समाज

दार्चुलाको बंगाबगडमा फेरि कटान : महाकाली नेपालतर्फ बग्दै, घरहरू उच्च जोखिममा

इकागज |
भदौ २७, २०७९ सोमवार १०:५६ बजे

दार्चुला - दार्चुलामा कटान रोकिएको छैन । महाकाली नदीको बहाव नेपालतर्फ आएको र लास्कु खोलामा पनि बाढी आउने क्रम नरोकिएकोले बंगाबगड क्षेत्रमा फेरि कटान सुरु भएको हो । 

बंगाबगडका केही घरहरू जोखिममा रहेको प्रमुख  जिल्ला अधिकारी दीर्घ राज उपाध्यायले बताए । 'अहिले कटान रोक्नका लागि अस्थाइ तटबन्धको व्यवस्थापनका विषयमा छलफल भइरहेको छ,' उनले भने, 'जोखिमपूर्ण क्षेत्रमा नजान नागरिकलाई अनुरोध गरेका छौँ ।'


नदीको बहाव नेपालतर्फ भएकोले दार्चुला सदरमुकाम खलंगा बजार जोखिममा परेको उनले बताए । यद्यपि महाकाली किनारको पक्की तटबन्धका कारण अहिलेसम्म ठूलो क्षति हुनबाट जोगिएको महाकाली ४ का स्थानीय मानबहादुर बमले बताए । 

'दिनमा घाम लाग्छ । राति पानी पर्छ । तीन दिनदेखि खाना खाएका छैन,' बमले भने, 'बाबु-नानीहरूको भविष्य पनि बाढी पहिरोमै जाने भयो । छिटै सरकरले केही पहल गरे हुन्थ्यो ।'

भाद्र २४ गते राति आएको विनाशकारी बाढीले पाँच जनाको मृत्यु भएको छ भने १० जना अझै बेपत्ता छन्। त्यसैगरी ८ जना घाइते भएका छन् ।
 
अहिले उद्दार कार्यमा जिल्लाका सबै शैक्षिक संस्थाहरू लागि परेका छन् । महाकाली नगरपालिकाले शोक विज्ञप्ति जारी गर्दै एक दिनका लागि शैक्षिक संस्थाहरूमा बिदा दिएको छ । स्कुल बिदा भएपछि विद्यालयका शिक्षकहरू उद्दारमा खटिएका हुन् ।


Author

थप समाचार
x