समाज

छिनछिनमा पहिरो खस्ने समस्याले प्रहरीलाई सास्ती

इकागज |
असोज २१, २०७९ शुक्रबार २०:४९ बजे

फाइल फोटो

तनहुँ - गत बुधबार साँझदेखि अविरल वर्षा भइरहेको छ । वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डमा पटकपटक पहिरो झरिरहँदा तनहुँ प्रहरीले सास्ती खेप्नुपरेको छ । पूर्वमा आँबुखैरेनीदेखि पश्चिममा कोत्रेसम्मको करिब ७५ किलोमिटरभित्र पृथ्वीराजमार्ग क्षेत्रमा पर्दछ । अविरल वर्षाका कारण छिनछिनमा पहिरो खस्ने क्रम नरोकिएपछि कठिनाइ भोग्नुपरेको तनहुँका प्रहरी निरीक्षक राजकुमार विक बताउँछन् । पहिरो पन्छाएर गाडी सञ्चालन गरेर कार्यालय आइ नपुग्दै पुनः पहिरो खसेको जानकारी आएपछि दर्गुनुपर्ने बाध्यता रहेको उनले बताए ।

आज बिहान जिल्लाको म्याग्दे–१ गुणादी र व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएपछि पहिरो पन्छाएर सवारी साधान सञ्चालन गरे लगत्तै पुनः राजमार्ग रोकिएको उनले जानकारी दिए । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ स्थित मादीनदी पुल नजिक पहिरो खस्दा अवरोध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।


पानी नरोकिएका कारण पहिरो पन्छाउन पनि सास्ती हुने गरेको छ । उनले भने, ‘कतिखेर कहाँ पहिरो खस्छ थाहै हुँदैन ।’ पहिरोका कारण सदरमुकाम दमौली–केशवटार जाने मार्ग अवरुद्ध भएपछि पहिरो पन्छाउन थालिएको छ ।

छ घर जोखिममा

अविरल वर्षाका कारण विभिन्न स्थानका छवटा घर जोखिममा परेका छन् । व्यास नगरपालिका–१ निर्मलबस्ती नजिक छाब्दीखोला नजिक पहिरा जाँदा तीन घर जोखिममा परेका छन् ।

पहिरोका कारण छाब्दी लिफ्ट खानेपानी र निर्मल टोल विकास संस्थाको भवनसमेत उच्च जोखिममा रहेको स्थानीय अम्मर भण्डारीले जानकारी दिए । पहिरोको कारण उक्त घरका मानिस सुरक्षाका लागि छिमेकीकोमा शरण लिनुपर्ने अवस्था छ ।

त्यसैगरी व्यास नगरपालिका–३ देउराली नगरमा एक घरमा पहिरोले क्षति बनाउनुका साथै व्यास–५ मानुङ्गमा दुई घरमा क्षति पुर्याएको छ । जिल्लाको भीमाद हुँदै ऋषिङ्ग, नवलपुर, पाल्पा जोड्ने श्रृङ्ग सडक मार्गमा पहिरो जाँदा पूर्णरुपमा अवरुद्ध भएको छ ।

जिल्लाको घिरिङ गाउँपालिका–५ देउरालीमा पहिरो गएका कारण सवारी आवागमन रोकिएको घिरिङ गाउँपालिका प्रेस सल्लाहकार अञ्जान परियारले जानकारी दिए । सडक विस्तार नगरेसम्म ठूला कुनै पनि सवारी साधन चल्न नसक्ने अवस्था देखिएको उनले बताए ।

खानेपानीको समस्या

तीन दिनदेखि अविरलरुपमा परेको वर्षाका कारण खानेपानीको समस्या पनि सर्वसाधारणले उत्तिकै भोग्नुपरेको छ । व्यास नगरपालिका–१ स्थित भादगाउँ करादी खिरखादी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वितरण गर्दै आएको खानेपानीको पाइप पहिराले बगाएपछि खानेपानीको समस्या भएको हो ।

खानेपानीको पाइप पहिराले बगाएपछि धारामा पानी नआउँदा कहाँको पानी खाने भन्ने चिन्ता वडाबासीलाई रहेको छ । तीन दिनदेखि धारमा पानी नआएको स्थानीय कबिता कोइरालाले जानकारी दिए । वडामा रहेका करिब तीन हजार उपभोक्ताले उक्त खानेपानी समितिले वितरण गर्दै आएको पानी उपभोग गर्दै आएका थिए ।


Author

थप समाचार
x