समाज

सैँतीस जनाको परिवारको एउटै भान्सा

इकागज |
असोज ११, २०७९ मगलवार १६:५९ बजे

बाँके- एकल परिवारमा बाँडिइरहेको हाम्रो समाजमा संयुक्त परिवार विरलै देख्न पाइन्छ । धेरै दाजुभाइ मात्र होइन । एउटै परिवारका दाजुभाइ पनि छुटिएर एकल परिवार बनाएर बसेका छन् । तर, बाँकेको नरैनापुर गाउँपालिका–५ जमुनाहा गाउँमा ३७ जनाको परिवारका लागि एउटै भान्सामा खाना पाक्छ । 

सबैजना घरमा जुट्दा घरमा रौनक थपिन्छ । बिहे अनि चाडपर्वको माहोल बन्छ । कहिलेकाहीँ पाहुना आए पनि घरमा अटाउन मुस्किल पर्छ । उक्त परिवारमा आमासहित छ भाइको संयुक्त परिवारमा पत्नी छोराछोरी गरी ३७ जना एउटै घरमा बसिरहेका छन् ।
 
केटाकेटीदेखि किशोर वृद्धसम्म एउटै छानामुनि रमाइरहेका छन् । सबैको आ–आफ्नो कोठा नभए पनि घरको वरिपरि छतमा समेत उनीहरू सुत्ने गर्छन् । एकै पटक ३७ जनालाई खाना पकाउन नसक्दा हरेक छाकमा दुईपटक पाक्छ । 'बिहान बच्चाले खाना खाएर स्कुल जान्छन् पछि हामीहरूले खाने खाना पकाउँछौँ,' साइला छोरा समसुल खाले भने, 'एकै ठाउँमा कोचाकोच गरेर भए पनि बसेका छाैं ठूलो परिवारमा बस्ने बानी पर्‍यो अब छुटिएर एक्लै बस्न सक्दैनौँ ।' 


'सबैले आआफ्नो हिसाबले कमाए पनि घर व्यवस्थापनको जिम्मा मेरो हातमा परेको छ,' परिवारका साइला छोरा समसुल खाले भने, 'खर्च, बचत दुवै संयुक्त रूपमा गरेका छौँ ।' भान्सादेखि घरको सरसफाइ छ बुहारीको हातमा हुन्छ । पालैपालो आफ्नो पालोमा उनीहरूले खाना पकाउँछन् । 

घरकी साइली बुहारी चन्दा बेबीले पालैपालो आफ्नो जिम्मेवारी पूरा गर्ने गरेकाले कुनै मनमुटाव नहुने गरेको बताइन् । 

यो परिवारलाई एउटै डोरीमा बाध्ने मुखिया आमा जमुर्ता खा हुन् । ८२ वर्षीया जमुर्ता खा सबै छोरासँगै बसेको देखेर आफैँ दङ्ग छिन् । जमुर्ता अझै टाठी छिन् । घरको बागडोर उनको हातमा छ,' छोरा नाति सबै आफ्नै अगाडि देख्दा बडो आनन्द आउँछ जमुर्ताले भन्छन्, 'मान्छे एक दिन मरेर जान्छ बाचुञ्जेल हाँसीखुसी बाँच्ने हो ।' बाँकेको पूर्वी–दक्षिणमा पर्ने नरैनापुर गाउँपालिकामा छ वटा वडा छन् । अधिकांश वडामा मुस्लिम समुदायको बाहुल्यता छ । 

नरैनापुर गाउँमा अधिकांश परिवार संयुक्त रूपमा बस्दै आए पनि बिस्तारै छोराहरू एक्लिएर बस्न थालेका छन् ।  'पहिला पहिला ५०/६० को एउटै परिवार हुन्थ्याैं अहिले बिस्तारै छुटिएर एकल परिवारमा बस्न थालेका छन्,' नरैनापुरका स्थानीय जीयावन तमौलीले भने, 'संयुक्त परिवार सङ्ख्याको हिसाबले मात्र ठूला हुनु होइन भावना प्रेम समर्पण हिसाबले बलियो हुनु हो ।'


Author

थप समाचार
x