समाज

पराकम्प जानेक्रम जारी

खोटाङ भूकम्प : एक घर भत्कियो, ४७ घरमा सामान्य क्षति

इकागज |
साउन १६, २०७९ सोमबार ६:१५ बजे

खोटाङ - साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर आज बिहान गएको ६ मेग्नेच्युडको भूकम्पले जिल्लामा एक घर भत्किएको छ भने, ४६ घरमा क्षति पुगेको छ । मानवीय क्षति नभए पनि भूकम्पको केन्द्रविन्दु बनेको मात्तिमविर्ताका ४४ घरमा क्षति पुगेको जनाइएको छ । 

मात्तिमविर्ताका दलबहादुर राई, प्रधान राई र ज्ञानबहादुर खड्काको घरमा बढी क्षति पुगेको र अन्य वडामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको गाउँपालिका प्रमुख रविप्रकाश राईले बताए ।


'भूकम्पको केन्द्र मात्तिमविर्ता मात्रै अहिलेसम्म ४४ घरमा क्षति भएको विवरण सङ्कलन भएको छ', उनले भने, 'अन्य वडामा पनि क्षति भएको भन्ने वडाध्यक्षहरूबाट खबर आइरहेको छ । अहिले पानी परिरहेकाले अन्य वडाको विवरण सङ्कलन हुन सकेको छैन ।'

सोही भूकम्पले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित चुमाखुका तेजबहादुर नेपालीको घर पूर्णरुपमा भत्किएको छ । सो नगरपालिका–७ महादेवस्थानका गङ्गा राईको घर बस्नै नमिल्नेगरी चर्किएको तथा वडा नं ९ सल्लेका ध्रुव पौडेलको पुरानो घरमा सामान्य क्षति भएको वडा नं ७ महादेविस्थानका वडाध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिए ।

हलेसी तुवाचुङ नगरपालिकाले भूकम्पको क्षति मूल्याङ्कनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरेको छ । भूकम्प गएलगत्तै नगरपालिकाले इन्टग्रेटेड डिजास्टर भल्नेरेबिलिटी एसेसमेन्टका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालयलाई पत्राचार गरिएको नगरप्रमुख विमला राईले जानकारी दिए । 

भूकम्पले जिल्लामा अहिलेसम्म मानवीय क्षति नभए पनि पराकम्प जानेक्रम जारी रहेकाले सतर्कता अपनाउन जिल्लावासीलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले बताए ।  'जिल्लामा अहिले पनि भूकम्पको पराकम्प जानेक्रम जारी छ', उनले भने, 'कतैबाट सूचना प्राप्त हुनासाथ परिचालित हुनेगरी नेपाली सेना, प्रहरी र विपद् व्यवस्थापनको टोली तयारी अवस्थामा राखिएको छ ।'

विसं २०७२ वैशाख १२ गते गएको भूकम्प पछाडिको यो नेपालमा हालसम्मकै शक्तिशाली भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारसँग सिमाना जोडिएको साकेला गाउँपालिका–५ मात्तिमविर्तामा भूकम्पको केन्द्र भएपछि जिल्लावासी त्रसित बनेका छन् ।

दश स्थानीय तह रहेको जिल्लामा हालसम्म भूकम्पको दर्जनभन्दा बढी पराकम्प गएको महसुस गरिएको छ । पटक–पटक पराकम्प जानेक्रम जारी रहेपछि जिल्लाका केही स्थानीय बासिन्दा आफ्नो घर नजिकै पर्ने सुरक्षित ठाउँमा सर्न थालेका छन् । रासस


Author

थप समाचार
x