समाज

गुरुपूर्णिमा

बीस वर्षदेखिकी गुरु रेबिका तीस बालबालिकाकी आमा (भिडिओ)

सृजना खड्का |
असार २९, २०७९ बुधबार १६:४३ बजे

सडकमा साझा बस लिएर निस्किँदा रेबिका थापालाई कसैले ‘थम्स अप सिग्नल’ देखाउँछन्, कसैले ‘फ्लाइङ किस’ गर्छन् । कोही उनले गाडी हाँकेको देखेर छक्क पर्दै एकटकले हेरिरहन्छन् । कोही मुस्कुराउँदै हिँड्छन् । २० वर्षयता ड्राइभिङ यात्रामा रेबिकाले यस्ता खाले थुप्रै प्रतिक्रिया पाएकी छिन् । कति प्रतिक्रियाले उनलाई हौस्याए । केहीले हातोत्साहित गरे ।

रेबिकाको अनुभवमा महिलाले गाडी चलाएको देख्दा ‘राम्रो गर्‍यौ’ भन्दै थम्स अप गर्ने र फ्लाइङ किस दिनेहरू धेरै छन् । तर, आफ्नै श्रीमती वा दिदीबहिनीले यो काम गर्न खोज्दा उनीहरूलाई कसैले प्रोत्साहन गर्दैन ।  ‘केही दिदीबहिनीले ड्राइभिङ गर्छु भन्दा ‘केही काम नपाएर ड्राइभर बन्न जा’ भनेको मैले सुनेको छु,’ तीतो अनुभव पोख्दै रेबिकाले भनिन्, ‘महिलाले बाटोमा गाडी लिएर हिँड्दा ‘कस्तो राम्रो !’ भन्ने समाज र परिवारले खानै नपाए पनि महिलाले ड्राइभिङ गरोस् भन्ने चाहँदैन ।’ 


बुटवलकी रेबिका थापा २१ वर्षको हुँदा ड्राइभिङतिर लागिन् । सुरुमा ट्याम्पो चलाइन् । बिस्तारै माइक्रो, हायस हुँदै ठूलो गाडी चलाउन थालिन् । रेबिकाले ड्राइभिङ सुरु गर्दा यो पुरुषहरूले गर्ने काम भन्ने मान्यता थियो । महिलाले जिन्स प्यान्ट लगाउँदा पनि कुरा काट्ने समय थियो । थोरै महिलाहरूले मात्रै ड्राइभिङ पेसा अँगाल्ने हिम्मत राख्थे । उनलाई कसैले ‘गुन्द्रुकको झोलमा जात फ्याली’ भन्थे । कसैले ‘जोसँग पनि हाँसेको छ बोलेको छ’ भनेर कुरा काट्थे । विभिन्न प्रश्न तेर्स्याउँथे । हरेक पटक यस्ता कुरा सुन्दा रेबिका मनलाई ढुङ्गा जस्तो दह्रो बनाउँथिन् । ‘त्यो बेला केटाहरूको हुलमुलमा पसेर ड्राइभिङ गर्ने काम चानचुने थिएन,’ उनले सुनाइन्, ‘दिनभरि काम गरेर बेलुका घर फर्किंदा मान्छेहरूले के सोच्छन् होला भन्ने लागिरहन्थ्यो ।’


 
साझाको साँचो
२०७० सालमा साझा यातायात सेवा पुनः सुचारु हुने खबर रेबिकाले पाइन् । साझा चलाउने हुटहुटीले उनले हेबी गाडीको लाइसेन्सका लागि निवेदन दिइन् । ट्याम्पु त उनले दुई दिनमै सिकेकी थिइन् । कारको २४ दिने कोर्स लिइन् । ‘केटीहरूलाई हत्तपत्त कार दिन डराउने जमाना थियो,’ उनले सुनाइन्, ‘पैसा हालेर सिक्न जाँदा पनि दिनको १५ मिनेट मात्रै चलाउन दिन्थे । त्यसैको भरमा मैले हेबी गाडी हाँकेँ ।’

