समाज

काठमाडौँमा खोइ खुल्ला ठाउँ ? सप्पै घरले खाए !

उपेन्द्र अर्याल |
साउन १५, २०७९ ९:३० बजे

काठमाडौँ– ‘बाबा आज छुट्टी छ, कतै घुम्न जाऔँ न,’ काठमाडौँ घट्टेकुलो बस्ने बाबुराज बस्नेतलाई छोराले छुट्टी भयो कि सधैँ यसै भन्छन् । छोरालाई कतै घुमाउन/खेलाउन लैजान पाए हुन्थ्यो भन्ने उनलाई पनि लाग्छ । तर, लैजाने कहाँ ? न नजिकै खेल्ने चउर छ न खुल्ला ठाउँ । पार्क त परको कुरा । बच्चालाई हिँडाउन सडकका पेटीसमेत फराकिला छैनन् । काममा व्यस्त हुने भएकाले टाढा लैजान पनि उनीसँग समय हुन्न । ‘टाढा लैजाउँ दिन बित्छ,’ उनी भन्छन्, ‘नजिकै कतै खाली जमिन छैन । उसले घुम्न जाउँ भन्दा अन्तै विषय मोडेर उसलाई अलमल्याउनु परिरहेको छ ।’ 

केटाकेटी खेल्ने पार्क हरेक ठाउँमा हुनुपर्ने उनको भनाइ छ । ‘जमिनमा खेल्न पाउँदा उनीहरूको मांशपेसी बलियो हुन्छ,’ उनले भने, ‘एकछिन खेल्न पाउँदा आफूलाई फूर्तिलो महसुस गर्छन्, नानीहरूले । तर, आजकाल सहरमा त्यो सुविधा पाउन मुस्किलमात्रै होइन, असम्भव छ ।’ 


चाबहिल बस्ने हरिमाया श्रेष्ठ आप्mनो नाति खेलाउन नजिकैको स्तूपामा ल्याउँछिन् । छोरा–बुहारी जागिरे भएकाले नाति हेर्ने जिम्मा उनैको छ । ‘छोरा बुहारी जागिरे छन्,’ उनले भनिन्, ‘नातिले सँधै खेलाउन लैजानु भनेर कचकच गर्छ । टाढा लैजान सक्दिनँ । त्यसैले प्रायः यहाँ लिएर आउछु ।’ 

तर, स्तूपामा पनि खेल्ने ठाउँ छैन । स्तुपाको वरिपरी घुम्नलाई मात्र अलिकति खुल्ला ठाउँ छ । छेउमा बस्न बेन्च राखिएको छ । भुँइमा ढुङ्गा छापिएको छ । त्यही साँघुरो ठाउँमा खेल्छ हरिमायाको नाति । नाति कतिबेला ढुङ्गामा पछारिन्छ भन्ने चिन्ताले उनी चनाखो भएर बसिरहन्छिन् ।  ‘नजिकै खेल्ने पार्क भएको भए केटाकेटीलाई खेलाउन सजिलो हुन्थ्यो,’ उनलाई पनि लाग्छ, ‘अब त पार्क बनाउने जमिन पनि छैन् । माटोमा खेल्दा, पछारिँदा पो केटाकेटीका हात–खुट्टा मजबुत हुन्थे । तर, अहिले त घरभित्रै मात्रै हुन्छन् । शरीर पनि लुलो हुन्छ ।’ 

काठमाडौँमा केटाकेटीका लागि खुल्ला ठाउँ ‘मिस’ गर्ने यी दुई मात्रै होइनन् । काठमाडौँका हरेक अभिभावक आफ्ना नानीहरूलाई खेलाउने ठाउँ नभएर घरभित्रै राख्न बाध्य छन् । नानीहरूले खेल्न जाउँ भन्दा मोबाइल र खानेकुरा दिएर अलमल्याइरहेका छन् । बालबालिका मात्रै होइन, ज्येष्ठ नागरिकसमेत बाहिर जम्मा भएर गफ गर्ने ठाउँ नहुँदा घर भित्रै बसेर दिन बिताउन बाध्य छन् । टुँडिखेल, खुल्ला मञ्च लगायतका कतिपय मैदानहरू सरकारी संस्थाहरूले नै अड्डा जमाएर बसेका छन् ।

