समाज

बालकमाथि अप्राकृतिक मैथुन गरेको आरोपमा ढकाल जेल चलान

इकागज |
असोज ५, २०७९ बुधबार २१:८ बजे

विराटनगर- बालकलाई अप्राकृतिक मैथुन गराएको आरोपमा पक्राउ परेका गैरसरकारी संस्था महासंघ नेपाल मोरङका अध्यक्ष राजेन्द्रप्रसाद ढकाललाई थुनामा पठाउन जिल्ला अदालत मोरङले आदेश दिएको छ । बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

‘थुनछेक बहसपछि माननीय न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो,’ बुढाथोकीले भने, ‘तत्काल प्राप्त प्रमाणबाट कसुरदार हो भन्ने मनासिव आधार देखिएको निष्कर्षपछि यस्तो आदेश भएको हो ।’


ढकाललाई आफ्नै छिमेकी १३ वर्षीय बालकलाई घरमा बोलाएर अप्राकृतिक मैथुन गराएर यौन शोषण गरेको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको थियो । यौन शोषण गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङमा ढकालविरुद्ध गत भदौ १५ गते जाहेरी दर्ता गरेको हो । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान पश्चात जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा पठाएको थियो ।

गैरसरकारी संस्था महासंघ मोरङ सम्वद्ध एक दर्जन बढी संघसंस्थाहरूले घटनाको निष्पक्ष अनुसन्धानका लागि आग्रह गर्दै दोषी देखिए कानुनबमोजिम कडा कारबाहीको माग गरेका थिए । घटना बाहिरिएलगत्तै महासंघले ढकाललाई अध्यक्ष पदबाट निलम्बन समेत गरेको थियो ।

विराटनगर–१२ निवासी ५० वर्षीय ढकालले बालबालिका र शिक्षाको अधिकारसम्बन्धी क्षेत्रमा काम गर्ने एजुकेसन हेल्पलाइन नामक संस्था चलाउँदै आएका थिए । बाल अधिकारको क्षेत्रमा काम गर्ने जिम्मेवार व्यक्तिबाटै यौन दुर्व्यवहार भएपछि प्रहरीले गम्भीरताका साथ अनुसन्धान अघि बढाएको थियो ।

आराेपित ढकालले बालकमाथि पटक–पटक अप्राकृतिक मैथुन गरेको आरोप लागेको थियो । उनीविरुद्ध यसअघि पनि अर्को त्यस्तै आरोप लागेपछि छलफल गरेर आइन्दा यस्तो काम नगर्ने शर्तमा मिलापत्र गराइएको थियो । तर, ढकालले भने करिब ६ महिना अघिदेखि नै ति बालकलाई दुर्व्यवहार गर्ने गरेको र गत भदौ १३ गते समेत घरमा बोलाएर अप्राकृतिक मैथुन गर्न बाध्य बनाएको जाहेरीमा उल्लेख छ । उनले कुनै पनि कुरा बाहिर नभन्न भन्दै बालकलाई त्रास देखाएको जनाइएको छ ।

मुद्दाको अन्तिम किनारा लाग्दा ढकाल दोषी प्रमाणित भए मुलुकी अपराधसंहिता २०७४ बमोजिम ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ । पीडित पक्ष बालबालिका भएको खण्डमा अपराधसंहिताको व्यवस्थाअनुसार उनीमाथि थप सजाय हुनसक्ने जनाइएको छ ।


Author

थप समाचार
x