समाज

राहदानीको फारम विचौलियाको कब्जामा ! सेवाग्राही १० बजे पुग्दा पनि पाउँदैनन्

विभाग भन्छ- दैनिक ६ हजार आवेदन खुलाउँदा पनि माग धान्‍न सकिँदैन

अतिन आचार्य |
भदौ ८, २०७९ बुधबार १२:५७ बजे

काठमाडौँ-  कास्कीका  प्रकाश थापा मंगलबार मध्याह्न राहदानी विभाग पुगे । ई-पासपोर्टको लागि फारम भर्ने ठाउँ खोज्दै चर्को घाममा विभाग परिसरको गेट बाहिर ओहोरदोहोर गरिरहेका थिए ।

उनले फारम भर्ने देखेनन् । फारम भर्ने मानिसको भिडमात्र देखे । आइतबारदेखि उनको दिनचर्या विभाग परिसरमा वितेको छ । 


त्रिपुरेश्वरस्थित विभागको गेट अगाडिको भिड छिचोल्दै 'इ-पासपोर्टका लागि फारम यहाँ भरिन्छ' लेखिएको ठाउँमा पुगे । उनले  ढोकाबाटै सोधे,' राहदानीको फारम भर्नु थियो  ।'

तत्कालै जवाफ पाएनन् । क्याबिनबाट आवाज आयो,'  आज होइन । भोलि पनि भन्न सकिन्न ।' निशुल्क फारम भर्न पाइने उनीहरूले सेवाग्राहीबाट सेवा शुल्क बापत २५० रुपैयाँ लिने गर्छन् ।

उनीजस्ता सयौँ सेवाग्राही दैनिक विभाग परिसरको गेटबाटै फारम नभरी फर्कन्छन् । सेवाग्राहीले फारम भर्ने ठाउँमा पुग्दा सहजै आवेदन दिन पाउँदैनन् । सेवाग्राही परिसरको गेटमा पुग्छन् । तर, उनीहरूले फारम भर्न पाउँदैनन् । सोध्छन् र फर्कन्छन् ।

विभागले सेवाग्राहीको लागि ११ बजेदेखि फारमको खुला गरेको छ । यसअघि ४ बजेपछि मात्र खुला हुन्थ्यो। विभागले राहदानी फारम भर्ने समयअगाडि ल्याए पनि सेवाग्राहीको दुःख पुरानै छ । समयअगाडि आयो तर, सास्तीले छाडेन ।

परिसर अगाडिको सटरमा केही थान कम्प्युटर लिएर बसेका एजेन्सीहरू छन् । एजेन्सीहरूले निश्चित रकम लिएर सेवाग्राहीको फारम भर्छन् । सेवाग्राहीले सहजै एजेन्सीकोमा पुगे पनि फारम भर्न भने पाउँदैनन् । वास्तविक सेवाग्राही एजेन्सीकोमा पुगे पनि उनीहरूले फारम पाउँदैनन् । एजेन्सीको भनाइ हुन्छ,' दुई साता वा एक महिनापछि आउनू । अहिले सबै बुक भइसकेको छ ।'

सहजै फारम भर्न नपाउँदा कार्की जस्ता सयौँ सेवाग्राही सास्ती भोग्न बाध्य छन् । आवेदन खुल्नासाथ सबै फारम एजेन्सीले बुक गर्छन् । 'फारम भर्नका लागि तीन ठाउँ घुमेँ । सबैले आजका लागि बन्द भइसकेको जवाफ दिए,' उनले भने,' एक महिनासम्मका लागि फारम भर्नका लागि बुक भइसकेको भन्छन् ।'

अनलाइनबाट आवेदन दिन जानेको भए फारम भर्न सास्ती भोग्नु नपर्ने उनले सुनाए । उनी राहदानी नवीकरणका लागि पुगेका हुन् । दश दिनपछि कतार जाँदै छन् । नेपाल आएको समयमा नयाँ राहदानी बनाइ जाने सोचाइले विभाग पुगेको उनले बताए ।

कतारस्थित दूतावासबाट आवेदन दिँदा समयमा पाउन नसकिने अवस्थाको जानकारी गराए । 'दूतावासमा पुगेर आवेदन दिँदा दुईदेखि तीन महिनासम्म लाग्छ,'  उनले  दुःखेसो पोखे,' फारम भर्ने ठाउँमा आफ्नो चिनेको मान्छे भए पाइन्छ । नत्र सोधेर फर्कनुपर्ने रहेछ ।'

भारत जानेले पनि राहदानी बनाउन थाले

पर्सा, वीरगञ्ज महानगरपालिका १३ की सुनिता यादव एमबीबीएसका लागि आवेदन दिने तयारीमा छिन् । एक साताभित्र भारत नपुगे आवेदन दिन नपाइने बताउँछिन् ।

