समाज

पत्रकार सिंखडामाथि आक्रमणको भर्त्सना

इकागज |
भदौ १, २०७९ बुधबार १७:५७ बजे

मकवानपुर । नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्य तथा कालिका दैनिक र अनलाइनका सम्पादक शिशिर सिंखडामाथि भएको कुटपिटको पत्रकार महासंघ बागमती प्रदेशले ध्यानाकर्षण जनाएको छ ।

समाचारको विषयलाई लिएर सिंखडामाथि कुटपिट गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको गम्भीर ध्यानाकर्षण जनाएको प्रदेश महासचिव कृष्ण सारु मगरले विज्ञप्ति मार्फत जनाएका छन् ।

महासंघ चितवन शाखाका अनुसार कालिका नगरपालिकाका निवर्तमान मेयर खुमनारायण श्रेष्ठ र उनका स्वकीय सचिव दीपक लामिछानेको विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको समाचार सामग्रीलाई कालिका दैनिक अनलाइनले साउन ३१ गते मंगलबार साभार गरेको थियो । सोही निहुँमा नेकपा एमाले कालिका नगरपालिकाका उपाध्यक्ष समेत रहेका लामिछानेको नेतृत्वमा पत्रकार सिंखडामाथि कुटपिट भएको थियो।

“समाचारमा चित्त नबुझेको अवस्थामा सम्बन्धित निकायमा निवेदन गर्न पाउने अधिकार र छानविनका लागि राज्यको निकाय हुँदाहुँदै पत्रकार सिंखडामाथि भएको हातपात घटना प्रेस स्वतन्त्रतामाथिको प्रहार हो” विज्ञप्तिमा भनिएको छ ।

दोषीलाई कडा कारबाही गर्न महासंघ बागमती प्रदेशले स्थानीय प्रशासन समक्ष अनुरोध गरेको छ । साथै स्वतन्त्र रुपमा पत्रकारिता गर्ने वातावरण बनाउँदै शान्ति सुरक्षाको प्रत्याभूतिका लागि सरोकारवाला पक्षसँग पत्रकार महासंघ बागमती प्रदेशले माग गरेको छ ।  

यसैगरी प्रेस चौतारी नेपालले पनि सिंखडामाथिको हातपातको भर्त्सना गरेको छ । संगठनको केन्द्रीय सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज समेत रहेका सिंखडामाथि दुर्व्यवहार र हातपातको घटनाप्रति प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीले आपत्ति प्रकट गरेको हो ।  

समाचारमा चित्त नवुझे सम्बन्धित निकायमा उजुरी गर्ने व्यवस्था हुँदाहुँदै पत्रकार सिंखडामाथि आक्रमण गर्नु निन्दनीय भएको चौतारीको बागमती प्रदेश महासचिव प्रकाश दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।



Author

थप समाचार
x