समाज

नर्स हुनु गर्व कि पश्चाताप ?

धनबहादुर गुरुङ |
असोज १२, २०७९ बुधवार १९:४६ बजे

पोखरा- पर्वतकी अनिता शर्माको स्टाफ नर्स पढाई सकिँदासम्म ८ लाख खर्च भयो । सरकारी नर्सिङ क्याम्पसमा ३ वर्षे पिसिएल नर्सिङ गरेकी उनको खर्च अरुको भन्दा कम हो । निजीमा बढ्ने उनका साथीहरुले १६ लाखसम्म खर्च गरेको उनले सुनेकी थिइन् । एसइई दिनेबितिक्कै बिरामीको सेवा गर्ने अनि धेरथोर पैसा कमाउने सोचले नर्स विषय रोजेकी उनी हिजोआज तनावमा छिन् । 

पढाई सकेर अस्पतालमा जागिरका लागि धाउन थालिन् । ८ लाख खर्च गरेर पढेपछि महिनामा राम्रै तलब आउँछ भन्ने उनको सोच थियो । जागिरको खोजीमा भौतारिएकी शर्माले पोखराको चरक हस्पिटलमा काम पाइन् । अस्पतालले सुरुको ६ महिना परीक्षणकाल भन्यो । परीक्षणकालमा पनि उनले मासिक तलब पाउने भइन् । तर, उनले आफूले सोचेको भन्दा निकै कम । आठ लाख तिरेर पढेकी शर्माको महिनाको तलब ८ हजार तय भयो । उनी त्यही समयमा छांगाबाट खसेजस्तै भइन् । निराशाको भूमरीमा रुमलिँदै ६ महिना कटाइन् । त्यसपछि १६ हजार तलब बढ्यो तर पनि उनी खुसी छैनन् । 


बढ्दो महगीं र कामको खटाई अनुसार पैसा नपाएको उनको गुनासो छ । नर्सले पाउने तलबप्रति असन्तुष्टि रहेकै बेला नेपालभरका नर्सहरु एकजुट भएर आन्दोलनमा लागेका छन् । केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पाँच बुँदे माग पत्र बुझाएका नर्सहरुले मंगलबार जिल्ला प्रशासन कार्यालय अघि शान्तिपूर्ण दबाब दिने कार्यक्रम थियो । त्यहाँ उनको सहभागिता थियो । आफ्नो हक अधिकारका लागि जस्तो अवरोध भएपनि सामना गर्न तयार रहेको उनले सुनाइन् । 

‘मैले अहिले १६-१७ हजार तलब पाउँछु यसमा म सन्तुष्ट छैन,’ उनले भनिन्, ‘लगानीअनुसार तलब भएन, मैले टियूबाट पढें मेरै ८ लाख खर्च भएको छ निजीमा पढ्ने मेरो साथीहरुको १६-१७ खर्च भएको छ ।’ 

‘श्रम शोषणविरुद्धको हाम्रो अभियान’ नारा दिएर देशभरका ८० हजार नर्सको ऐक्यवद्धतासहित विरोध सुरु गरेको पोखराबाट आन्दोलनको संयोजन गरिरहेकी सरस्वती पुरीले जानकारी दिइन् । निजी संघसंस्थाले नर्सहरु माथि गर्दै आइरहेको श्रम शोषणविरुद्ध आफूहरुको आवाज देशव्यापी रुपमा नै अघि बढिरहेको उनले बताईन् । पोखराका नर्सहरुले मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण विरोध स्वरुप धर्ना दिएको थियो ।

‘नर्स बन्ने भनेर १० देखि १५ लाख खर्च गरेर पढेको हुन्छ तर काम गर्ने बेलामा निजी अस्पतालहरुमा पाँचदेखि १० हजारसम्ममा काम गर्न बाध्य छन्,’ उनले भनिन्, ‘यसैकारण पनि ८० हजार नर्समध्ये आधा जति विदेश पलायन भएका छन् । सबै विदेश जान सक्ने खालका हुँदैनन् । विदेश जान नसक्नेहरुलाई आफूले गरेको परिश्रम अनुसारको पैसा पाउनुपर्छ भनेर हामीले आन्दोलन गरिरहेका छौं ।’ सरकारी अस्पतालमा काम गर्ने नर्सहरुले सरकारी स्केलअनुसार तलब पाएको भएपनि त्यो पनि पर्याप्त नरहेको उनको भनाइ थियो । 

केही दिनअघि नेपाल सरकार अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पाँच बुँदे माग पत्र बुझाएको उनले जानकारी दिइन् । उनीहरुले चिकित्सक र नर्सको माग समेटेर मन्त्रालय बुझाएको हो । उनीहरुको मागमा निजी अस्पतालको हकमा चिकित्सकका लागि मासिक ४० हजार र नर्सका लागि ३५ हजार रुपैयाँ हुनुपर्ने रहेको छ । यसका साथै चिकित्सकका लागि ५ लाख र नर्सका लागि ३ लाखसम्मको जीवन बीमा हुनुपर्ने माग समेटेका छन् ।

होम कियर नर्सका लागि मासिक तलब ३० हजार र २ लाखसम्मको जीवन विमा हुनुपर्ने उनीहरुको माग छ । होम कियर नर्सका सम्बन्धमा घरायसी काममा लगाउने, अमानवीय व्यवहार गरेको अनि यौन हिंसा गरेको प्रमाण भेटेमा होम केयर सञ्चालकको लाइसेन्स खारेज गर्ने र उनीहरुलाई कैद जरिवाना हुनुपर्ने माग पनि समेटिएको छ । यस्तै निजी अस्पतालमा काम गर्नका लागि लिखित र मौखिक परीक्षा लिएर भर्ना गर्नुपर्ने मागसहितको माग गरेका छन् । 


Author

थप समाचार
x