समाज

खसी भनेर बाख्राको मासु बिक्री

इकागज |
असोज १५, २०७९ शनिवार ११:५१ बजे

फाइल फोटो

काठमाडौँ- खसीको मासु भनेर बाख्राको मासु बिक्री गरिरहेको पाइएको छ । महानगरले सञ्चालनमा ल्याएको हटलाइन सेवा (टोल फ्रि नम्बर)मा उपभोक्ताले यस्तो गुनासो गर्न थालेपछि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालासहितको टोली अनुगमनमा निस्केको थियो ।

हटलाइनमा आएका गुनासोलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न विराटनगर महानगरका प्रमुख कोइराला शुक्रबार बिहानैदेखि नगर क्षेत्रमा रहेका माछा–मासु पसलको अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा विभिन्न मासु पसलले खसीको भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको भेटिएको थियो भने बाख्राको मासु पनि खसीको मूल्यमा बिक्री गर्ने गरेको पाइएको थियो ।
 
विराटगर–२ तीनपैनी स्थित नेवी फ्रेस हाउस, हाटखोलास्थित जेकी मिटमा बाख्राको मासु बिक्री गर्ने गरेको भेटिएको छ । अनुगमन टोलीले बाख्राको मासु जपत गेर तत्कालै नष्ट गरेको थियो । त्यसैगरी विराटनगर–८ देवकोटा चोकस्थित विराट एकीकृत कृषि फार्मले पाँच महिनादेखि डिप फ्रिजमा राखेको माछा गन्हाएको अवस्थामा फेला परेको छ । पसलका कर्मचारीले समेत पाँच महिनादेखि मरेको माछा फ्रिजमा राखेको स्वीकारेका थिए ।
 
यस्तै, महानगरले पुरानो गुद्रीमा अनुगमनका क्रममा पुग्दा अनुगमन टोली आएको थाहा पाएपछि अधिकांश व्यापारी पसल बन्द गरेर भागेका थिए । सोही टोलीले गुद्रीसहित सरोचिया, बरगाछी, तीनपैनीचोक, देवकोटा चोक, हाटखोलालगायत स्थानमा सञ्चालित करिब डेढ दर्जन माछा–माछा मासु पसलको अनुगमन गरेको थियो । खान मिट, गाउँले मिट सेन्टर, जाकिर मिट पसल, रोयल मल्लिक मिट सेन्टरलगायतका पसलका फ्रिजभित्र गन्हाएको मासु फेला परेको थियो ।


टोलीले बाख्राको मासु, गन्हाएको मासु र माछालाई फिनेल लगाएर तत्कालै नष्ट गरेको थियो । टोल फ्रि (हट लाइन)मा आएका गुनासो सम्बोधन गर्ने क्रममा महानगरले माछा–मासुको पसल अनुगमन गरेको महानगरका प्रमुख कोइरालाले बताए । उनले धेरै पसलले उपभोक्तालाई ठगिरहेको भेटिएको जानकारी दिए ।

 “हट लाइनमा धेरै नै गुनासो आएपछि म आफैँ अनुगमन निस्किएको हुँ, उपभोक्तााले गुनासो गरेजस्तै नै रहेछ अवस्था”, उनले भने, “एकपटकलाई हामीले सचेत गराएर छाडेका छौँ, केहीलाई कारबाही प्रक्रिया अगाडि बढाएका छौँ । फेरि पनि त्यस्तै भेटिए पसल नै शिल गर्छौं ।” 

केही पसलले मासुमा स्वास्थ्यका लागि हानिकारक रङसमेत प्रयोग गर्ने गरेको भेटिएको थियो । त्यस्ता मासुको अनुगमन टोलीले तत्कालै छाला निकाल्न निर्देशन दिएको थियो । प्रमुख कोइरालाले अब फेरि रङ दलेको भेटिए पसल नै शिल गर्ने चेतावनी दिए । 

व्यापारी एकपटकलाई माफी दिन आग्रह गर्दै आगामी दिनमा गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएका थिए । टोलीले दर्ता, नवीकरणलगायत कागजपत्रसमेत जाँच गरेको थियो । अनुगमन टोलीमा आर्थिक प्रशासन महाशाखा प्रमुख दीपक पौडेल, महानगरका निरीक्षक अधिकृत हरिप्रसाद गुरागाईं, नगर प्रहरीका प्रमुख राजन पौडेल, खाद्य प्राविधिक धीरज राईलगायत सहभागी भएका थिए । स्थानीय उपभोक्ताा राजेश सिंह डङ्गोलले भनिन्, “यो कस्तो परम्परा हो पैसा तिरे पनि शुद्ध खान नपाउने, व्यापारीले पैसा कमाउने लोभमा उपभोक्तालाई ठग्नु भएन ।”


Author

थप समाचार
x