समाज

मंगलबारसम्म पानी पर्ने सम्भावना

इकागज |
साउन ८, २०७९ आइतबार १०:११ बजे

फाइल तस्बिर

काठमाडौँ- आगामी मङ्गलबारसम्म वर्षा हुने भएको छ । मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ  । विभागका मौसमविद् प्रतिभा मानन्धरका अनुसार यो क्रम आगामी मङ्गलबारसम्म कायम रहनेछ ।

उनका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेता पनि मनसुनी वायुको प्रभावले अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका सम्भावना रहेको छ । हाल लुम्बिनी, गण्डकी र प्रदेश नंका केही भू–भागमा सामान्यदेखि पूर्ण बदली रही मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने देशका अन्य भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।


रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही देशको केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको बताइएको छ ।

सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव आठ डिग्री र अधिकतम तापक्रम ३० दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।


Author

थप समाचार
x