हेबी गाडीको ट्रायल दिन जाँदा उनीसँगै गएका थुप्रै पुरुष साथीहरू फेल भए । तर, उनी पास भइन् । लाइसेन्स हातमा परेपछि उनले साझासँग सम्पर्क गरिन् । तर साझामा गाडी चलाउन लाइसेन्स निकालेको पाँच वर्ष हुनुपर्थ्याे । तैपनि, उनले आफ्नो कुरा राखेकी थिइन् । धेरै समयसम्म फोन नआएपछि लाइसेन्सकै कारण होला भनेर उनले आश मारिन् । तर, एकदिन उनलाई साझाबाट फोन आयो । गाडीको ट्रायल र रुट टेस्ट गर्न लगाइयो । रेबिका दुवैमा पास भइन् । रेबिकाको आत्मविश्वास देखेर अध्यक्ष कणकमणि दीक्षितले साझाको साँचो रेबिकाको हातमा थमाइदिए । त्यो क्षण उनी निकै भावुक भइन् । ‘पढेलेखेका मान्छेका लागि साझाको साँचो हातमा पर्नु खासै ठूलो कुरा नहोला,’ उनले भनिन्, ‘तर, मेरा लागि त्यो जिन्दगीको सबैभन्दा ठूलो सफलता थियो ।’

‘डिप्रेसनसँग जुध्न ड्राइभिङ सिक्नुहोस्’
उनले ड्राइभिङ सुरु गर्दा यात्रुहरू सकेसम्म महिलाले चलाएको ट्याम्पो होस् वा गाडी चढ्न खोज्दैनन्थे । छोरी मान्छेले चलाएको गाडी सुरक्षित हुँदैन भन्थे । सकेसम्म चढ्न नपरोस् भन्ने ठान्थे । तर, यो सोच विस्तारै परिवर्तन हुँदै गएको उनले पाएकी छिन् । रेबिका आफैँलाई पुरुषभन्दा महिलाले हाँकेको गाडी सुरक्षित लाग्छ । ‘महिलाहरूले बिस्तारै राम्रोसँग चलाउँछन्,’ उनले भनिन्, ‘केटाहरू उस्तै परे ड्रिंक्स गरेर चलाउँछन् । हामीले चलाउँदा न ड्रिंक्स गर्छौँ न स्मोक । उनीहरूभन्दा हामीले चलाएको गाडी सुरक्षित हुन्छ ।’ 

रेबिकाले शिक्षकहरू तलब कम भएर ड्राइभिङ गर्न आएको देखेकी छिन् । डिग्री पढ्नेदेखि रिटायर्ड भएका सुरक्षाकर्मीहरूले ड्राइभिङ पेसा अँगालेको भेटेकी छिन् । ड्राइभिङ पेसामा महिलाहरूलाई आउन रेबिकाको आग्रह छ । ‘धेरै महिलाहरू घरमा एक्लै डिप्रेस्ड भएर बसेका हुन्छन्,’ उनले भनिन्, ‘ड्राइभिङ ग¥यो अनेकथरी सोच्ने फुर्सद हुँदैन । डिप्रेसन भएका मान्छेलाई पनि ड्राइभिङले सन्चो बनाइदिन्छ ।’

कहिलेकाहीँ घरबाट मुड अफ भएर निस्किएकी रेबिका कामबाट घर फर्किंदा फ्रेस भएर फर्किन्छिन् । ‘बाहिर थुप्रै खालका प्यासेन्जर भेटिन्छन्,’ उनले भनिन्, ‘उनीहरूसँग कुरा गर्दा, हाँसोठट्टा गर्दा सबै कुरा बिर्र्र्सिएर फ्रेस भइन्छ ।’

ड्राइभरलाई किन हेप्ने ?
ड्राइभिङ पेसामा रमाइलोसँग चुनौती पनि उत्तिकै रहेको रेबिकाको अनुभव छ । यो पेसालाई मानिसहरूले सम्मानपूर्वक नहेरेको देख्दा उनलाई दुःख लाग्छ । ‘हामीलाई विदेशमा ड्राइभरलाई सम्मान गरेको देख्दा राम्रो लाग्छ,’ उनले भनिन्, ‘तर, त्यही कुरा यहाँ लागू गर्न खोज्दैनन् । पब्लिक ड्राइभरको कुरै छाडौँ आफ्नै प्राइभेट ड्राइभरलाई पनि हेप्छन् ।’

