समाज

‘सेल’का सामानले लोभ्याउला है !

इकागज |
असोज ७, २०७९ ८:१७ बजे

काठमाडौँ - दसैँ नजिक आइसकेको छ । बजारमा सर–सामान किन्नेहरूको चहलपहल बढ्न थालिसकेको छ । हामीमध्ये धेरैजनाको आँखा बजार जाँदा एउटा शब्दमा अडिन्छ, लोभिन्छ । त्यो हो– सेल । 

यतिबेला ‘सेल’, ‘छुट’, ‘बम्पर धमाका’, ‘गिफ्ट ह्याम्पर’ ‘एउटा किन्दा अर्को सित्तैमा’ जस्ता अफरै अफरले बजारलाई छोपिसकेको छ । चाडपर्वका बेला बजारले उपभोक्तालाई सकेसम्म बढीभन्दा बढी सामान किन्न प्रेरित गर्छ । फलस्वरुप अफरका नाममा विभिन्न छुटहरूको व्यवस्था गरिएको हुन्छ । अनि हामी सस्तोमा पायो भन्दैमा आफूसँग भइरहेको वा आवश्यकता नै महसुस नभएको सामान पनि किन्छौँ । किनभने, उपभोक्ताको मनोविज्ञान बुझेर नै बजारले विभिन्न अफरहरूको आयोजना गरिरहेको हुन्छ । 


चाडपर्वमा लत्ताकपडादेखि डिपार्टमेन्ट स्टोरहरूले घरायसी सामानमा छुट वा अफर राखेका हुन्छन् । ती सामानमा ठूलो अक्षरमा ‘छुट’, ‘सित्तैमा’ देख्ने बित्तिकै हामी दायाँबायाँ विचारै नगरी उठाउँछौँ । तर, सामान कत्तिको गुणस्तरीय छ, त्यसको मिति नाघिसकेको छ÷छैन, सडेको छ कि सद्दे छ त्यतातिर हाम्रो ध्यान जाँदैन । बजारमा भारी छुटमा पाइने सामान कुनैको मिति नाँघेको हुनसक्छ । कुनै नयाँ मिति टाँसेर बिक्रीमा राखिएको हुन सक्छ । व्यापारीहरूले अरु बेला नबिकेका र बिग्रिएका सामान सस्तो भन्दै सेलका नाममा तह लगाउँछन् । 

बजारमा ‘एउटा किन्दा अर्को सित्तैमा’ भनेर थुप्रै सामान बिक्रीमा राखिएको हुन्छ । व्यापारीले कुनैपनि सामान पैसा नतिरी सित्तैमा दिँदैनन् । सित्तैमा पाइयो भन्दै किन्ने उपभोक्ता मूर्ख हुन् । हामीले सित्तैमा वा छुटमा भनेर किन्ने सामानमा पनि नजानिँदो तरिकाले पैसा जोडिएको हुन्छ ।  एउटा राम्रो सामान आउने पैसाले अफरमा चार वटा आउँला तर, त्यो राम्रो हुँदैन । खानेकुरा हो भने स्वस्थकर हुँदैन । अरु वस्तु हो भने गुणस्तरको हुँदैन । छुट र अफरका सामानहरू विश्वसनीय र गुणस्तरीय हुँदैनन् । बिक्री नभएका सामानलाई धुलो टक्टक्याएर अफरमा राखिएको पनि हुन सक्छ । तर, तिनै सामान सित्तैमा पाइयो भनेर हामी मख्ख पर्छौँ । 

चाडपर्वमा अफरको नाममा गोजी रित्याएर अनावश्यक सामान भित्र्याउनु एकदमै नराम्रो बानी हो । ती सामानहरू हामी कहिल्यै प्रयोग गर्दैनौँ, लगाउँदैनौँ । घरमा ल्याएर यत्तिकै थन्किने सामान किन किन्ने ? त्यसैले आफूले कुनैपनि सामान किन्नु अगाडि ‘के यो सामान साच्चै मलाई आवश्यक छ ?’ भनेर आफैँलाई प्रश्न गर्नुपर्छ । आफूलाई काम लाग्छ/लाग्दैन भनेर विचार गर्नुपर्छ । आवश्यक नै छ भने मात्र किन्नुपर्छ । नत्र अनावश्यक सामान किनेर घरमा थन्काउँदा पैसा पनि खर्च हुन्छ र ती सामान बिना प्रयोग यत्तिकै घरमा थन्किन्छन् । त्यसैले, बजार गएर एउटा अफरको सामान उठाउनुअघि दश पटक सोच्नुपर्छ ।
 


Author

थप समाचार
ad
x