समाज

लिमीमा हिमपात

इकागज |
असोज २, २०७९ आइतवार १८:८ बजे

फाइल तस्बिर

सिमकोट- हिमालपारिको गाउँको नामले चिनिने हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीसहित उच्च भेगमा हिमपात भएको छ । होचो स्थानमा दुई दिन लगातार पानी परेपछि लिमीसहित अग्गा डाँडामा हिमपात भएको छ । हिमपातले हिमाल सेताम्य देखिएको छ । 

हिमपातले चिसो बढेसँगै लेकमा भएका पशुबस्तु र गाई गोठालालाई समस्या बनाएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातले गाईवस्तु, याक चाैँरीलाई समस्या भएको त्यस क्षेत्रका स्थानीयवासीले बताएका छन् । नाम्खा–६ को लिमी गाउँमा असोज महिनामै हिमपात भएको हो । बिहीबार रातिदेखि लगातार वर्षा हुँदा हुम्लाको उत्तरी लिमीका तीनवटै तिल, हल्जी र जाङ गाउँमा एक्कासि हिमपात भएको स्थानीयवासी तेन्जिननुर्वु लामाले बताए ।


उनका अनुसार अविरल परेको हिमपातले अन्नबालीमा क्षति पुर्‍याएको छ । 

अविरल वर्षा हुँदा वर्षको एक पटक पाक्ने बाली नाफललगायत अन्नपात नष्ट गरेको छ । फेरि यो वर्ष पनि लिमीवासीलाई सरकारी राहतमाथि निर्भर हुन् बाध्य पर्ने लामाले गुनासो पोखे । गाउँपालिकाका अध्यक्ष प्रेम लामाले न्याउलु लेकको बाटो खुलाई सक्दो राहतको पहल गर्ने बताए । 

उत्तरी हुम्लामा कात्तिक महिना अन्तिम सातादेखि हिमपाता सुरु हुनुपर्नेमा यसपटक समयमा मौसम परिवर्तनकै कारण भदौ अन्तिम दिनमा हिउँ परेको हो । उत्तरी नाम्खाको लिमीमा चार इञ्च हिउँ जमेको नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए ।

उच्च हिमाली जिल्ला हुम्लामा हिमपात र अविरल वर्षापछि प्रमुख जिल्ला अधिकारी सीता परियारले हुम्लाका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेका छन् । 


Author

थप समाचार
x