माटोमा खेल्दा, पछारिँदा पो केटाकेटीका हात–खुट्टा मजबुत हुन्थे । अहिलेका केटाकेटी देख्न मात्र खाइलाग्दा, बल हुन्न । 

२०७८ को जनगणनाअनुसार काठमाडौँ जिल्लाको जनसंख्या २० लाख १७ हजार ५ सय ३२ छ ।  काठमाडौँ महानगरमा मात्रै ८ लाख ४५ हजार ७ सय ६७ मानिस छन् । महानगरभित्र २ लाख ३१ हजार ७ सय १४ परिवार भएको जनगणनाको तथ्यांकमा उल्लेख छ । ती प्रत्येक परिवार एउटा नानी भएको मान्ने हो भने करिब २ लाख बालबालिका महानगर भित्रै छन् ।

 २०६८ को जनगणनाअनुसार काठमाडौँमा १० देखि १४ वर्ष उमेर समूहको संख्या  १ लाख ६५ हजार ६ सय ७९ थियो । तर, यो उमेर समूहका बालबालिकालाई खेल्न पर्याप्त पुग्ने ठाउँ महानगरभित्र उपलब्ध छैन् । महानगरले विभिन्न ठाउँमा पार्कहरू बनाएको भनिए पनि त्यहाँ बस्ने, गफ गर्ने, खेल्ने खुला ठाउँ छैन ।

विपत्मा भाग्ने ठाउँ खोइ ?
नेपाल भूकम्पीय जोखिम भएका देशहरूमध्ये ११ नम्बरमा पर्छ । नेपालका ७७ जिल्लामध्ये बढी जोखिममा छ, काठमाडौँ । यहाँको जमिनको भार बहन गर्ने क्षमता भन्दाबढी भवनहरू निर्माण भइरहेको विज्ञहरूको भनाइ छ ।

 जनसंख्या र भवनहरूको अत्याधिक चापले गर्दा विपत्को बेलामा भाग्ने ठाउँ सम्म छैन् । २०७२ सालको भूकम्प पश्चात खाली जमिन राख्ने बहस धेरै भए । तर, बहसअनुसारको काम भने भएन । हिजोआज यस्ता विषयमा चर्चासमेत हुन छाडिसकेको छ । बरू खुल्ला ठाउँहरू अतिक्रमण भइरहेको बताउछन्, काठमाडौँ उपत्यका विकास प्राधिकरणका सहरी योजनाकार भगवतभक्त खोकाली । ‘अहिले त्यस्ता खुल्ला ठाउँहरूमा स्थानीय बासीहरूले भाडा लगाएर खाइरहेको अवस्था छ,’ उनले भने, ‘उक्त ठाउँ सार्वजनिक प्रयोगका लागि संरक्षण गर्न लागिरहेका छौँ । सार्वजनिक जमिन भाडा लगाउन  नदिने हाम्रो नीति हो ।’

 त्यस्ता खाली रहेका ठाउँमा पार्क बनाएर खुला बनाउने योजना रहेको उनी बताउँछन् । त्यति गर्न नसकिएमा काठमाडौँमा बस्ने मान्छेको ‘क्वालिटी लाइफ  मेनटेन्ट’ नहुने उनको तर्क छ  । भन्छन्, ‘नत्र यो बस्न लायक सहर रहँदैन । यति नजिक–नजिक घरहरू टाँसेर बनाइएको छ । मुस्किलले भ्mयाल राखिएको छ । बाटो साँघुरो छ । यहाँ त सास फेर्न पनि समस्या छ ।’ 

