समाज

दसैँको पहिलो दिन : आँशु पुछ्‍दै देश छाड्‍दै

अतिन आचार्य |
असोज १०, २०७९ सोमवार १०:५६ बजे

काठमाडौँ- दसैँको पहिलो दिन घटस्थापनामा बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानिसको चहलपहल निकै बढेको छ । बिहानै ट्रली ओहोरदोहोर, हातमा झोला, घाटीमा माला लगाएका  र आफन्तलाई बिदाइ गर्नेको पनि उत्तिकै भीडभाड छ ।  

विमानस्थलमा स्वदेश फर्कँनेभन्दा छाड्नेको संख्या धेरै छ । सबैका हात-हातमा झोला, पासपोर्ट र निधारमा रातो टिका र घाटीमा विभिन्न रंगका खादा लगाएका छन् । बिदाइका हात र आँसु पुस्‍ने हातहरू माथि उठेका छन् ।


पछिल्लो समय कोभिड-१९ को महामारी कम भएपछि र खोपको सहजै उपलब्धता बढेपछि वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको छ । दुबई, साउदी, ओमान, बहराइन, जापान, साइप्रस, कुवेत, मलेसिया, रोमानिया, माल्दिभ्स, क्रोएसियालगायतका देश जाने नेपाली विमानस्थलमा देखिन्छन् । 

रौतहटका सुरेश मण्डल बिहानै देश छाड्न विमानस्थल पुगेका छन् । उनी देश छाड्नेको लाइनमा छन् । उनलाई हिन्दू धर्मावलम्बीको महान चाड दसैँ मनाउन नपाइएला भन्ने चिन्ता छैन । कतारमा पुगी धन कमाउने आशाले विमानस्थलसम्म पुर्‍याएको छ ।

मण्डल भन्छन्,' हामीलाई दसैँको के मतलब भिसा र टिकट आएपछि जानै पर्‍यो । चाडपर्व मनाएर के गर्नु पैसा सित्तैमा आउँदैन, घरमा बसेर घर खर्च धान्न मुस्किल भइसक्यो । देशमा बसेर काम पाइँदैन् त्यसैले देश छाड्नु परेको छ ।'

मकवानपुरकी सीता पाख्रिन पनि मण्डल जस्तै दसैँको पहिलो दिन देश छाड्नेको लाइनको अग्रपङ्तिमा छिन् । रहरले नभइ बाध्यताले  देश छाड्न लागेको उनी बताउँछिन् । 

मानिस फरक-फरक भए पनि वैदेशिक रोजगारमा जानेहरूको बाध्यता भने समान छ । गरिबी, अभाव र घरमा चुलिँदै गएको ऋण वैदेशिक रोजगारीम जानेहरूको समान पीडा हुने गरेको छ ।

सीता दुबई जान लागेकी हुन् । विदामा आएकी उनी दसैँँ नमानी काममा फर्कनुपर्दाको पीडा सुनाउँदै भन्छिन्,' दुई महिनाको विदामा आएकी थिए । विदा थप्न पाइएन । आफैँ थपेर बस्दा पुनः विदेश जाँदा आफ्नो काम गइसकेको हुन्छ ।'

उनी विदेशमा साथीहरूसँग रमाइलो गर्ने योजनामा छिन् । परिवारसँग बसेर दसैँ  मान्‍न मन भए पनि बाध्यताले टाढिन परेको उनले दुःखेसो पोखिन् ।

गत भदौ ७६ हजार ४०३ जना नेपाली रोजगारीका लागि विदेश गएका छन् । विमानस्थल हुँदै दैनिक करिब २५ नेपाली श्रमिकहरू विदेशी भूमिमा जाने गरेका छन् । भदौमा कतारमा ११ हजार ७७५, यूएईमा ८ हजार ३६५, साउदीमा ६ हजार ७८४, कुवेतमा ५ हजार ३९ र कोरियामा १ हजार ७१५ जना नेपाली श्रमिक पुगेका छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x