समाज

आफन्तबाटै बलात्कारको शिकार बन्छन् बालिका

लक्ष्मी भण्डारी |
भदौ ८, २०७९ बुधबार १५:४८ बजे

प्रतिकात्मक तस्वीर

सुर्खेत । पटकपटक आफ्नै बुवाबाट बलात्कार भएपछि दैलेखकी १७ वर्षीय किशोरी गएको फागुनमा न्याय माग्न प्रहरीकहाँ पुगिन् । आफू बलात्कार भएको कुरा बाहिर ल्याएपछि अदालतबाट न्याय त पाइन् तर, समाजबाट बहिष्कारमा परिन् । यतिसम्मकी घर छोड्न बाध्य भइन् । अहिले उनी वीरेन्द्रनगरमा विभिन्न संघ संस्था र सहयोगी निकायहरुसँग सहयोग संकलन गरि कोठा भाडामा लिएर पढ्न थालेकी छन् । 

तीन महिनाअघि सुर्खेतको गुर्भाकोटमा सात वर्षीया बालिकाको बलात्कारपछि हत्या भयो । घरबाट हराएकी बालिकाको खोजी गर्ने क्रममा उनको मकै बारीमा शव भेटियो । घटनाको विषयमा अनुसन्धान गर्दै जाँदा बलात्कारपछि हत्या भएको पत्ता लाग्यो । बालिकामाथि बलात्कार गर्नेलाई अदालतले आजीवन काराबासको फैसला सुनाएको छ । 


आमा घरमा नभएको मौका छोपी सौतेनी बुवाबाट सुर्खेतकी १२ वर्षीया बालिका बलात्कृत भइन् । घटनापछि बालिकाकी आमा समस्यामा परिन् । छोरीलाई न्याय दिलाउने कि श्रीमानलाई बचाउने । त्यसपछि विभिन्न संघसंस्था र अधिकारकर्मीको सहयोगमा बालिकालाई न्याय दिलाइयो । 

पछिल्लो समय जबरजस्ती करणीका घटनाहरु बढिरहेका छन् । यसमा अधिकांश बालिकाहरु नै जघन्य अपराधको शिकार बनिरहेका छन् । प्रहरीका अनुसार बालिकामाथि हुने बलात्कारका घटना बर्सेनि बढ्दो क्रममा छ । यस्ता घटनाहरु धेरैजसो घरपरिवारका सदस्य, चिनेजानेका, नजिकका आफन्त र समाजले भरोसा गरेका व्यक्तिहरूबाटै हुने गरेको पाइएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले कर्णालीमा बलात्कारका घटना बर्सेनि बढ्दो क्रममा देखिएको बताए । पछिल्ला वर्षहरूमा सामाजिक सचेतना बढेकाले पनि यस्ता घटनाहरू बाहिर आउन थालेको उनको भनाइ थियो । 

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो दुई वर्षको अवधिमा कर्णालीमा तीन सय पाँच जना महिला र बालिका  बलात्कृत भएका छन् । त्यसमध्ये ३२ प्रतिशत १८ वर्ष मुनिका छन् । गत आर्थिक वर्ष २०७८÷०७९ मा एक सय ५५ महिला तथा बालिका बलात्कृत भएका थिए । आर्थिक वर्ष २०७७÷०७८ मा कर्णालीमा एक सय ५० जना महिला बलात्कृत भएका छन् ।
 


Author

थप समाचार
x