समाज

लठ्ठी बुझाए, प्रमाण–पत्र बुझे अनि बिदा भए म्यादी प्रहरी

इकागज |
मंसिर ८, २०७९ बिहिवार २२:५४ बजे

खोटाङ- निर्वाचनका लागि नियुक्ति भएका म्यादी प्रहरी बिदा भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गत ३० असोजमा नियुक्ति भएका म्यादी प्रहरीलाई बिहिबार एकैसाथ बिदा गरिएको हो ।

निर्वाचनको सुरक्षार्थ खटाउनका लागि खोटाङमा भर्ना गरिएका एक हजार १७६ जना म्यादी प्रहरीलाई विदा गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले बताए । 


४० दिनका लागि भर्ना गरिएका म्यादी प्रहरीले ड्युटीका क्रममा बोकेका लठ्ठी बुझाएर प्रमाण–पत्र बुझेर घर फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय हलेसी, इलाका प्रहरी कार्यालय ऐसेलुखर्क, इलाका प्रहरी कार्यालय बाक्सिला, इलाका प्रहरी कार्यालय खोटाङबजार, इलाका प्रहरी कार्यालय चिसापानीलगायतका यूनिटबाट म्यादी प्रहरीको बिदाई गरिएको छ । दिक्तेलबजारमा विजय जुलुस निकालिइरहँदा जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीको भव्य बिदाई भइरहेको थियो ।

घर फर्कंन लागेका म्यादी प्रहरीले जिल्ला प्रहरी कार्यालयको प्रांगणमा सामूहिक तस्बिर कैंद गरिरहेको दृश्य देखिएको थियो । कतिपयले सेल्फी खिचिरहेका थिए । कतिपयले म्यादी प्रहरीको रुपमा काम गर्न ‘मज्जा भएको’ प्रतिक्रिया दिएका छन् ।


Author

थप समाचार
x