'आवेदन दिन अनिवार्य राहदानीको माग गरिएको छ,' उनले फारम भर्न नपाउँदाको पीडा सुनाउँदै भनिन्,' बिहान १२ बजे आइपुगेँ । त्रिपुरेश्वर वरिपरि आवेदन दिनका लागि फारम भर्ने ठाउँमा पुग्दा सबैले फुल भइसकेको भन्छन् ।'

कार्कीले जस्तै उनले आफैँ आवेदन दिन खोजिन तर सकिनन् । आफूले आवेदन भर्दा बिग्रन्छ भनेर फारम भर्ने ठाउँको सहायता लिनुपर्ने सुनिता बाध्यता रहेको बताउँछिन् ।

' परीक्षामा सहभागी हुन राहदानी चाहिने भएकाले काठमाडौँ आउनु परेको  हो,' उनले थपिन्,' राहदानी जरुरी भएर आउँदा पनि भनेको समयमा नपाउने अवस्था छ ।' विद्युतीय राहदानीको लागि अनलाइन फारम अनिवार्य मानिन्छ ।

कार्यालय समयमा विभाग वरिपरि रहेका फारम भर्ने ठाउँमा पुग्दा पनि सेवाग्राहीले सहजै आवेदन पाउँदैनन् । सेवाग्राहीहरूको आँखामा आवेदन दिन सबैभन्दा ठूलो सकस देखिन्छ ।

भिड अन्त्य गर्न विकल्प छैन

सेवाग्राहीको उपस्थिति र राहदानीको माग धेरै भएकाले आवश्यकता अनुसार पुर्‍याउन नसक्दा समस्या भइरहेको विभागका प्रवक्ता डा. डम्बरुबल्लभ पौडेल बताउँछन् । विभागले राहदानीको फारम खुलाउन साथ भर्न सके पालो आउने र पर्खन सक्ने भए पुनः भोलिपल्ट भर्नुपर्ने उनको भनाइ छ ।

पछिल्लो विभागमा सेवाग्राही चाप बढिरहेको छ । दैनिक जसो २ हजार मानिस विभागमा पुग्ने गरेका छन् । माग अनुसार एकैपटक छापिएर राहदानी आउन नसक्ने पौडेलले बताए । उनले भने,'  एमआरपी जस्तो सहज हुँदैन । चिप्ससहितको हुनाले सफ्टवेयरमा समस्या आएमा समयमा दिन सकिँदैन ।'

केही दिनअघि एक दिन ६ हजार फारम खुलाउँदा पनि सेवाग्राहीलाई नपुगेको उनले जानकारी दिए । फारम खुलाएको एक घण्टामा सबै सकिने उनले प्रस्ट पारे । दैनिक १० हजार खुलाए पनि माग धान्न नसकिने पौडेलको भनाइ छ ।

भिड अन्त्य गर्न कुनै पनि विकल्प नरहेको उनले बताए । जति खुलाए पनि आवेदन दिन आउनेको संख्या बढिरहने उनको भनाइ छ । विभागले दिएको समय भन्दा अगाडि आउदा उनले भिडभाड हुने गरेको बताए ।

विभागले कोटा अनुसार फारम खुलाउने गरेको प्रवक्ता पौडेलले जानकारी दिए । उनका अनुसार दैनिक १८ सयदेखि २ हजार फारम खुला गरिहेको छ । दुई हजार मानिसले पासपोर्ट लिने र आवेदन पनि त्यही संख्यामा दिने गरेका छन् ।

कोटा भन्दा सेवाग्राहीको संख्या बढी

'कोटा भन्दा बढी माग भएकाले सेवाग्राहीलाई कुर्नुभन्दा अन्य विकल्प छैन,' उनले थपे,'  जिल्लाबाट बढी कोटा दिएको छ । जिल्लाबाट नभरेर यहाँ आउदा समस्या भएको हो । प्रत्येक जिल्लाले ४ हजारको संख्यामा फारम खुलाउने गरेको छ ।'

७७ जिल्ला, १७ इलाका प्रशासन र ३८ नियोगबाट आवेदन लिने गरेको छ । विभागले जिल्लालाई कति संख्यामा खुलाउने त्यसको अधिकार सबै दिएको छ । विभागको २० ठाउँबाट इन्ड्रलोमेन्ट हुने गरेको छ ।

विभागका अनुसार एयरलायन्सबाट भारत जानेहरूले राहदानी बनाउन आएकाले भिड बढेको छ । विदेश पढ्न जाने विद्यार्थीका र नर्सिङ पेशामा रहेकाहरू राहदानी बनाउन आएका छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x