समाज

ओलीका कारण एक घण्टा ढिलो गुड्यो रेल

सुभाष कर्ण |
असोज ८, २०७९ शनिबार १३:४८ बजे

जनकपुरधाम - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण नेपाल रेल्वे निर्धारित समयभन्दा आज एक घण्टा ढिलो चलेको छ । जनकपुरधामबाट जनयनगरका लागि बिहान ११ बजे गुड्ने रेल ओली चढ्ने भएपछि निर्धारित समयभन्दा एक घण्टा ढिलोगरी करीब १२ बजेतिर गुडेको हो ।

कुर्थाबाट निर्धारित समयमै जनकपुरधाम स्टेशनमा आइपुगेका १० मिनेट होल्ड गर्नुपर्नेमा रेलमा बसेका यात्रुहरूलाई ओलीका कारण एक घण्टा बस्नु पर्‍यो। एमालेले धनुषाको तिनकौरियामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका ओली रेल चढेर तिनकौरिया जाने बाटो महिनाथपुरसम्म गएका हुन् ।


एमाले नेता कार्यकर्ताहरूले ओली रेल चढेर जाने भनेर रेल रोकाएर राखेका थिए । नेपाल रेलवेका महाप्रबन्धक निरञ्जन झाले ओलीका कारण यात्रुहरूलाई एक घण्टा सास्ती भोग्नु परेको स्वीकार गरे । 'भिभिआईपी जस्ता व्यक्ति रेल चढेर जानुहुन्छ । उहाँ आफैले समयको ध्यान दिनुर्थ्यो,' उनले भने, 'रेल शुरु भएको मितिबाट अहिलेसम्म ढिलो गरी गुडेको छैन, आज पनि ढिलो हुने अवस्था थिएन । एमालेका नेता कार्यकर्ताहरूले यहाँ आएर ओली रेल चढनु हुन्छ भने आग्रह गरेपछि पूर्वप्रधानमन्त्री जस्ता व्यक्तिको इच्छा मार्न सकिएन ।' जहाँसम्म ढिलोको कुरा हो उहाँले आफै सोच्नुपर्ने विषय हो, उहाँका कारण एक घण्टा यात्रुलाई सास्ती भोग्नु परेको हो ।

ओली तथा एमालेको नेता तथा कार्यकर्ताको रेल यात्राका लागि कुल १ सय ४२ वटा टिकेट कटाएका थिए । एसी बगीको ५६ र जेनरल बगीको ८६ वटा टिकेट मात्र काटिएको महाप्रबन्धक झाले बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x