समाज

ढुक्कले चाडपर्व मनाउनुहोस् : काठमाडौं सीडीओ

इकागज |
असोज १३, २०७९ बिहीबार १९:२७ बजे

काठमाडौ– काठमाडौका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले चाडपर्व केन्द्रित शान्ति सुरक्षाको प्रबन्ध मिलाइएकाले ढुक्कले चाडपर्व मनाउन आग्रह गरेका छन् । 

तराई विकास तथा सञ्चार केन्द्र नेपालले आज तराई विकास तथा सञ्चार केन्द्र नेपालको हलमा आयोजना गरेको चाडपर्वमा हुने बजार अनुगमन तथा शान्ति सुरक्षाको अवस्था विषयक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी उपाध्यायले उक्त कुरा बताएका हुन् ।


‘नेपालीहरुको महान् पर्व विजयादशमी संघारमा आइरहँदा सर्वसाधारणहरुमा सुरक्षा चुनौती र उपभोक्ता हित विपरितका कार्य भईरहेको विषयमा जिल्ला प्रशासन कार्यालय जिम्मेवार छ, चाडपर्व केन्द्रित शान्ति सुरक्षाको प्रबन्ध मिलाइएको छ’ उनले भने । 

उनले भने, ‘नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको समन्वयमा सुरक्षा योजनालाई कार्यान्वयनमा ल्याइएको छ, उपत्यकाका तीनवटै जिल्लाको एकीकृत सुरक्षा योजनामा पनि कार्यान्वयनमा ल्याइएको छ ।’

उनले चाडपर्वमा यात्रुहरुले सास्ती खेप्नुपर्ने विषयमा समेत जिल्ला प्रशासन कार्यालयले ध्यानकेन्द्रित गरेको बताए ।

उनले भने, ‘घर फर्किने यात्रुहरुले सास्ती खेप्नु नपरोस् भनेर तीन वटै जिल्लाका प्रतिनिधिहरु सहित यातायात व्यवसायीका प्रतिनिधिहरुको समेत सहभागितामा यात्रुलाई सुरक्षित यात्रा गर्नका लागि १६ बुँदे योजना बनाएर कार्यान्वयनमा लैजाने प्रक्रियामा छौ ।’

प्रमुख जिल्ला अधिकारी उपाध्यायले घर फर्किने यात्रुहरु कष्ट भोग्नुपरेको स्वीकार गर्दै भने, ‘आज बिहानमात्र नयाँ बसपार्कबाट पश्चिम जान भेला भएका १ हजार यात्रुहरु अलपत्र परेको जानकारी पाएपछि उहाँहरुलाई यातायातको प्रबन्ध गरियो ।’

चाडपर्वको समयमा चोरी लगायतका अपराधिक घटनाहरु समेत बढ्ने हुँदा त्यस्ता घटनालाई नियन्त्रण गर्नका लागि तत्काल रेस्पोन्स गर्ने व्यवस्था मिलाइएको जानकारी गराए ।

प्रमुख जिल्ला अधिकारी उपाध्यायले उपभोक्ता हित संरक्षणका लागि सबैभन्दा पहिले आपूर्तिमा सहजीकरण हुनुपर्नेमा जोड दिए । ‘सामानको आपूर्ति भएपछि मात्र मूल्यको अवस्था, उपभोक्ता हित संरक्षण र खाद्य बस्तुको गुणस्तरको कुरा आउँछ त्यसैले आपूर्तिमा नेपाल सरकार सचेत रहेको छ,’ उनको भनाइ थियो । 

बजार अनुगमनको नेतृत्व वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गर्दै आएको जानकारी गराउँदै प्रमुख जिल्ला अधिकारी उपाध्यायले विभागको कार्यलाई सहजीकरण गर्ने, सुरक्षाकर्मी परिचालन गर्ने, जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि पठाउने कार्यमा जिल्ला प्रशासन कार्यालय जहिले पनि तयार रहेको बताए ।

हामीले चाहेजस्तो, खोजेजस्तो बजारको अवस्था नभएको स्वीकार गर्दै प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने, ‘उपभोक्ताले खोजेको कुरा प्राप्त होस्, त्यसमा कालोबजारी नहोस्, मानव स्वास्थ्यका लागि हानिकारक र म्याद गुज्रिएको अखाद्य पदार्थहरुको विक्रि वितरण नहोस्, यस खालको वातावरण बनाउन जिल्ला प्रशासन कार्यालय गम्भीर भएर लागिरहेको छ ।’
 


Author

थप समाचार
x