समाज

पक्राउ परेका फरार अभियुक्त अस्पतालबाट पुनः फरार

इकागज |
साउन २६, २०७९ बिहीबार २१:४१ बजे

विराटनगर- मोरङ प्रहरीले फरार अभियुक्त पक्रिने अभियान अन्तरगत पक्राउ गरी सजाय भुक्तानका लागि मोरङ कारागार पठाउने तयारी भइरहेका एक कैदी पुनः फरार भएका छन् । लेनदेन मुद्दामा ६ महिना कैद सजायको फैसला भएपछि फरार भएका विराटनगर-१८ का ४५ वर्षीय लक्ष्मण दास साउन २० गते पक्राउ परेका थिए ।

मोरङ प्रहरीले पक्राउ गरी अदालतको आदेशमा कारागार पठाउनु अघि कोभिड संक्रमणको परीक्षण गर्दा दासको रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएका कारण उपचारका लागि कोसी कोभिड अस्पतालको आइसोलेसनमा पठाइएकोमा उनी बुधबार राती करिब ११ बजे भागेका हुन् ।


कोभिड अस्पतालबाटै फरार भएकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले बताए । ‘जिल्ला अदालतमा बुझाउनुअघि कोरोना परीक्षण गराउनु पर्ने थियो, उनको रिपोर्ट पोजेटिभ आएपछि कोसी कोभिड अस्पतालमा भर्ना गरिएको थियो,’ प्रवक्ता श्रेष्ठले भने, ‘उपचारकै क्रममा राति शौचालय जाने भन्दै त्यहाँबाट फरार भएको जानकारी आएको छ ।’

जिल्ला अदालत मोरङले २०७६ वैशाख २९ गते दासलाई ६ महिना कैद हुने फैसला सुनाएको थियो । त्यसपछि फरार भएका दासलाई इलाका प्रहरीले पक्राउ गरी जिल्लामा बुझाएको थियो ।

कोभिड अस्पतालको आइसोलेसनभित्र प्रहरी नबस्ने भएपछि त्यसैको मौका छोपेर अभियुक्त दास शौचालय जाने बहानामा भाग्न सफल भएको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको जनाइएको छ ।


Author

थप समाचार
x