समाज

सुदूरपश्चिमका बाढीपीडितको सहयोग र उद्धार गर्न आरजु देउवाको आग्रह

इकागज |
असोज १, २०७९ शनिबार १८:५३ बजे

काठमाडौँ- नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले शुक्रबारदेखिको अविरल वर्षाका कारण सुदूरपश्चिमका विभिन्न स्थानमा आएको पहिरो र बाढीका पीडितलाई सहयोगका लागि नेपाल सरकार र सम्बद्ध सबै निकायसँग आग्रह गरेकी छिन् ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य डा देउवाले आज विज्ञप्ति प्रकाशन गरी सुदूरपश्चिमको अछाममा पहिरोका कारण ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेकी छिन् । साथै उनले पहिरोमा परेर घाइते भएकाहरूको तत्काल निःशुल्क उपचारको व्यवस्थाका लागि पनि नेपाल सरकार र सम्बन्धित निकायसँग माग गरिन् । पहिरोमा परी ज्यान गुमाउनेहरूका आश्रित परिवारलाई आवश्यक सहयोग र उद्धारका लागि उनले आग्रह गरेकी छिन् ।


त्यसैगरी डा देउवाले कञ्चनपुरमा बाढीका कारण तीन सयभन्दा बढी घर डुबानमा पर्नुका साथै ठूलो जनधनको क्षति भएकाले सो क्षेत्रमा तत्काल उद्धार र राहतका कार्यक्रम लगी पीडितलाई सहयोग गर्न पनि अनुरोध गरेकी छिन् ।

वर्षायाममा हरेक वर्ष नेपालका विभिन्न भू–भागमा बाढी र पहिरोले ठूलो मात्रामा मानवीय र भौतिक क्षति हुने गरेकाले यस समस्याको दीर्घकालीन समाधानका उपायहरूको पहिचान गरेर त्यसको कार्यन्वयन गर्न पनि उनले सरकारसँग अनुरोध गरिन् ।


Author

थप समाचार
x