खुल्ला ठाउँलाई संरक्षण गरेर पार्क बनाइयो भने, बालबालिकालाई खेल्न मात्रै होइन, विपत्को बेला बस्ने ठाउँ, ‘मर्निङ वार्क/इभिनिङ वर्क’ गर्ने ठाउँसमेत हुन्छ । तर, हिजोआज जमिन कंक्रिटले घेरिएसँगै पानीको सतहसमेत घटदो छ । यस्ता समस्याबारे सरकार मौन देखिन्छ ।  यी सबै समस्या समाधान गर्न प्राधिकारणसँग बजेटको अभाव भएको योजनाकार खोकाली बताउँछन् । ‘अहिलेको पैसा सबै स्थानीय सरकारसँगै छ,’ उनले भने, ‘स्थानीय सरकारलाई आप्mनो भोट कसरी आउँछ भन्ने चिन्ता मात्रै देखिन्छ । त्यसैले घरघरमा बाटो बनाउने काम मात्र भैरहेको छ । पार्कहरू खासै महत्वमा परेका छैनन् ।’

 प्राधिकरणले अहिले स्थानीय सरकारसँग सोधेर काम गर्नुपर्ने अवस्था भएकाले धेरै काम गर्न नसकेको उनको भनाइ छ । ‘केही अधिकार स्थानीय सरकारमा गएको छ,’ उनले भने, ‘यो अवस्थामा संघीय अन्तर्गतका निकायले स्थानीय सरकारसँग सोधेर काम गर्नुपर्ने अवस्था छ । स्थानीय सरकारले भाडा लगाएर खान्छु भन्यो भने के गर्ने ?’ प्राधिकरणले अहिले वडाबाट सिफारिस भएर आएका काम मात्रै गरिरहेको उनले जानकारी दिए ।
महानगरमा खाली जमिन छैन

उपत्यकामा जमिन भएको ठाउँमा प्राधिकरणले संरक्षणको काम गरिरहेको योजनाकार खोकाली बताउछन् । ‘सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा सबैभन्दा बढी जमिन छ,’ उनले भने, ‘काठमाडौँ महानगरमा त जमिन नै छैन । खाली जमिन भएको ठाउँमा हामीले काम गरिरहेका छौँ ।’ 

प्राधिकणको काम नीति निर्माणमात्रै भएतापनि स्थानीय तहहरूले पार्कभन्दा अन्य काममा बढी खर्च गरेकाले पार्क निर्माणमा प्राधिकरण लाग्नु परेको उनको भनाइ छ ।  ‘स्थानीय तहसँग बजेट त छ । तर, तिनीहरूले पार्कमा कम लगानी गर्छन्,’ उनले भने, ‘आफ्नो महत्वअनुसारका अन्य काममा धेरै लगानी गर्छन् । त्यसैले धेरै काम हामीले काम गरिरहेका छौँ ।’ 

प्राधिकरणका इन्जिनियर सौरव ढकालका अनुसार  पहिचान भएका क्षेत्रहरूमा वडासँग समन्वय गरेर काम भइरहेको छ । वडाले पार्क बनाउन सिफारिस गरेपछि प्राधिकरणले त्यहाँ आफ्नो काम थाल्ने गरेको उनले बताए । ‘पार्कहरूसँगै हामी विपत् व्यवस्थानका लागि पनि सार्वजनिक जग्गाहरू संरक्षणको काम गरिरहेको छौँ,’ उनले भने,  ‘यस आर्थिक वर्षमा पनि करिब दश ठाउँमा काम गरिरहेका छौँ  । वडाले यहाँ बनाउनु पर्‍यो भनेर सिफारिस गरेका ठाउँमा हामीले काम गरिरहेका छौँ ।’

 काठमाडौँको कागेश्वरी, शंखरापुर, टोखा, नागार्जुन, लुभु, भैँसीपाटीलगायतका ठाउँमा प्राधिकरणले  पार्क बनाउने काम भइरहेको इन्जिनियर ढकालले बताए ।



Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
ad
x