महिलाले ड्राइभिङ गर्दा स्टेजमा भाषण गर्नेहरू हुन्छन् । तर, तिनै मान्छेले घरमा आफ्ना ड्राइभरलाई माया र सम्मान नगरेको उनले देखेकी छिन् । ‘ठूलाबडा/पढेलेखेका भनाउँदाको घरमा कुकुरको नाम हुन्छ, ड्राइभरको हुँदैन,’ रेबिकाले भनिन्, ‘कुकुरलाई १० ओटा नामले बोलाउँछन् । ड्राइभरको नाम नै भए पनि ‘ए ड्राइभर’ भनेर बोलाउँछन् । मान्छेहरूका अगाडि उनीहरूले गाडी पुछिराखे हुन्थ्यो भन्ने सोच्छन् ।’

उनको नजरमा सडकमा गाडी लिएर हिँड्ने सबै ड्राइभर नै हुन् । ‘मान्छे आफ्नो गाडी चलाउँदा मालिक अर्काको गाडी चलाउँदा ड्राइभर हुने होइन,’ उनले भनिन्, ‘उनीहरूले ड्राइभिङलाई सोखको आधार बनाए हामीले जिउने आधार बनायौँ । फरक त्यति हो ।’

रेबिकालाई मन्त्रीदेखि प्रधानमन्त्रीसम्म सबैको इज्जत ड्राइभरले धानेको जस्तो लाग्छ । ‘हामीले गाडी नचलाउने हो भने उनीहरू आफैँले ड्राइभिङ गरेर हिँड्नुपर्छ,’ उनले भनिन्, ‘आफ्नो इज्जत जोगाउनेलाई उनीहरूले सम्मान गर्नुपर्छ कि पर्दैन ?’ 

सम्मान नै नमिल्ने यो पेसामा रेबिका दुई दशकसम्म टिक्नुमा केही कारण छन् । उनलाई काम सानो–ठूलो लाग्दैन । अरुले इज्जत नगरे पनि उनी आफ्नो पेसालाई इज्जत गर्छिन् । ‘मेरो यही कामले गर्दा कसैसँग हात थाप्दै हिँड्नु परेको छैन,’ उनले भनिन्, ‘मैले यही पेसाबाट आफ्नो लागि मात्रै नभएर अरुका लागि पनि खर्च पुर्‍याइरहेकी छु ।’ 


 
ड्राइभिङदेखि सामाजिक कार्यसम्म
रेबिकालाई सामाजिक काममा पनि उत्तिकै लगाव छ । ट्याम्पु चलाउँदादेखि नै उनी सकेको समाज सेवा गर्थिन् । ड्राइभिङ पेसा अँगालेपछि त झन् उनले कहिल्यै मागेर खानुपरेन । बरु हात फैलाएर बाँच्न सिकिन् । अहिले उनले विवेक स्वच्छ सेवा केन्द्र दर्ता गरेर ३० जना सडक बालबालिकाको लालनपालन गरिरहेकी छिन् । विवेक उनका छोराको नाम हो । प्लस टु सकेर इन्जिनियरिङको तयारी गरिरहेका १८ वर्षे छोरा उनले अकालमा गुमाउनु परेको थियो । वैवाहिक जीवनबाट टाढा भएकी रेबिका त्यसताका फेरि एकपटक एक्लो भएकी थिइन् । 

रेविकाको संघर्षको सहारा थिए, छोरा विवेक । ‘तपाईं र म जस्तै परिवारले नहेर्नेलाई हामीले हेर्नुपर्छ है भन्थ्यो,’ उनले सम्झिइन्, ‘स्कुलमा कुनै साथीलाई अप्ठ्यारो पर्दा टिफिन खर्चबाट उनीहरूलाई दिन्थ्यो । ठूलो भएपछि आश्रम बनाउनुपर्छ भन्थ्यो ।’ त्यही छोराको सपनालाई रेबिकाले विपनामा बदलिदिएकी छिन् । केही वर्ष पहिले दोस्रो बिहे गरेकी रेबिकाको अहिले साढे तीन वर्षे छोरा छन् । 

