समाज

बाढीका कारण कैलालीमा हजारौँ परिवार विस्थापित

दीपक उपाध्याय |
असोज २, २०७९ आइतवार १३:२७ बजे

कैलाली - कैलालीमा शनिबार आएको बाढीका कारण हजारौँ परिवार विस्थापित भएका छन् । विस्थापितहरू यतिबेला हुलाकी राजमार्ग, सडक, विद्यालय भवन, सुरक्षित भवन र पक्की घर भएका आफन्तहरूको छतमा बसिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले विस्थापितहरूको एकिन तथ्यांक आइनसके पनि करिब ६ हजार परिवार विस्थापित भएको बताए । घरमा पसेको पानी अझै निस्कन नसक्दा विस्थापितहरू सहज रूपमा घरमा फर्कन सक्ने वातावरण अझै नरहेको सूचना अधिकारी जोशीले जानकारी दिए ।


अहिलेसम्म प्राप्त तथ्याङ्कअनुसार भजनी नगरपालिकाका करिब पाँच/छ हजार, टीकापुर नगरपालिकाका ८०/९० परिवार, जानकी गाउँपालिकाका ७०/८० परिवार विस्थापित भएको खबर मात्रै आएको बताउदै सूचना अधिकारी जोशीले चार सय परिवार डुबानमा परेको जोशीपुर गाउँपालिका र झन्डै दुई सय घर डुबेको कैलारी गाउँपालिकाको विस्थापितको तथ्याङ्क जिल्ला प्रशासन कार्यालयसम्म आइपुगेको बताए ।

 

 

विस्थापितहरूको यकिन तथ्याङ्क नभएका कारणले एक द्वार प्रणालीबाट राहत वितरण गर्न समस्या भइरहेको जोशीले बताए । ५८ हजार जनसङ्ख्या रहेको भजनी नगरपालिकामा ३५/४० हजार घरपरिवार बाढीबाट प्रभावित भएका छन् ।

पाँच हजारभन्दा बढी परिवार विस्थापित भएर सडकमा आइसकेको र धेरैको अझै उद्धार नै हुन नसकेको भजनी नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का वडा अध्यक्ष विक्रम चौधरीले बताए । ‘अझै पनि धेरै मान्छे घरको छाप्रोमा बसेका छन् । डुङ्गाविना उनीहरूको घरसम्म पुग्न सक्ने स्थिति छैन । उनीहरूको उद्धारै भएको छैन’, उनले भने,‘प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयलाई हामीले हेलिकोप्टरमार्फत उद्धारका लागि गुहार्‍यौँ । तर, सुनुवाइ भएन ।’

उद्धारको पर्खाइमा रहेकाहरू हिजोदेखि घरको छाप्रोमा बसिरहेको चौधरीले बताए । उनले सबैजना उद्धार कार्यकै लागि खटिरहेकाले अहिलेसम्म कसैलाई राहत पनि वितरण गर्न नसकेको बताए । शनिवार मोहना, काढा, कान्द्रा, कर्णाली, पथरैया, कटैनी लगायत नदीनालामा आएको बाढीले कैलालीमा बबण्डर मच्चाएको हो ।

बाढीका कारण धनगढी उपमहानगरपालिका–१३ की २० वर्षीया नवीना चौधरीको ज्यान गएको छ । भने, भजनी नगरपालिका–८ गोरचौराका ५५ वर्षीय कालुराम चौधरीको शव आज फेला परेको छ ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x