समाज

काठमाडौँ महानगर : नक्सा पासबाटै उठाउँछ करोडौँ राजश्व, तर छैन यकिन विवरण

अतिन आचार्य |
कात्तिक १, २०७९ मंगलबार १४:३५ बजे

काठमाडौँ- एक महिनाअघि नयाँ बानेश्वरस्थित बुद्धनगरको अल्फाबिटा कम्प्लेक्समा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह नक्सा लिएर पुगे । अल्फाबिटाले नक्सा बमोजिम संरचना तयार नगरेको भन्दै उनी बेसमेन्ट भत्काउन नक्सासहित त्यहाँ पुगेका थिए ।

अल्फाबिटाले पार्किङका लागि प्रयोग गर्नुपर्ने बेसमेन्ट अवैध तरिकाले व्यवसायिक प्रयोजनमा भाडामा लगाएको थियो । मेयर शाह अल्फाबिटा कम्प्लेक्समा पुग्दा  मालिकसँग विवादसमेत भएको थियो ।


‘तपाईंको घरको नक्सा मसँग हुनुपर्ने कि तपाईंसँग?’ बालेनले अवैध संरचना हटाउनू भनेर ३५ दिनअघि नै गोरखापत्रमा सूचना प्रकाशित भइसकेको भन्दै कम्प्लेक्सका मालिकलाई थर्काएका थिए ।

मेयर शाहले तपाईँको घरको नक्सा मसँग हुनुपर्ने कि तपाईँसँग हुनुपर्ने भनेको केही समयपश्चात उनी नक्सासहित अल्फाबिटा पुगेका थिए । नक्साको विवरण सेवाग्राही र अर्को रेकर्ड कपी महानगरसँग पनि हुनुपर्छ ।

पछिल्लो समय महानगरले नक्सा पास नगरेका संरचनालाई भत्काउने कार्यलाई निरन्तरता दिँदै आइरहेको छ । सुरुमा नक्सा पास नगरेका संरचना हटाउने र अटेर गरेमा महानगरपालिकाले आफैँ भत्काउन गरेको छ ।

काठमाडौँ महानगरपालिकाले नक्सालाई आधार बनाएर संरचना भत्काउने गरे पनि ३२ वडामा बनेका संरचनाको तथ्यांक राख्‍न सकेको छैन । महानगरले नक्सा अनुसार भवन बने/नबनेको खोजी-खोजी अनुगमन गरिरहेको छ । महानगरका मेयरले भने जस्तै नक्सा पास भएका सबै भवनको तथ्यांक हुनुपर्ने हो तर, यकिन तथ्यांक महानगरसँग छैन ।

भवन निर्माण मापदण्डविपरीत भएका भवन भत्काउने महानगरसँग कति संख्यामा संरचना बने त्यसको विवरण छैन । नियम सिकाउने महानगरले नक्सा पास भएको तथ्यांक राख्‍न नसक्दा महानगरभित्र नक्सा पास भएका कति भवन र संरचना छन् भन्ने छुट्याउन सकस परेको छ ।

संघीय राजधानीमा अवस्थित महानगरभित्र नक्सा पास नै गरेर बनाइएका भवनको यकिन विवरण महानगरले नराख्दा यकिन विवरण पाउन सकिएको छैन । दशकौँ अघि बनाइएका कतिपय भवनका नक्साहरू महानगरमा छैनन् ।

वर्षेनि महानगरले नक्सा पासगरी करोडौं रुपैयाँ आम्दानी गर्छ । तर कति संख्यामा घर तथा भवन निर्माण भएको छ भनेर भन्न नसक्ने अवस्थामा महानगरसँग छैन ।

दुई दशक अघिको नक्साको विवरण छैन

२०५४ साल पछाडिको मात्र महानगरले नक्सा पासको विवरण राख्‍न थालेको महानगरका शहरी व्यवस्थापन विभाग प्रमुख इन्जिनियर घनश्याम पौडेल बताउँछन् ।उनका अनुसार आर्थिक वर्ष २०५४/ ०५५ देखि ०७८/०७९ सम्म तथ्यांकमा ७४ हजार ६ सय ६७ नक्सा पास भएका छन् । यसअघि नक्सा पास गरेर बनाइएका संरचनाको यकिन विवरण राख्‍न नसकिएको उनको भनाइ छ ।

