समाज

बुबाले नै छोरी जंगलमा लगेर छाडिदिएपछि...

इकागज |
साउन २३, २०७९ सोमबार २२:४ बजे

फाइल फोटो

बागलुङ - आफ्नै बुबाका कारण १५ महिने छोरीले अनाहकमा मृत्युवरण गरेकी छिन् । बागलुङ नगरपालिका–६ लमगाउँका दीपक बोहोराले छोरी अनामिकालाई शनिबार अपराह्नतिर जङ्गलमा लगेर छाडिदिएका थिए । २४ घण्टासम्म जङ्गलमा अलपत्र परेकी अनामिकाको भोकैप्यासै चिसोमा कठ्याङ्ग्रिएर मृत्यु भएको आफन्तजनले जनाएका छन् । शनिबारदेखि हराएकी उनी आइतबार दिउँसो बेनी नगरपालिका–१ अर्जमको जङ्गलमा भेटिएकी थिइन् ।

उद्धारपछि अस्पताल ल्याउँदा ल्याउँदै अनामिकाले प्राण त्यागेको उनका काका गौतम बोहोराले जानकारी दिए । अनामिकाको आइतबार बेलुका धवलागिरि अस्पतालमा निधन भएको थियो । त्यसअघि बेनी–१ रत्नेचौरस्थित स्वास्थ्यचौकीमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।


स्वास्थ्यकर्मीले अवस्था गम्भीर रहेकाले छिटो अस्पताल पुर्‍याउन भनेपछि उनलाई तत्कालै धवलागिरि अस्पताल ल्याइएको थियो । `बाटोमा ल्याइन्जेल पनि रोइरहेकी थिइन्, श्वास पनि राम्रै फेरेझैँ लाग्थ्यो`, गौतमले भने, `अस्पतालमा ल्याएको केही समयमै डाक्टरले मृत घोषणा गरे ।`

उद्धारमा पुगेका बेनी–१ का वडा सदस्य ताराप्रसाद थापाले गाउँलेले रोएको सुनेपछि बालिका फेला परेको सुनाए । `अर्जमदेखि खबरा जाने सडक नजिक गैँडाराको जङ्गलमा भेटिएकी थिइन्, झट्ट शरीर हेर्दा सकुशल नै जस्तो देखिन्थ्यो तर भित्र गम्भीर असर गरिसकेको रहेछ`, उनले भनिन् । 

रुँदै घस्रेर कतै जान खोजेको अवस्थामा आफन्त र गाउँले मिलेर अनामिकाको उद्धार गरेका थिए । रातभरको वर्षाले पनि उनलाई नराम्रोसँग चुटेको वडा सदस्य थापाले बताए । त्यहीँमाथि उनले पानीसम्म खान पाइनन् । छिट्टै भेटिएर उद्धार हुन सकेको भए अनामिकाको ज्यान जोगिने थियो ।

परिवारजनका अनुसार काममा गएकी आमा सरस्वतीसँग दूध खुवाउन भन्दै दीपकले छोरी अनामिकालाई लिएर घरदेखि हिँडेका थिए । त्यस दिन छोरीलाई श्रीमान्को साथ लगाएर सरस्वती काममा गएकी थिइन् ।

परिवारको गर्जो टार्न काखकी छोरी घरमै छाडेर मेलापात जानु उनको नियति नै हो । तर माया र विश्वास गरेको श्रीमान्ले छोरीलाई त्यसरी अनकन्टार जङ्गलमा लगेर छोड्ने कुरा सरस्वतीका लागि सोच्नसम्म नसकिने कुरा थियो, अफसोच त्यही भइदियो ।

‘मानसिक स्वास्थ्यमा देखिएको असहज अवस्थाका कारण दीपकले त्यस्तो गम्भीर र अस्वाभाविक व्यवहार देखाएको स्थानीयवासीले बताएका छन् । छोरीसहित घरबाट हिँडेका उनी सम्पर्कविहीन भएपछि खोजतलास गर्ने क्रममा निर्वस्त्र अवस्थामा रत्नेचौरमा भेटिएका थिए ।   

`निर्वस्त्र अवस्थामा भेटाएपछि प्रहरी कहाँ ल्याएर छोरी कहाँ छिन् भन्दा पनि केही बोलेनन्, ठाउँ भनेको भए बचाउन सकिन्थ्यो, उनले किन त्यसो गरे, हामी पनि अचम्ममा परेका छौँ`, गौतमले भने, `छोरीलाई मार्ने नै उद्देश्य त पक्कै थिएन होला, भिरपहराको बाटो जोगाउँदै लगेर जङ्गलमा एक्लै छोडेको देखिन्छ ।`

बुबाको बेहोसी र अनियन्त्रित आवेगका कारण कल्कलाउँदो छोरीले ज्यान गुमाउनुपरेको घटनाले गाउँछिमेकका धेरैलाई दुःखी बनाएको छ । छोरी बितेपछि सरस्वती विक्षिप्त बनेकी छिन् । परिवार र आफन्तजन कानुनी प्रक्रिया पुर्‍याएर शव परीक्षणको पखाईमा छन् । दीपक भने प्रहरी नियन्त्रणमा छन् । 

स्थायी घर पर्वतको जलजला गाउँपालिका–४ मा भए पनि बोहोरा परिवार अहिले ज्याला मजदुरीका लागि पुख्र्यौली गाउँमा बस्दै आएको छ । रासस 


Author

थप समाचार
x