समाज

धरानका मेयर हर्कले निर्णय गरेको चार महिनामै भित्र्याए डोजर र रोलर

इकागज |
मंसिर ११, २०७९ आइतबार १९:४४ बजे

काठमाडौँ-  धरान उपमहानगरपालिकाले रोलर र डोजर खरिद गरेको छ । चार महिनाअघिको कार्यपालिकाको बैठकले मेयर चढ्ने गाडी बिक्री गरेर रोलर र डोजर किन्ने निर्णय पारित भएको थियो ।

मेयर हर्क साम्पाङले केही समय मेयरले प्रयोग गर्ने सवारीसाधन बिक्री गरेर डोजर र रोलर खरिद गर्ने उद्घोष गरेका थिए । जसले उपमहानगरपालिकामा बिग्रेको बाटोलाई मर्मत गर्न सहयोग पुग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


मेयर साम्पाङले फेसबुकमा स्टाटस लेख्दै आइपुग्यो अर्को नयाँ कार भन्दै जानकारी दिएका छन् । उनले भनेका छन्, 'चढेर गइन्छ पाखा भित्ताको यात्रा गर्न । हामी धरानलाई सुविधा सम्पन्न बनाउँनेछौँ ! पहिले जस्तो बन्दैन अब ।'

केही दिनअघि मात्र उनले 'हाम्रो डोजर आइपुग्यो अब रोलर आउन बाँकी' रहेको बताएका थिए । 'बाटो नाथे कति बनाइन्छ कति! जय नेपाल ,’ उनले लेखेका थिए ।

मेयरका लागि किनेको सरकारी गाडी बेचेर असार २३ गतेको कार्यपालिका बैठकले रोलर किन्ने निर्णय पारित गरेको थियो । उनले बैठकमा मेयर चढ्न प्रयोग हुने गाडी बिक्री गर्ने प्रस्ताव गरेका थिए ।

'धरानका धेरै बाटो खाल्डाखुल्डीले बिग्रेको छ । नगरको आफ्नै रोलर भयो भने खाल्डाखुल्डी पुर्न, तत्काल बनाउन काम लाग्छ भनेर यस्तो निर्णय भएको हो,' मेयर साम्पाङले भनेका थिए ।

साम्पाङ मेयरमा निर्वाचित भएपछि मोटरसाइकल प्रयोग गर्छन् । धरान बाहिर जानुपरे मात्रै सरकारी गाडी चढ्ने गरेका छन् ।


Author

थप समाचार
x