‘महानगरभित्र बनेका नयाँ तथा पुराना भवनको गणना गर्ने योजना बनाएको छ । यसको लागि गृहकार्य गरिरहेका छौँ,’ उनले भने,’ गुगल म्याप र ड्रोनबाट गणना गर्ने तयारी गरेका छौ । विशेषगरी वडा कार्यालयबाट विशेष कर्मचारी खटाएर पनि गणना गर्न सकिन्छ ।‘

आर्थिक वर्ष २०७८/०७९ मा २ हजार ४८६ नक्सा पाएका थिए । सोही वर्ष ३ हजार ३९५ भवन तथा अन्य संरचना निर्माण सम्पन्न भएको थियो ।

अनलाइन झन्झटिलो

महानगरले अनलाइनबाट नक्सा पास गर्ने सुविधा लागू गरे पनि पर्याप्त मात्रा प्रयोग गर्न सकेका छैनन् । ७० सालदेखि अनलाइनबाट नक्सा पास लागू गर्ने व्यवस्था जारी गरेको हो । हालसम्म १६ हजार ५६० सेवाग्राहीले मात्र सेवा लिएका छन् ।

कार्यालयमै धाएर र अनलाइनबाट नक्सा पास गर्नेको संख्या बराबरी रहेको पौडेलले जानकारी दिए । उनी थप्छन्,’ सेवाग्राहीलाई अनलाइनबाट सेवा लिन झन्झटिलो भएकाले पनि अनलाइनलाई प्रयोग नगरेको हुन सक्छ । सबै सेवाग्राही प्रविधिमैत्री नभएकाले कार्यालयमा आएर नक्सा पास गर्छन् ।‘

उनका अनुसार सबैभन्दा बढी नक्सा पास १६, ३२, ६ र १४ बाट भएका छन् । कोहीबेला दिनको ४ देखि ५ वटा नक्सा पनि पास हुन्छन् । कुनै दिन नक्सा पास गर्ने कोही पनि सेवाग्राही आउँदैनन् ।

सेवाग्राहीहरू बढीजसो अढाइ तलाका घरको नक्सा लिएर आउने गरेको पौडेलले बताए । बस्‍नका लागि मात्र घर बनाएमा प्रति स्क्वायर फिट २५ रुपैयाँ लिने गरेको उनले जानकारी दिए ।

व्यवसायिक प्रयोजननका लागि तथा सटर भएका घर निर्माण गर्नुपरेमा प्रति स्क्वायर ३५ रुपैयाँ र १० हजार वर्गमिटर भन्दा ठूलो आवासीय भवन निर्माण गर्नुपरेमा प्रति स्क्वायर ३५ रुपैयाँ शूल्क लाग्‍ने गरेको छ । भवन निर्माण सम्बन्धी मापदण्ड र भवन संहिता अनुकुल भएको नक्सा मात्र पास गरिने उनले प्रस्ट पारे ।

तीन महिनामा नक्सा पासबाटै १२ करोड बढी राजश्व संकलन

गत दुई आर्थिक वर्षमा मात्र नक्सा पास गरेर महानगरले १ अर्ब २२ करोड २० लाख ९४ हजार ९ सय ९२ रुपैयाँ ५ पैसा राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा ५४ करोड ६६ लाख ५२ हजार ७६५.६१ रुपैया आम्दानी गरेको थियो ।

आव २०७८/०७९ मा ६७ करोड ५४ लाख ४२ हजार २२६ रुपैया ४४ पैसा आम्दानी गरेको महानगरको राजश्व विभागले जनाएको छ । विभागका अनुसार २०७९ साउनदेखि यता हालसम्म १२ करोड ६८ लाख ७२ हजार ४२९ रुपैयाँ ४८ पैसा आम्दानी गरेको छ ।

महानगरको राजश्व विभागका प्रमुख शिवराज अधिकारीले कोभिडका कारण भवन तथा घर निर्माण हुन राजश्व संकलनमा कमी आएको उनले बताए । यस आर्थिक वर्षदेखि नक्सा पास गराउनेको संख्या बढ्न सक्ने उनको भनाइ छ ।

‘कोभिडका कारणले नगरबासीले घर बनाउन सकेका थिएनन् । सबैथोकको अवस्था नर्मल भएकाले घर बनाउनेहरूको संख्या बढ्न सक्ने भएकाले नक्सा पास गराउनेहरू बढ्न सक्छन्,’ उनले भने ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x