समाज

सात दिनमा नौ जना फरार प्रतिवादी पक्राउ

इकागज |
चैत २६, २०७७ बिहीबार ११:१६ बजे

कञ्चनपुर : विभिन्न मुद्दाका फरार नौ प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको छ । एक साताको अवधिमा प्रहरीले नौ प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकामध्ये केहीलाई कञ्चनपुर जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ भने केहीलाई अदालतमा उपस्थित गराई जरिवाना तिराई छाडिएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार चेक अनादर मुद्दामा दोषी ठहर भएका भीमदत्त नगरपालिका–१८ का २४ वर्षीय अनिल रिजाल, लागुऔषध मुद्दाका भीमदत्त नगरपालिका-३ का २३ वर्षीय दिवश कुँवर, चोरी मुद्दाका पुनर्वास नगरपालिका–६ का मनिष विकलाई पक्राउ गरी अदालतमार्फत कैद भुक्तानका लागि कारागार चलान गरिएको छ । 


यसैगरी अंश मुद्दाका फरार प्रतिवादी कृष्णपुर नगरपालिका-६ का उदयराज जोशी, जयराज जोशी र धनिराज जोशीलाई अदालतमा उपस्थित गराई जरिवाना तिराई छाडिएको छ ।

भ्रष्टाचार मुद्दाका भीमदत्त–४ का महिमान सिंह विष्टलाई समेत जरिवान तिराई छाडिएको छ । मानव बेचविखन तथा ओसारपसार कसुर मुद्दामा वारदातपश्चात् भागी फरार रहेका प्रतिवादी पुनर्वास–६ का २४ वर्षीय चन्द्र विक सुनार, वर्ष २२ का आशा सुनार र सोही ठाउँ बस्ने वर्ष २४ का गुड्डु सुनारको हकमा अदालतबाट पक्राउ पुर्जी जारी भई खोजतलास भइरहेको छ ।

फरार प्रतिवादीमध्ये चन्द्र विकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सवारी ज्यान मुद्दामा तीन वर्षदेखि फरार पुनर्वास-९ बिचफाँटाका ४५ वर्षीय लिला सुनार र वर्ष २४ का सागर विकको हकमा अदालतबाट पक्राउ पुर्जी जारी भएकोमा सागर विकलाई प्रहरीले पक्राउ गरेको छ । 


Author

थप समाचार
x