समाज

आज घटस्थापना, घरघरमा जमरा राखिँदै

इकागज |
असोज १०, २०७९ सोमवार ६:२९ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपालीहरूको महान चाड बडा दसैँ आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर आश्विन शुक्ल पूर्णिमासम्म १५ दिने धुमधामसँग मनाइने दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घटस्थापना गरिँदैछ ।

घरको पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ ।


आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ ।

आजदेखि नौ दिनसम्म देवीको आरधना गरी १०औं दिन विजया दशमीको दिन प्रसाद मानेर जमरा लगाउने गरिन्छ । घटस्थापनाको साइत बिहान १०:२३ मिनेटमा तय गरिएको छ । बिहान ९:१५ देखि १०:२३ सम्मको समय घटस्थापनाको लागि शुभ समय निर्धारण गरिएको छ ।

केही व्यक्तिले सामूहिक र देवी मन्दिरमा पनि घटस्थापना गर्ने गर्दछन् । आजदेखि नौ दिनसम्म महाकाली, महालक्ष्मी, र महासरस्वती माताको विशेष आरधना गर्ने गरिन्छ ।

आजदेखि उपत्यका र देशभरका देवी मन्दिरमा दर्शनार्थीको घुँइचो लाग्ने गर्दछ । काठमाडौंको गुहेश्वरी, दक्षिणकाली र उपत्यकाभित्रका देवी मन्दिरमा दर्शनार्थी परिक्रमा दर्शन गर्ने गर्दछन् ।


Author

थप समाचार
x