उपचारको अभावमा साङ्लोमा बाँधिएका लम्कीका बरालीको उद्धार
कैलाली - उपचारको अभावमा साङ्लोमा लामो समयदेखि बाँधेर राखिएका लम्कीका नारायण बरालीको सोमबार उद्धार गरिएको छ । केही दिनअघि ‘उपचारको अभावमा कैलालीको लम्कीका एकजना साङ्लोमा बाँधिन बाध्य’ शीर्षकको समाचार विभिन्न सञ्चार माध्यममा प्रसारण भएपछि सो समाचार सुनेर बौनियाको सहाराघरका सञ्चालक बलबहादुर विष्टको टोलीले लम्कीचुहा नगरपालिकाको समन्वय र नगर प्रमुख सुशीला शाहीको सहभागितामा बरालीको उद्धार गरेको हो ।
मानिस पनि पशु झैँ बाँधेर राखिएको भन्ने आफूले थाहा पाएर लम्कीचुहा नगरपालिकालाई जानकारी गराई मानवताको आधारमा उद्धार गरिएको सहारा घर बौनियाका सञ्चालक विष्टले बताए । उद्धारका लागि बरालीको घरसम्मै पुगेकी नगर प्रमुख शाहीले उनको उपचारका लागि काठमाडौँ पाटन अस्पतालमा लाग्ने खर्च नगरपालिकाले बेहोर्ने बताए ।
लामो समयदेखि मानसिक सन्तुलन गुमाएका लम्कीचुहा–१ थपालीपुरमा बस्दै आएका ४८ वर्षीय डल्ला भनिने बराली पशुु झैँ फलामे साङ्ङ्लोमा बाँधिएर राखिएका थिए । करिब १२ वर्षदेखि मानसिक सन्तुलन बिग्रिएपछि उनको परिवारसमेत छिन्नभिन्न भएको छ ।
आर्थिक अभावका कारण उपचार गर्नसमेत समस्या भएको उनका दाजु भीमबहादुुरले बताए । सात छोराछोरीका बुबासमेत रहेका बराली सुर्खेतको पञ्चपुुरी नगरपालिका–९ मा रहेको कालिकामाईको पुजारी थिए । `विसं २०६५ मङ्सिर २७ गते देउता मान्ने क्रममा शरीरमा देउता आएको (झाँक्री) थियो`, उनका दाजुु भीमबहादुुरले भने, `त्यसपछि मेरो भाइ नारायणको शरीर काँप्न र बडबडाउन थामिएन, निरन्तर कापिरह्यो, सुरुमा हामीले देउता नै हो भन्यौँ ।`
उनका अनुसार स्थानीयवासीको सुुझावमा उपचारका लागि भारतको बरेली लगेपछि बरालीको मानसिक सन्तुलन बिग्रिएको थाहा भयो । `अस्पतालले लामो समयसम्म औषधि खान सुुझाव दिएर घर पठायो । औषधि खाँदा केही दिन ठीक भयो । औषधि महँगो छ, घरको अवस्था नाजुक छ, उपचार गर्न नसकेर भाइको मानसिक सन्तुलन झनझन बिग्रिँदै गएको छ ।`
नारायण झनझन दिनप्रतिदिन हिंस्रक बन्दै गए । घर र समाजका मान्छेलाई काटिदिन्छु भन्दै घरपरिवार तथा समाजका व्यक्तिलाई आक्रमण गर्न थालेपछि अहिले साङ्लोमा बाँधेर राखिएको दाजु भीमबहादुरले बताए ।
`आर्थिक अभावका कारण अस्पताल लैजानसकेका छैनौँ । बिरामी भाइले दिनप्रतिदिन तनाव दिन थाल्यो`, उनले भने, `आफ्नै घरमा दुई/दुई पटक आगो लगाएपछि घरमा बस्न नसकेर अहिले मेरो भाइबुुहारी (बिरामीकी श्रीमती) छोराछोरीसहित जीविकोपार्जनका लागि भारतको बेङ्गलोर गएकी छन् ।` रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया