लगाएका छन् तर प्रकृतिको अलौकिक गहना उतारेर प्रकृतिलाई नङ्गाइरहेका छन् ।  प्रकृतिमा रहेका मानिसले नै प्रकृतिलाई नष्ट गरिरहेका छन् । चुरे, नदीनाला, वन, वातावरणको दोहनका कारण अहिलेको समाज रङ हराएको समाजमा परिणत भएको छ ।

देशका मुख्य सहरको त कुरै छोडौं  गाउँका वन, जंगलहरू पनि उजाड छन् । प्राकृतिक स्रोतको दोहनका कारण नै देशले अहिले जलवायु परिवर्तनजन्य विपद्को सामना गरिरहेको छ । समग्रमा भन्दा प्राकृतिक स्रोतहरू मासिँदै छन् । काठमाडौँ उपत्यकाको त कुरा नै गर्नु पर्दैन । हराभरा त छैन नै टाढा डाँडाकाँडा र वनजंगलहरूको समेत दोहन भइरहेको छ ।

ललितपुरको टिकाभैरव,नल्लु, देवीचौर र लेले क्षेत्रलाई यसको नमूनाका रुपमा लिन सकिन्छ । यहाँस्थित वनजंगल भित्र पनि ढुंगा खानी र क्रसर उद्योगले वन फँडानी हुँदा उजाड छन् । यहाँबाट उभिएर हेर्दा डाँडापाखा पहिरोले बगाएझैँ विरक्त देखिन्छन् ।

बस्ती बाढीले बगाएको बगरजस्तो छ । वर्षौं अघिदेखि चल्दै आएका ढुंगा खानी र क्रसर उद्योगले यहाँको यस्तो हालत भएको हो । नीजि जग्गामा सञ्चालित खानी र क्रसरले पछिल्लो समय सीमा मिचेर खोला र जंगल मासेका छन् । ढुंगा खानी निजी जग्गा छोडेर जंगल पसेपछि अवस्था विकराल बनेको छ ।

खानीले खोतलेको पहाडमा पछिल्लो समय अनगिन्ती पहिरो जाँदा जंगल मासिएको छ । तर पनि स्थानीय सरकार भने मौन छ । सरकारको मौनताले नै बुझ्न सकिन्छ, कि देशका विभिन्न स्थानमा प्रकृतिमाथि कस्तो हस्तक्षेप भइरहेको होला ? सरकार, समाज र सरोकारवाला निकाय सबै मिलेर प्रकृतिको संरक्षण नगर्ने हो भने भावी दिनमा हराभरा भूमि बाँझो र कंक्रीट बन्ने अवस्था सिर्जना नहोला भन्न सकिँदैन । त्यसैले प्रकृति केवल मानव जातीको लागि बनेको हो भन्ने भ्रम छोडेर जगतका सबै प्राणीको लागि यसको संरक्षण गर्नेतर्फ लाग्नुपर्छ ।

तस्बिरहरू : न्यूज एजेन्सी नेपाल 


Author

थप समाचार
x