समाज

फेरि विश्वकै नम्बर एक प्रदूषित शहर बन्यो काठमाडौँ

इकागज |
चैत ३१, २०७७ मगलवार ७:२९ बजे

काठमाडौँ : विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौँ फेरि शीर्ष स्थानमा उक्लिएको छ । सोमबारदेखि काठमाडौँ विश्वकै अतिप्रदूषित शहरको सूचीमा शीर्ष स्थानमा परेको हो । पछिल्लो केही दिनयता हावा नलागेको, पानी नपरेको र डढेलो नियन्त्रणमा नआएकाले काठमाडौँ उपत्यकाको हावामा धुवाँ र धुलोका कण थुप्रिएर प्रदुषित बनेको हो ।

हावाको गुणस्तर मापन गर्ने आइक्युएयरका अनुसार काठमाडौँको हावा सरदर २३३ एक्युआईमा छ । जुन स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । सामान्यतया प्रदूषणको मात्रा १५० देखि माथि पुग्नुलाई हानिकारक मानिन्छ ।


हावामा प्रदूषणको मात्रा खतराको तह नाघेर २०० माथि पुग्नु काठमाडौँ बस्न र हिडडुल गर्न स्वास्थ्यका लागि जोखिमपूर्ण हुने वातावरणविदले बताएका छन् । प्रदूषण बढेपछि काठमाडौँमा सास फेर्न समस्या बढ्दै गएको छ भने आँखा पोल्ने र शरीर पनि भारी हुने समस्या दैनिक बढेका छन् ।

काठमाडौँमा तुवाँलो कायमै छ । यसले पनि अझै केही दिन यता काठमाडौँको प्रदूषण हट्ने सम्भावना छैन । मौसमविद सचिना शाक्यका अनुसार अझै केही दिनयता काठमाडौँमा पानी पर्ने र हावा चल्ने सम्भावना कम भएकाले प्रदूषण हट्न समय लाग्ने देखिएको छ । 

 


 


Author

थप समाचार
x