समाज

निर्वाचन आचारसंहिता विपरीतका गतिविधि हुन नदिन सुक्ष्म अनुगमन गर्दै आयाेग

इकागज |
भदौ २७, २०७९ सोमबार २०:५० बजे

काठमाडौँ- निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि हुन नदिन सुक्ष्म अनुगमनको व्यवस्था गरेको बताएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दल र त्यसका उम्मेदवारहरूलाई निर्वाचन आचारसंहिता र कानुन विपरीतका गतिविधिहरू हुन नदिन आयोगले आवश्यक नीतिगत र संरचनागत व्यवस्था गरेको बताएका हुन् । सोमबार राष्ट्रिय सभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले सो निर्वाचनमा उम्मेदवारहरूले गर्ने खर्चको सीमाबारे आयोगले एक हप्ताभित्र पुनरावलोकन गरि सार्वजनिक गर्ने जानकारी समेत दिए ।


आयोगले यही भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने पनि जनाएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी निर्वाचन प्रयोजनका लागि मतदाता नामावली अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुर्‍याएको र त्यसलाई यही ३१ गते सार्वजनिक गर्ने योजना रहेको पनि बताए । उनले यसअघिको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनभन्दा कम खर्च हुने गरी आगामी मंसिर ४ गतेको निर्वाचन सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको पनि बताए । 


Author

थप समाचार
x