समाज

मेलम्ची, इन्द्रावतीमा पाइन थाले माछा

इकागज |
असोज ७, २०७९ शुक्रबार ९:१० बजे

सिन्धुपाल्चोक - बाढी आउनु अघिसम्म सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु, इन्द्रावती, तिपेनीलगायत खोलाका माछाले राम्रो बजार पाएको थियो । गत वर्ष बाढी आएपछि भने माछा पाउन छाड्यो । माछा मारेर जीविकोर्पाजन गर्ने स्थानीय निकै मारमा परेका थिए । अहिले भने ती खोलामा माछा पाइन थालेको छ ।

मेलम्ची, हेलम्बु, तिपेनीलगायत क्षेत्रमा लोकल माछा र ढिँडो खान तथा माछाका विभिन्न परिकार खान आन्तरिक तथा बाह्य पर्यटक  आउने गरेका थिए । यहाँका माझीहरूले मारेका माछा सहजै बिक्थे । पर्यटकले खानेमात्रै होइन, किनेर पनि लैजाने गर्थे । तर गत वर्षको बाढीका कारण पाइन छाडेपछि उनीहरु मारमा परेका थिए । अहिले फेरि माछा पाइन थालेको छ । 'माछा फेरि पाइन थालेको छ, खाने ग्राहक भने पहिला जस्तो आउने गरेका छैनन्', होटल व्यवसायी चन्द्रमाया नेवार्नीले भनिन् । 


काठमाडौँको जोरपाटीका रामचन्द्र श्रेष्ठ माछा पाउन थालेको थाहा पाएपछि मेलम्ची आएको बताए । मेलम्चीका माछा निकै स्वादिलो भएको उनी बताउँछन् । यहाँ असला, कत्ले, काभ्रेजस्ता माछा पाइन्छन् । अहिले मेलम्ची, इन्द्रावती, तिपेनीलगायत खोलामा लगभग दैनिक २० किलोसम्म माछा फेला पर्ने गरेको स्थानीय माझीहरू बताउँछन् । माछा मारेरै जीविका चलाइरहेको माझी समुदायको पेशा बाढीका कारण सङ्कटमा परेको थियो । 

बाढीपछि अहिले माछा पाउन थालेको शम्भु माझीले बताए । उनले दैनिक दुई किलोसम्म माछा मारेर बिक्री गर्दै आएका छन् । प्रतिकिलो एक हजार एक सयसम्ममा बेच्ने गरेको उनले बताए ।

माछा पुनः पाइन थालेपछि यहाँका व्यापारी, माझी, पर्यटकलगायत खुसी भएका छन् । बाढीका कारण माछा व्यवसायीको उठिबास भएपछि पछिल्लो समय मेलम्चीमा बाहिरबाट आयात गर्नुपर्ने स्थिति थियो । 


Author

थप समाचार
x