समाज

महानगरको संरक्षणमै खिचापोखरीको बीच सडकमा 'पानीपुरी' सञ्‍चालन

वडाध्यक्ष भन्छन् : भाडाबापत रकमले पार्क मर्मत र जात्रामा खर्च

इकागज |
भदौ २७, २०७९ सोमबार १८:३७ बजे

काठमाडौँन्यूरोडस्थित मुख्य व्यापारिक क्षेत्र खिचापोखरीको हरियाली पार्क अगाडि अनधिकृत पसल सञ्चालन गरेको पाइएको छ । काठमाडौँ महानगरपालिकाले वडा २२ मा अवस्थित पार्कमा सञ्चालित पानीपुरी व्यवसायलाई वर्षौदेखि संरक्षण गर्दै आएको हो ।

२५ वर्षअघि बनेको पार्कमा पानीपुरी पसललाई खिचापोखरी क्लब र वडा कार्यालयले एकसाथ सञ्चालन गर्न अनुमति दिएको हो । स्थानीयको पहलमा उक्त पार्क बनेको भए पनि अहिले संरक्षित हुनुपर्ने हो । तर, पानीपुरी पसलले पार्कलाई कब्जा गरेर अस्तव्यस्त र फोहोर बनाएको छ ।


पार्क अगाडि पसल सञ्चालन गर्ने अनुमति पाएसँगै क्लबलाई मासिक भाडा बुझाउँदै आएको छ । स्थानीय क्लब र जनप्रतिनिधिको साथ पाएर व्यवसायीले उक्त क्लबलाई मासिक ६५ हजार रुपैयाँ बुझाउने गरेका छन् । वडा कार्यालय र स्थानीय क्लबको संरक्षण पाएर सार्वजनिक स्थानमा उक्त पसल अनधिकृत रुपमा सञ्चालनमा आएको हो ।

हरियाली पार्कले सहरको सौन्दर्यीकरणको विकास गर्छ । तर, पानीपुरी व्यवसायले व्यापारिक क्षेत्र न्युरोडको सौन्दर्य घटाएको छ । व्यस्त व्यापारिक बजार मानिने न्युरोडको उक्त पार्क छेउमा सञ्चालित पसलले भीडभाडदेखि ट्राफिक नियन्त्रणमा पनि समस्या पर्न गएको स्थानीय व्यापारीहरू बताउँछन् ।

पछिल्लो समय काठमाडौँ महानगरले अनधिकृत बनाइएका भवनहरू भत्काउने कार्यलाई तीव्रता दिएको छ । महानगर भित्रका विभिन्न स्थानका फुटपाथ मिचिएका र नक्सापास बिना बनाइएका संरचनालाई महानगरले हटाइ रहेको छ । महानगरले भने खिचापोखरीको सडकको बीच भागमा रहेको पार्कको छेउमा अनधिकृत रुपमा पसल सञ्चालन गर्न दिएको छ ।

भाडाबापत प्राप्त रकमले विभिन्न जात्रा र चाडपर्व मनाउन थप सहयोग पुग्ने भएकाले महानगरले व्यवसाय सञ्चालन गर्न दिएको वडाअध्यक्ष चिनकाजी महर्जन बताउँछन् । 

भाडाबापत  प्राप्त रकमले पार्क मदत गर्न सहयोग पुगिरहेको उनले दाबी गरे । व्यक्तिगत फाइदाका लागि उक्त रकम पुगेमा गलत काम हुने उनको ठहर छ ।  क्लब सञ्चालन गर्न उक्त रकमले  सहयोग गरिरहेको उनको भनाइ छ ।

'पार्क छेउमा रहेको पानीपुरी व्यवसाय अनधिकृत रहेकोमा कुनै शंका छैन । किनभने उसले नक्सा पास पनि गरेको छैन । व्यापारीसँग लालपुर्जा पनि छैन,' अध्यक्षले भने, 'यो क्षेत्रमा भएको पसलले बढी भीडभाड बढिरहेकाले ट्राफिक समस्याको गुनासो आइरहेको छ । संस्थाले भत्काउने निर्णय गरेमा यसलाई पनि भत्काउनुपर्छ ।'

अहिले तत्कालै भत्काउने कुनै योजना नरहेको उनले बताए । तर, महानगरले भत्काउने निर्णय गरेमा वडा कार्यालयको पनि पूर्ण समर्थन रहने उनले बताए । अनधिकृत भवन तथा नक्सा पास नगरेका भवनहरू हटाउने अभियान कहिलेसम्म रहन्छ त्यसमा पनि भर पर्ने उनले बताए ।

भाडाबाट प्राप्त रकमले पार्क मदत गर्न सहयोग पुगिरहेको महर्जनले दाबी गरे । व्यक्तिगत फाइदाका लागि उक्त रकम पुगेमा गलत काम रहेको उनको ठहर छ ।  क्लब सञ्चालन गर्न उक्त रकमले सहयोग गरेको उनको भनाइ छ ।

चाडपर्वको मुखमा यस्ता व्यापार व्यवसाय हटाउँदा केही मार पर्ने भएकाले रोकिरहेको उनको भनाइ छ । दसैं र तिहार जस्ता मुख्य-मुख्य चाडपर्वमा व्यापार गर्न दिन व्यापारीहरूले ज्ञापनपत्र बुझाएको महर्जनले जानकारी दिए । 'भर्खरै मात्र व्यवसायमा लगानी गरेका छौ भन्दै व्यापारीहरू आइरहेका छन्,' उनले थपे, 'विकाससँगै मानवीय व्यवहारलाई पनि ख्याल गर्नुपर्ने आवश्यक देखिन्छ ।'

महानगरका प्रवक्ता नवीन मानन्धरले २२ नम्बर वडाले त्यस क्षेत्रका अनधिकृत भवन भए रिपोर्टिङ गराउनुपर्ने बताए । अनधिकृत भवन भएमा वडा कार्यालयसँग सम्पर्क गरेर बुझिन्छ । 'कहाँ र कति संरचनाहरू अनधिकृत छन त्यसको तथ्यांक वडालाई संकलन गर्नु भनिन्छ,' उनले इकागज सुनाए ।


Author

थप समाचार
x