समाज

किन बढ्दैछ आत्महत्या ?

मधेश प्रदेशमा छ वर्षमा ४ हजार बढीले गरे आत्महत्या

सुभाष कर्ण |
असोज १, २०७९ शनिबार २०:२१ बजे

सांकेतिक तस्बिर

जनकपुरधाम- मधेश प्रदेशका आठवटै जिल्लामा आर्थिक वर्ष २०७३/७४ देखि हालसम्म ४ हजार ७८३ जनाले आत्महत्या गरेको प्रदेश प्रहरीको तथ्यांकले देखाएको छ ।

मधेश प्रदेशमा आर्थिक वर्ष २०७३/७४ मा ५८० जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०७४/७५ मा सो संख्या बढेर ६३६ पुगेको थियो भने २०७५/७६ मा भने ७१७ जना गर्दै चालू आर्थिक वर्षको भदौ मसान्तसम्म ४ हजार ७८३ जनाले आत्महत्या गरेको मधेश प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।


सबैभन्दा बढी आर्थिक वर्ष २०७८/७९ मा मात्र १ हजार १८ जनाले आत्महत्या गरेका छन् भने आर्थिक वर्ष २०७६/७७ मा भने आत्महत्या गर्नेको संख्या ८१७ जना र २०७७/७८ मा ९५९ जनाले आत्महत्या गरेको घटना देखिएको छ । चालू आर्थिक वर्षमा मात्रै ५६ जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

२०७८/७९ मा सिरहामा सबैभन्दा बढी १९० जनाले आत्महत्या गरेका थिए । यस्तै धनुषामा १४८, बारामा १४५, महोत्तरीमा १४२, सप्तरीमा १३३, पर्सा र रौतहटमा १००/१०० र सर्लाहीमा ६० जनाले आत्महत्या गरेका थिए ।

नेपाल सरकारले लिएको दिगो विकासको लक्ष्यमा सन् २०१५ देखि २०३० सम्ममा प्रति एक लाख जनसंख्यामा आत्महत्याको दरलाई ४.७ प्रतिशतमा ल्याउने लक्ष्य राखिएको प्रवक्ता प्रहरी उपरीक्षक तिम्सिनाले बताएका छन् ।

आत्महत्याको मुख्य कारण मानसिक स्वास्थ्य मानिएको छ । मानिसक स्वास्थ्य उपचारमा पहुँच बढाउनका लागि काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इन.सी.डी तथा मानसिक स्वास्थ्य शाखाले जनाएको छ ।

बढ्दै गएको आत्महत्याकाे घटना रोकथाम गर्न जनचेतना फैलाउने उद्देश्यले अन्तर्राष्ट्रिय रूपमै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को संयोजनमा सन् २००३ देखि विश्व आत्महत्या दिवस मनाइँदै आएको छ । सो अन्तर्गत आत्महत्या निरुत्साहित गर्न नेपालमा पनि यो दिवस प्रत्येक वर्ष मनाइँदै आएको छ । तर, खासै उपलब्धि नदेखिएको सरोकारवालाहरूको भनाइ छ ।

विभिन्न सरकारी तथा गैर सरकारी संस्थाले आत्महत्याविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै आए पनि याे कार्यक्रम कोठाभित्रै सीमित भएकाले खासै असर नपरेको मनोविज्ञहरूकाे भनाइ छ ।

राज्यपक्ष गम्भीर नरहेकै कारण आत्महत्या घटना दिनप्रतिदिन विकराल रूप लिएकाे आरोप मनोविज्ञ डा. विजय सिंहले लगाएका छन् । 'राज्यपक्ष तथा विभिन्न संघसंगठनहरूले आत्महत्या घटना निरुत्साहित गर्नका लागि जनचेतना फैलाउन प्रत्येक वर्ष आत्महत्या दिवस मनाउँदै आएको छ,' उनले भने, 'तर ती दिवस सामाजिक स्तरमा कुनै जनचेतनामूलक कार्यक्रम नभई मञ्चीय भाषणको रूपमा कोठामै सीमित हुन गएकाले प्रभावकारी हुन सकेन ।'

किन बढ्दै छन् आत्महत्याका घटना

डा. सिंहले बढ्दै गएको आधुनिकतामा सामाजिक र आर्थिक तनावका कारण आत्महत्याका घटना दिनप्रतिदिन बढ्दै गएको बताए । उनले भने, 'खासगरी युवा वर्गमा बेरोजगारी, ड्रग्स सेवन, पारिवारिक आर्थिक तंगी र सामाजिक तनाव आत्महत्या घटना बढ्नुको प्रमुख कारण हो ।'

पछिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी आत्महत्या हुनुको कारण कोरोना संक्रमण पनि हो । कोरोना संक्रमणकालमा बेरोजगारी समस्याले प्रभाव पारेका कारण बढ्न गएको डा. सिंहले बताए । उनका अनुसार बढ्दै गएको आधुनिकतामा टेलिसिरियल, फिल्ममा देखाइएको पहिरनले पारेको प्रभावले उत्पन्न समस्या र उत्पन्न गरेको अनैतिक सम्बन्धले आउने पारिवारिक विचलन पनि आत्महत्याको प्रमुख कारक हो ।

डा. सिंहले आत्महत्या घटना निरुत्साहित गर्न गम्भीर रूपले बेरोजगारी समस्या समाधान, ड्रग्स सेवनबाट युवायुवतीलाई मुक्ति लगायतका क्षेत्रमा काम गरे केही हदसम्म न्यूनीकरण हुन सक्ने बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x