समाज

कञ्चनपुरमा बाढीले पाक्नै लागेको धान खेती नष्ट

इकागज |
असोज ३, २०७९ सोमबार १९:७ बजे

कञ्चनपुर - शुक्रबार रातिको अविरल वर्षापछि आएको बाढीले खेती नोक्सान गरेपछि किसान चिन्तित बनेका छन् । धानमा बाला लागेर पाक्नै बेलामा बाढीले क्षति पुर्‍याएपछि किसान निराश बनेका हुन् । 

लालझाडी गाउँपालिका–३ नन्द गाउँका लोकबहादुर बडायकले पाँच बिघा खेतमा धान खेती गरेका थिए । शुक्रबार रातिदेखि अविरल वर्षापछि दोदा नदीमा आएको बाढीले उनको धान खेतीमा क्षति पुर्‍यायो ।


खेतको बालीमा मात्रै होइन बडायकको घरभित्र भण्डारण गरेको अन्न पनि बगाएको छ । `आफ्नै पाँच बिघा जमीनमा धान लगाएको थिएँ, नदीले ल्याएको बालुवाले सबै पुरिदिएको छ`, उनले भने, `धान सबै ढलाएको छ, त्यति मात्रै होइन घरभित्रको अन्नपातसमेत बाढीले भिजाएको छ ।`

बाढीले छ महिनाको मेहनतको फल धानको बाला टुसाउँदै गर्दा खेतमै नष्ट गरिदिएको उनको गुनासो छ । `धानको बाला लागिरहेका थिए, केही ठाउँका त पाकेर दसैँतिर काट्ने भइहाल्थे`, न.उनले भने, `तर बाढीले सबै सखाप पारेको छ, खेतमै बालुवाले च्यापेर ढलेका छन् ।` 

उनलाई अब परिवार कसरी पाल्ने भन्ने चिन्ताले पिरोलिरहेको छ । `११ जनाको परिवार छ, वर्षभरि खाने घरभित्र र खेतको अन्नबाली सबै सत्यानाश भएपछि अब के गर्ने ?`, उनले प्रश्न गरे । 

गत वर्षको बाढीले पनि धान खेतीमा क्षति गर्दा भित्र्याउन नपाएको उनले सुनाए । `गत वर्ष पनि खेती भित्र्याउन पाएनौँ, यसपटक पनि यस्तै भयो`, उनले भने, `घरभित्र बाढीले बालुवा थुपारेर बस्न सकिएको छैन, त्रिपाल टाँगेर बसेका छौँ ।`

लालझाडी गाउँपालिकाको छ वटै वडामा बाढीले खेतीपातीमा ठूलो क्षति पुर्‍याएको कृषि शाखाप्रमुख हजमिला लावडले बताए । `बाढीले धान, उखु, बदाम, सखरखण्डलगायतमा ठूलो क्षति पु¥याएको छ, हामी क्षतिको विवरण संकलन गरिरहेका छौँ`, उनले भने, `पालिकाको आधा खेतीमा क्षति पुर्‍याएको अनुमान छ ।`

वर्षदिनभरि खाने अन्न माटोमै मिसिएपछि शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका हरिकृष्ण भट्ट पनि परिवार कसरी पाल्ने भनेर चिन्तित छन् । उनले भने, `वर्षभरि खाने धान खेतमै बालुवाले ढाकेको छ, अब कसरी परिवार पाल्ने, अनिकाल लाग्ने भयो ।`

एकान्त टोलमा १५ कठ्ठा जग्गामा लगाएको धान खेतीमा वनहरा नदीको बाढीले क्षति पुर्‍याएको उनले बताए । `धानसँगै बदाम, मास र तिल पनि बाढीले ल्याएको बालुवाले पुरियो, २०६४ सालयता यस्तो बाढी हामीले कहिल्यै देखेनौँ`, उनले भने । 

दोदा, वनहरा, स्यालीलगायत नदीको बाढीले कञ्चनपुरको पुनर्वास, शुक्लाफाँटा, बेलौरी, लालझाडी, कृष्णपुर क्षेत्रको तटीय क्षेत्रमा बालीनालीमा क्षति पुर्‍याएको कृषि ज्ञानकेन्द्र कञ्चनपुरका प्रमुख दिलबहादुर बिष्टले बताए । 

`बालुवाले पुरेको बाली उठ्न समस्या छ, अरू त बिस्तारै पानी कम हुँदै गएपछि उठ्न सक्ला`, उनले भने, `बाढीले खेतीमा क्षति गरेको प्रारम्भिक जानकारी छ, के कति क्षति भन्ने यकिन विवरण आएको छैन ।` आफूहरु पनि बाढी प्रभावित क्षेत्रको अनुगमनमा गएकाले क्षतिको पूर्ण विवरण आउन केही समय लाग्न सक्ने उनले बताए । रासस


Author

थप समाचार
x