विवेक बितेपछि रेबिकाले केही समय साझाको यात्राबाट ब्रेक लगाइन् । पछि कहिले साथीभाइको गाडीमा टिप गर्न थालिन् । कहिले रिजर्भ लिएर गुड्न थालिन् । संस्था स्थापना गरेपछि धेरैजसो उनी त्यसमै व्यस्त हुन थालिन् । 


 
केही दिनअघि साझाले तीनवटा विद्युतीय बस सञ्चालनमा ल्यायो । साझाकी अनुभवी चालक पनि भएको हिसाबले साझाले पुनः रेबिकालाई नै रोज्यो । उनी अहिले फेरि साझातिरै फर्किएकी छिन् ।​

भारतको त्यो यात्रा
हालसालै रेबिका भारत गएकी थिइन् । ट्राफिक नियम, सडकको अवस्था र सवारी व्यवस्थापनबारे बुझ्न । उनलाई त्यहाँको रुटमा गाडी चलाउने अफर पनि आएको थियो । दिल्लीदेखि काठमाडौँ भए उनी चलाउने पनि थिइन् । तर, रुपैडियादेखि गोवासम्मको रुटको परेकाले उनले त्यहाँ काम गरिनन् । ‘घर–परिवार यतै भएकाले त्यो रुट काम गर्न सम्भव भएन,’ उनले भनिन्, ‘तर, त्यहाँ गएर धेरै कुरा सिक्ने मौका पाएँ ।’

रेबिका त्यहाँको नियम देखेर छक्क परिन् । ‘हाम्रोमा लामो दूरीको गाडी चढ्दा भोलिपल्ट ज्यान दुखेर मर्नु हुन्छ, त्यहाँ गाडीमा फोल्ड गरेर सुत्ने, पर्दा लगाएर लुगा फेर्न मिल्ने सुविधा हुँदो रहेछ,’ उनले भनिन्, ‘चालक र सहचालकमा एकदमै अनुशासन छ । प्यासेन्जरलाई प्लेनमा जस्तो आदर गरेको पाएँ ।’

त्यहाँ ड्राइभरको ड्यासबोर्डमा अरु बसेको रेबिकाले देखिनन् । ‘यहाँ खाना खान, ट्वाइलेट जान गाडी रोक्दा जान मन लाग्ने जान्छन्, जान मन नलाग्ने जाँदैनन्,’ उनले भनिन्, ‘त्यहाँका सहचालकले कोही ओर्लियो कि ओर्लिएन खाना खायो कि खाएन, सन्चो बिसन्चो के छ सबै ख्याल राख्ने रहेछ । त्यो कुरा मलाई एकदमै मन पर्‍यो ।’


 
नेपालको ड्राइभिङ क्षेत्रमा यस्तै खालको परिवर्तन चाहन्छिन्, रेबिका । ‘तर, हाम्रोमा यात्रु चढाउन र ओराल्न पनि हतार हुन्छ,’ उनले भनिन्, ‘कोही वादविवाद हुँदा सार्वजनिक गाडीवालाले ‘यस्तो मान्छे प्राइभेट गाडीमा चढ्नू’ भन्दै धम्काउँछन् ।’ नेपालको ड्राइभिङ क्षेत्रमा सबैभन्दा पहिला अनुशासन र बोलिचाली सिकाउनुपर्ने देखिएको उनले बताइन् । सानो कुरा नमिल्दा ड्राइभर, सहचालक र यात्रुबीच हानाहान–कुटाकुट हुने भएकाले यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस् भन्ने रेबिका चाहन्छिन् । 

 

(भिडिओः आधार बाबु खतिवडा)
(तस्विरहरूः रेबिका थापाको फेसबुकबाट)


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x